किन यति धेरै टाढा छ्यौ
मेरो नजीकै भएर पनि
किन यति अप्राप्य तिमी
मेरो उपलब्धिको घेरा बाहिर
किन उठ्छन् भर्भराएर
तातो पोल्ने आगोका लप्काहरू
मलाई डढाउन खित्का छोडेर
कतै कुनै गलतीले
कोरिदिएको लक्ष्मणरेखाबाट
जब म हतास, निराश
घाइते, दुख्दै, चहर्याउँदै
चर्केर असंख्य प्रहारहरूबाट
तिमीलाई अंगाल्न खोज्छु
किन ईन्द्रेणी जस्तै तिमी
मेरो आकाशभरी तन्केर पनि
रङ्गहीन छ धर्ती मेरो
किन मेरा मनभरिका
कक्रक्किएका डाँठहरूमा
सकीनसकी झुण्डेर बसेका
सुकेका पातहरूमा
एक धर्का हरियाली पनि
सपना बनेका हुन् मेरा लागि
किन झनै परपर सर्छयौ
क्षितिज जस्तो तिमी
म जति नै बढे पनि
किन पर पुग्छ्यौ तिमी
मेरो आँखै अघि रहेर पनि
कतै कुनै बतासले
जोडसंग हुत्याइदिएको बादल जस्तो
मैले भेट्टाउनै नसक्ने गरी
जतिबेला म रापले जलेर
सियांलको तृष्णामा
तिमीलाई खोजिरहेको हुन्छु