कुपन नम्बर ४००

केही दिन अघिको कुरो हो, भाइवरमा प्रतिष्ठाले ग्रम्पी बनाएर सन्देश पठाएकी थिई,
“ड्याडको बाइकबाट लिएको २ लिटर पनि सकिइसक्यो । अफीस जान पनि नसक्ने भएँ । लौ न, केही गर्न सकिन्न ?”

प्रतिष्ठाले मिर्गौला मागेकी भए पनि एउटा त झिकेर उसको पाउमा राख्नु अघि सन्देशले दुइपटक पनि सोच्दैनथ्यो होला । तर पेट्रोल कहाँबाट ल्याउनु उसले ? होइनहोइन भन्दै मित्रराष्ट्रले लगाइदिएको नाकाबन्दीका कारण कहिले नभोगेको इन्धनको संकट भोगिरहेको पुस्ताको एउटा प्रतिनिधि पात्र हो सन्देश ।

“हिजोदेखि त हेर न, हिंडेर आउजाउ गर्नु परिसक्यो । घर पुग्दा त थाकेर मरेजस्तै हुन्छ ।”
भाइवरमा थप मायालाग्दो इमोजीहरुका साथ उसले भनेकी थिई । ऊ एउटा ट्राभल एजेन्सीमा काम गर्छे । उसको मण्डिखाटारमा भएको घरबाट पुल्चोकमा भएको अफीस भनेको अहिलेको अवस्थामा चाइना बोर्डर र इण्डिया बोर्डर जस्तो भएको छ । कसरी हिंड्छे होला त्यस्ता कलिला पाउहरुले ऊ त्यति लामो दूरी । प्रतिष्ठाले पाएकी दुखका लागि उसले मनमनै नरेन्द्र मोदीलाई जाने जति गाली ग¥यो ।

उसलाई थाहा थियो, यो मौकामा प्रतिष्ठालाई सहयोग गर्न पाए त्यसको ठूलो महत्व हुन्थ्यो । हिजो बाटोमा पार्क गरेको एउटा भटभटेको पेट्रोलको स्वीच “अन” मै रहेको देख्दा उसको मनमा त्यसबाट अलिअलि झिक्न पाए कस्तो होला भन्ने सोच पनि आएको थियो । त्यो सम्भव हैन भन्ने जान्दाजान्दै पनि उसले पल्याकपुलुक चारैतिर हेरेको थियो । अभाव र आवश्यकताले मानिसलाई जे पनि बनाउन सक्छ ।

प्रतिष्ठालाई उसले चिनेका एक वर्ष हुन लाग्यो । सन्देश साथीहरुसंग प्याकेज टूरमा बैंकक घुम्न जाने सन्दर्भमा उसको र प्रतिष्ठाको भेट भएको थियो । उसलाई प्रतिष्ठा पहिलो आँखामै मन परेकी थिई । पाँच दिन बैंकक घुमेर आएपछि पनि बेलाबेला उनीहरुको फोनमा गफ भैरहन्थ्यो । पछि फेसबुक र भाइवरमा पनि उनीहरु आवद्ध भएका थिए । यो मित्रता बिस्तारैबिस्तारै चिया कफी र लन्चसम्म पनि पुगिसकेको छ । उसलाई प्रतिष्ठा झन्झन् मन पर्न थालेकी छ । तर उसको मनमा आफूप्रति के छ भन्ने भेउ चाहिँ सन्देशले अझै पाउन सकेको छैन ।

बेलाबेला उसको फेसबुकमा जासूसी गर्ने क्रममा केही दिन अघि उसले एउटा शंकास्पद मान्छेको फोटो देखेको थियो । अप्रत्यक्ष रुपमा उसले त्यसको बारे सोध्दा प्रतिष्ठाले साथी हो भनेर मात्र टारेकी थिई । हुन त उनीहरु दुइ जनाको मात्र त फोटो थिएन । समूहमा अरु धेरैजनासंग उनीहरु बल्थली रिसोर्ट पुगेका रहेछन् । तर फोटोमा त्यो शंकास्पद मानिस प्रतिष्ठाको निकै नजीक बसेको थियो । उनीहरुको कुम लपक्कै जोडिएको त्यो फोटो हेर्दा सन्देशको मुटुमा ह्वारह्वार आगो बलेको थियो । बाउ आमाले राखिदिएको नाम पक्कै बिजोगको हुनुपर्छ त्यसको, त्यसैले फेसबुकमा ऊ आफूलाई मोण्टी भन्दोरहेछ । मोण्टीको टाइमलाइनमा गएर थप अनुसन्धान गर्न खोज्दा मोराले सबैथोक गोप्य राखेको रहेछ, केही हेर्ने मिलेन ।

त्यही बेला सरकारले उसलाई मोण्टीको ढाड सेक्ने स्वर्णिम अवसर उपलव्ध गराइदियो जसलाई कुनै हालतमा पनि खेर जान नदिने सन्देशले दृढ निश्चय गरिसकेको थियो । यो अवसर थियो, मंगलवारको दिन सबै सार्वजनिक सवारी साधनलाई इन्धन वितरण गर्ने । उसलाई हाँसो लाग्छ पत्रपत्रिका तथा आयल निगमको भाषा सुन्दा । पैसा लिएर बेच्ने कुरालाई उनीहरु वितरण गर्ने भन्ने गर्छन् । अहिले त झन पैसा भएर पनि कहाँ किन्न पाइएको थियो र इन्धन । तर जुन दिन देखि मंगलबार पेट्रोल बाँडिने भन्ने घोषणा भयो, सन्देशको मनमा रंगीविरंगी सपनाहरु बुनिन थालेका थिए । यो स्वर्णिम मौकाको उपयोग गर्न सकियो भने उसको गन्तव्य धेरै टाढा छैन ।

हुन त सन्देशलाई थाहा थियो, निकै दिनदेखि इन्धनको अभावले हाँहाँ भइरहेको शहरका हरेक पम्पहरुमा मंगलबार निकै लामो लाइन हुनेछ । तर जति बेर कुरेर भए पनि ऊ पाँच लिटर पेट्रोल भरेरै छाड्नेछ अनि त्यो पाँचै लिटर लगेर प्रतीक्षाको स्कूटीमा खन्याइदिनेछ, मुटुभरिको माया खन्याए जसरी । यो जोशमा उसले साधारण हिसाब पनि भुलेको थियो । सात लाख मोटरसाइकल र एक लाख बीस हजार प्राइभेट गाडीहरुमध्ये आधा मात्र लाइनमा लागे पनि कसरी सबैले पेट्रोल पाउलान् भन्ने कुरा उसको मथिंगलमा आएको थिएन । त्यसैले उसले सोमबार बिहानै लगेर आफ्नो भटभटे पेट्रोलको आँखाले भ्याइनसक्नु लाइनमा हालिदिएको थियो । सातदोबाटो रिंगरोडको पम्पको त्यो लाइन तन्किदैं र नखिपोटका गल्लीहरुमा घुम्दैघुम्दै धराने कालो बंगूरको सेकुवा खाने जंक्सनहरु निर पुगिसकेको थियो । त्यहीं चिनजान भएका अरु भटभटेवलाहरुसंग गफ चुटेर सन्देश राती आठबजे लखरलखर हिंडेर ढोलाहिटीमाथिको आफ्नो डेरातिर लागेको थियो । उत्साहले ओतप्रोत भएर उसले बाटोबाटै प्रतिष्ठालाई मेसेज पठायो,
“आइ विल गिभ यू फाइभ लिटर पेट्रोल टूमरो ।”

त्यसको एकैछिनपछि प्रतिष्ठाले पठाएको जवाफ देखेर सन्देश बाटैमा खुसीले बुर्लुक्क उफ्रेको थियो । उसले लेखेकी थिई,
XOXO:)

कोठामा पनि पकाएर खाने ग्यास नभएकोले दश रुपैंया मोल बढेको मम खाएर ऊ मंगलबारको सुखद कल्पना गर्दै सुतेको थियो । सुतेको पनि के भन्नु र, रातभरी बीचबीचमा ऊ पेट्रोलको सपना देख्दै ब्यूझिँदै गरेको थियो । एउटा सपनामा पाँच मात्रै हैन फुल ट्याङ्क पेट्रोल पाइएको थियो भने अर्कोमा चाहिँ उसको पालै आएको थिएन ।

एक युगमा एकपटक हाउने भोलिपल्टको त्यस ऐतिहासिक दिन, झिसमिसे उज्यालोमै उठेर ऊ टोलको चियापसल पुग्यो । सँधैजस्तै त्यहाँ भेला भएकाहरु देश विदेश र राजनीतिको थरिथरि विश्लेषण गरिरहेका थिए । चिया बनाउने बूढा भन्दै थिए,
“आज लाष्ट हो । भोलिदेखि त चिया पनि बनाउन नसकिने भयो है । ग्यास छैन, के गर्नू ।”

त्यो अन्तिम दिनको गौरवशाली चिया खाएर ऊ सीधै आफ्नो भटभटे लाइनमा हालेको ठाउँमा पुग्यो । त्यहाँ केही मान्छेहरु कसैलाई जानेजतिको गाली गर्दै रहेछन् । राती केही भटभटेका ब्याट्रीहरु चोरी भएछन् । सन्देशको भटभटे पनि त्यसै भित्र परेको रहेछ । उसले पनि रिसको झोकमा कोरसमा व्याट्री चोरहरुलाई आमाचकारी गाली ग¥यो र आफ्नो भडास अलिकति भए पनि कम ग¥यो । उसको मन बुझाउने एउटै कुरा के थियो भने, उसको भटभटेभन्दा पछाडि पनि गनेरै नसकिने लाइन भैसकेको रहेछ । कोही बाह्र बजेबाट बाँड्छ भन्दैथिए, कोही तीन । पारी फुटपाथको पसलबाट एउटा सानो बट्टा जूस, एउटा फुको चाउचाउ र दश खिल्ली जति चुरोट खाएर सन्देश दिनभर झर्ला र खाउँला भन्ने लाइनमा बस्यो ।

तीन बज्नेबेला तिर एउटा अर्को हल्ला सुनियो जसले उसको आङ्ग नै ढक्क फुल्यो । थोरैथोरै मात्रामा मात्र इन्धन आएको हुनाले लाइलमा लागेका सबैलाई पु¥याउन त कानको औषधि हाल्ने ड्रपरले पाँँचदश थोपाका दरले बाँडे मात्र सम्भव हुने भएछ । त्यसैले चारसय वटा भटभटे र एक सय चारपाङ्ग्रेलाई मात्र कुपन बाँडेर तेल दिने भन्ने बन्दोवस्त भएछ । आफ्नो भटभटे कति नम्बरमा छ भनेर उसले कल्पना गर्न सकिरहेको थिएन । कुपन बाँड्न शुरु भएपछि अलि पछाडि हुनेहरु इष्टदेउताको नाम पुकारिरहेका थिए । सन्देश पनि ब्रतवन्ध गरेको केही महीनापछि जाप्न छोडेको गायत्री मन्त्र कनीकुथी सम्झेर पढ्न थाल्यो ।

गायत्री मन्त्रले काम गरेर हो वा उसको पुर्पुरो बलियो भएर हो, ठ्याक्कै चारसयौं कुपन उसले पायो । उसलाई कुवेरको खजाना नै पाए सरह लाग्यो । चौंतीस ईन्चीको छातीलाई फुलाएर छत्तीस ईन्चको बनाएर उसले विजयी भावमा आफूभन्दा पछाडिका अभागीहरुलाई हे¥यो । सबका अनुहार ओइलाएका फूल जस्तो भएका थिए । उसको पाँचसातवटा पछाडि बसेको भटभटेवाला आक्रोशित भएर कराउन थाल्यो,
“यस्तो पनि देश ? दिन नसक्ने भए घण्टा खान सबलाई दिने भनेर लाइनमा राख्या ? साला, सित्तैंमा लिन बस्या जस्तो ।”

४०० भन्दा पछाडिकाहरु उसको होमा हो मिलाउन थाले । केपी ओली, सुशील कोईराला, नरेन्द्र मोदी, रामशरण महत लगायतका थुप्रैले सराप खाए ।

अनि त्यो मानिस तुरुक्कै आँशु झारुँला जसरी आफ्नै भटभटेको ट्याङ्कीमा मुड्की हान्दै बोल्न थाल्यो,
“मेरो बुबा क्यान्सरको विरामी हुनुहुन्छ । उहाँलाई किमोथेरापी गराउन लानुपर्ने छ । अब म के गरुँ लौ ।”

सन्देशको मन कुटुक्क काटियो । ऊ भित्रको मानवताको सागरमा अचानक ठूलो सुनामी सिर्जना भयो । त्यो मान्छेको आवश्यकता उसको भन्दा कताकता बढी महत्वपूर्ण थियो । त्यो मान्छेलाई सहयोग गर्नेले ठूलो पुण्य कमाउँथ्यो । त्यो मौका अरुलाई दिन एक छिन कसैको मन पग्लिएला कि भनेर उसले कु¥यो । तर मानौं त्यो मानिसको रोदन कसैको कानबाट भित्र छिरेको थिएन । कोही चुइँक्क नबोली बसिरहेका थिए । सन्देशले लामो सास फे¥यो र त्याग गर्ने निर्णय ग¥यो । मैले यो मानिसको लागि आफ्नो कुपन बलिदान गरें भने भगवानले कसो नदेख्ला । प्रतिष्ठाको मन जित्न अवश्य पनि उसैले मलाई सघाउँछ होला । उसले भावुक भएर थर्थर काँपेको स्वरमा त्यो मान्छेलाई भन्यो,
“यो कुपन तपाईँ राख्नुस् । पेट्रोल भर्नुस् । बुबालाई किमो दिन लैजानुस् ।”

कुपन थमाएर व्याट्री नभएको आफ्नो भटभटे लाइनबाट निकालेर घिच्याउँदै जाँदा निकै परसम्म त्यो मान्छेले उसलाई दिएका आसिकहरु उसको कानमा ठोक्किइरहेका थिए ।
राती नौ बजे प्रतिष्ठाले भाइवरमा अनलाइन हुनासाथ उसलाई लेखी,
“पेट्रोल ?”
एक छिन घोरिएर उसले रुन्चे अनुहारको इमोजीका साथ एकै मात्र शव्द लेख्यो,
“सरी ।”
अनि ऊ प्रतिष्ठाको उत्तर कुरेर बस्यो । केही बेरमा उसको मोबाइलले सुसेली बजायो,
“नो वरिज । मोण्टी गट मी फाइव लिटर्स ।”
सन्देशलाई माइक टाइसनले पानीपेटमा मुक्का हानेजस्तो भयो । उसले केही लेख्नै सकेन ।

एकैछिनमा फेरि आठ दश थरि इमोजीहरुका बीचमा प्रतिष्ठाकै मेसेज आयो,
“पूअर लिटल स्वीट मोण्टी……यू नो मेरो लागि ट्वेण्टी सेभेन आवर्स क्यूमा बसेछ । तै पनि उसको टर्न झण्डै नआएको रे…..बट उसले आफ्नो ड्याडलाई किमो दिन लैजान पर्ने भनेर ब्लफ दिएपछि एउटा इडियटले आफ्नो कुपन उसलाई दियो रे ।”
यस पटक माइक टाइसनको मुक्का उसको च्यापूमै बजारियो । चारैतिर तोरीका फूल र रंगीविरंगी ताराहरु देख्दा सन्देश आफैलाई धिक्कार्दैथियो । हुन त प्रतिष्ठाको बल्थलीको ग्रुप फोटोमा त्यो कुटिल मोण्टीलाई उसले देखेको त हो नि । तर धेरै मान्छेहरु भएकाले अलि टाढाबाट साँझपख खिचिएको त्यसमा उसको अनुहार स्पष्ट थिएन । त्यसमाथि उसको ध्यान त मोण्टी र प्रतिष्ठाको चपक्क टाँसिएको कुममा बढी थियो ।

दिउँसो त्यो भीडमा, अप्रत्याशित र नसोचेको ठाउँमा हेल्मेट र मास्क लगाएर रुने भातमारा त्यही मोण्टी हो भनेर उसले कसरी चिताउन सक्नु र ? फेरि एकपटक प्रतिष्ठाको मेसेजले सुसेली बजायो,
“मोण्टी इज सो स्मार्ट ना ?”

आयो शार्क

नेपाल साप्ताहिकको स्तम्भ बायाँ फन्कोमा प्रकाशित तर स्थानाभावका कारण सम्पादित लेखको पूर्ण रुप ।

तपाईँहरुलाई लागिरहेको होला, म मान्छे खाने शार्कको कुरा गर्न लागेको छु । तर हैन, आज म मान्छेले खाने शार्कको कुरा गर्दैछु । यसमा भिन्नता के छ भने यसलाई शार्क हैन सार्क भनिन्छ ।

यो सार्कले आजकल हाम्रो ध्यान तानेको छ । हरेक जमघटमा छलफल, टीकाटिप्पणी र बहस हुने विषय हो यो सार्क । सार्क जतिजति नजीक आउँदैछ, राजधानीका ती प्रमुख बाटाघाटाहरुको दुलहीसिंगार द्रूत गतिमा हुन थालेको छ, जहाँजहाँ सार्कीहरुको आवागमन र चहलपहल हुन्छ । (सार्क राष्ट्रका हामी सबै सार्की हौं भन्ने स्व. जीवन अधिकारीको अभिव्यक्ति साभार)

सार्क अवसरहरुको अवसर हो । यो सरकारी निकाय, हाकिम कर्मचारी, ठेकेदार आदिका लागि कमाइ खाने मौका हो । यस्तो चर्को महँगीमा विचराहरुले यसो अलिअलि छ्याकनको छिटाले आफूलाई सित्तल बनाउने दाउ पाएका छन् । त्यसको हामी सबैले मानवताको आधारमा समर्थन गर्नुपर्छ । त्यसैले पुरानो उखान परिमार्जन भएर “सार्कको जात्रा वजेटको व्यापार” भन्ने नयाँ उखानको प्रादुर्भाव भैसकेको छ । यही महान उत्सवको बेलामा मौकामा चौका हान्नेहरुको पनि तँछाडमछाड भैरहेको छ । अवसरको लाभ लिन नसक्ने मानिस के मानिस ? त्यसैले “सार्कको नाम गरी टाउको मैले खायाँ” भन्ने समयसापेक्ष र परिमार्जित गीत पनि चर्का स्वरमा घन्किन थालेको छ काठमाण्डौमा । आउनुस् हामी सबै पनि यो महायज्ञमा होम्मिऔं । आफू यो मौकाबाट प्रत्यक्ष लाभान्वित हुन सकिन्छ भने नछोडौं, सकिन्न भने सक्नेहरुको डाढो पनि नगरौं । एउटा नेपाली दाजुभाइले खानु आफैले खानु हो भनेर महानता देखाएर उनीहरुको खुट्टा तान्ने काम नगरौं ।

अब हेर्नुस् त, गोरखापत्रले सार्क बिशेषाङ्क निकाल्नका लागि मात्रै एक करोड पच्चीस लाख माग गरेको रहेछ । सम्भवत उनीहरुको यो ऐतिहासिक महोत्सवलाई सुन पगालेको मसीले छाप्ने योजना होला । त्यति पनि नगरे के दस्तावेज भयो र यत्रो महत्वको सार्कको । अनि नगर विकास प्राधिकरणले रंग पोत्ने, रुख रोप्ने र पार्कहरु बनाउने भनेर ९ करोडको ठेक्का दिएर काम सुरु गरको दावी पनि गरेछ । कुरो अलि अप्ठेरो चाहिँ के भने यसका लागि उनसले त बजेट पास गर्ने वा स्वीकृत गर्ने सानो काम चाहिँ गर्न बिर्सेको रहेछ । ठूलाठूला काम गर्नेहरुले यस्ता झीनामसीना कुराहरुमा अल्झिरहनु सम्भव पनि त छैन नि । तर अर्थ मन्त्रालयलाई कसले बुझाउने यो कुरा ? सार्क जस्तो यत्रो महान उद्देश्यका लागि राजधानीको मुहार उज्यालो बनाउने पुनीत होममा होमिएका बिचरा नगर नियोजकलाई मन्त्रालयले मुसद्दीलाल बनाएर घुमाइरहेको रहेछ । यस्तो कुरा सुन्दा जोकसैको पनि घुँडाबाट तपतप आँशु चुहिनु स्वाभाविकै हो । काम गर्छु भन्नेहरुलाई त हरेश खुवाउने हाम्रो पुरानै चलन हो । नाथे ९ करोडको लागि किचकिच गरेर नि सार्क हुन्छ ?

यो लेखिउन्जेलमा अर्थ मन्त्रालयमा सार्कका नाममा बिभिन्न मन्त्रालय र निकायहरुबाट जाबो रु ७ अरब जतिको तुच्छ रकमको माग भएको छ रे । जीवनजल खान नपाएको दुर्गम जिल्लाको शिशुको पखाला जस्तो यो क्रम तारन्तार जारी नै छ रे । अब कति नै बाँकी छ र देशको मुहार फेर्न ? एक महीना पनि छैन । त्यतिबेलासम्म हदै पुगे यो रकम १४ अरब पुग्ला । सार्क गर्ने भनिसकेपछि त्यति जाबो रकम त जसरी भए पनि बिनियोजन गर्नु पर्‍यो नि ।

पाहुनाका आँखामा छारो हालेरै भए पनि देखाउन परेन त हाम्रो भानुभक्तको अलकापुरी कान्तिपुरी नगरी कस्तो छ भनेर ? आदिकविको बोलीको इज्जत राख्नका लागि पनि यो कार्य गर्नु आजको प्रमुख आवश्यकता हो । बाँकी कुरा भनेको हुँदै गर्छ । आइपरेको त टारौं पहिले । ती आउने पाहुनाहरुलाई हाम्रो राजधानीको खास अनुहार कस्तो छ, हाम्रो समस्या के हो भनेर के थाहा ? हामीले जे देखायो त्यही हेरेर रमाउने त हुन् नि उनीहरु । तिनले समाचार पढ्ने, गूगल चलाउने जस्ता कुराहरु कहाँ जानेका छन् र ? जानेका भए पनि फुर्सद छ र तिनलाई हाम्रै खोजीनीति गरेर हिंड्ने ?

सार्क अवधिभर मूलबाटाहरुमा अन्य सवारी आगमनमा रोक लगाइने कुराहरु पनि भैरहेका छन् । सार्कसंग चार दिन विदा हुने भन्ने पनि चर्चा व्याप्त छ । कर्मठ पौरखी कर्मचारीहरु ती दिनहरुमा कहाँ बसेर म्यारिज खेल्ने भन्ने योजना बनाउन पनि थालिसकेका छन् । स्कूलकलेज विदा हुने भो भनेर विद्यार्थीहरु दंग छन् । आन्तरिक पर्यटनलाई सघाउन उनीहरु कताकता घुम्न जाने भनेर योजना बनाउन थालिसकेका छन् र त्यसका लागि आफ्ना बाबुआमासंग बजेट निकास गराउन पनि लागिसकेका छन् ।

यत्रो ऐतिहासिक पर्वका लागि ४ दिन मात्र विदा ? यो त साह्रै ठूलो अन्याय हो । सार्कका हरेक राष्ट्रका नाममा एक दिन गरेर ८ दिन विदा दिनुपर्छ । कस्ताकस्ता पिलन्धरे राजनीतिक कारणहरुका लागि कतिकति दिन बन्द गर्दा त हाम्रो देशलाई क्यै फरक परेको छैन । हो, विरामीलाई गाह्रो होला, दैनिक मजदूरी गरेर खानेहरुलाई अलिअलि असर पर्ला । तर सार्कको महानताको अगाडि ती कुराहरु गौण हुन् । महीनामा दुइचार दिन भोकै बसे पाचन प्रणाली र पेटको लागि असल हुन्छ भन्ने सबैलाई थाहा छ । दुखजिलो होला अलिअलि । तर, देशले हामीलाई के दियो भनेर सोच्ने हैन, देशलाई हामीले के दियौ भन्ने सोच्नुपर्छ । देशलाई दिने मौका कहाँ आउँछ बारम्बार ?

कुनै बहानामा नै सही, कतै त केही सुधार भइरहेका छन् भनेर हामी आशावादी हुन सक्नुपर्छ । हुन त अरु बेला असरल्ल र भद्रगोल राखेको घरमा पाहुना आउने दिन मूल ढोका र वैठककोठा चिटिक्क पार्ने जस्तो होला यो सिंगारपटारको काम । अथवा जाडो लागेपछि शरीर ननुहाए पनि कपाल, मुख र घाँटी चाहिँ नुहाएर बाहिर हिंडेको मान्छे जस्तो पनि होला सार्कको तयारी । तर हामीलाई सबै कुरामा देखिए मात्र पुगिहाल्छ नि । नदेखिने कुरा हाम्रो प्राथमिकतामा कहिले पो परेका छन् र यसपटक परेनन् भनेर मन दुखाउनु ? अब सार्कको खास उद्देश्य र उपलव्धिको कुरा गर्ने हो भने चाहिँ, ती त हामीले पहिलो सार्क हुँदादेखि नै सुन्दै आएका कुराहरु नै हुन् । यसपटक पनि सार्क मुलुकलाई यूरोपेली यूनियन जस्तै बनाउने, सबै देश छुने रेलमार्ग बनाउने, प्रवेशाज्ञा हटाउने र उस्तै परे साझा मुद्रा चलाउने सम्मका कुराहरु होलान् । भैरहन्छन् ।

सरकारलाई मेरो विनम्र अनुरोध चाहिँ एउटै मात्र छ । कृपया यति तीब्र गतिमा काम नगरिदिनुहोला । हामीलाई यसरी फटाफट काम गरेको हेर्ने बानी छैन । यो गतिका लागि हामी अभ्यस्त छैनौं, हामीलाई रिंगटा लाग्छ । एउटै पुल बनाउनका लागि, पाँच देखि सात वर्ष लगाउने हाम्रो गौरवशाली परम्परालाई सार्कको नाममा भंग नगरिदिनुहोला । यति छिटो पनि बाटाघाटाहरु बन्न सक्छन् भन्ने हाम्रो बाबुबाजेले पनि नदेखेको कुरा हो, कसरी पत्याउने ? मेलम्ची र सम्विधानको नाममा हामीले बल्बल्ल विश्वसामु ‘प्रोक्रास्टिनेसन’को उदाहरण कायम गर्न लागेकाछौं ।
विश्वले बल्लबल्ल नेपाल चिन्न लागेको छ । यस्तो बेला अरुहरुले जस्तै काम गरेर हाम्रो उपलव्धिलाई भंग हुन नदिनुहोला । फेरि अर्को मुख्य कुरा त के भने, हाम्रो बानी अलि राम्रो छ । सार्क आउन धेरै दिन बाँकी नै छ । पीच गरेका बाटो र सफा बनाएका स्थानहरु हामी त्यतिन्जेलसम्ममा जस्ताको त्यस्तै बनाइदिन बेर लाउन्नम् । त्यसो भएछ भने हामीलाई दोष लाउन नपाइ, पहिले नै भन्द्याछौं ।

अन्त्यमा सरकारलाई विनम्रतापूर्वक एउटा कुरा सोधिहालौं, सार्कको लागि हामी आम जनताले पनि केही योगदान गर्न पर्छ होला नि । हाम्रा कन्चटतिर फुलेका रौंहरुमा यो महान पर्वको लागि कालो लगाउनका लागि आफै रंग किन्ने कि सरकारी बजेटबाट सहयोग हुन्छ ?

भीमल

केही समयदेखि यहाँ मैले नयाँ कुरा लेखेको थिइनँ । अाज जाँगर पनि चलेको छ, मूड पनि र केही फुरेको पनि छ । त्यसैले अन्त कतै नछापिएको Oven Fresh कथा भीमल, यसै ब्लगका लागि मात्र Exclusive.

रातको अँध्यारो र आत्महत्या,

जेष्ठ १७, २०६९ को बिहान ।

ब्यूँझनासाथ सबै स्तव्ध भए । भीमलका सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो । २५० वर्ष पुरानो मानिने बरको अजंगको रुखमा पासो लगाएर मरेछ ऊ । फेदको गोलाई नै १७ मिटर भएको त्यो रुखको विशालतामा उसको मृत शरीर त कति सा…….नो देखिएको ।

कसैले घाँटीको पासो काटिदिएपछि सँधै गर्वले उभिने उसको शरीर भुईँमा पछारियो । ऊ लम्पसार परेको थियो, उत्तानो लडेको थियो डङ्ग्रङ्ग परेर । सँधै हाँसिरहने उसका आँखाहरु निस्तेज आकाश हेरेर टोलाइरहेका थिए । उसको अनुहारमा कुनै पनि भाव थिएन । एक कान दुइ कान मैदान हुँदै यो समाचार जंगलमा डढेलो लागे जसरी फैलियो र सबै त्यतै दौडादौड गरेर आए ।

अहिले भीमलको नीर्जिव शरीरलाई सबैले घेरेर उभिएका छन् । सबैको मनमा एउटै प्रश्न मात्र छ, हँसिलो, फरासिलो, सबैसंग मिल्ने, आफूमाथि गर्व गर्ने र सदैव आशावादी रहने भीमल यसरी अपहत्ते गरेर किन मरेको होला ? यो कुरा त कसैले चिताउन पनि सक्दैनथ्यो । तै पनि उनीहरू केही न केही कारण पत्तो नलगाइ त के बस्थे र ? कपूरले निकै पुरानो कुरा सम्झायो,
“कतै त्यो असफल प्रेमको घाउ अझै भित्रभित्रै बाँकी त थिएन ? पाँचऔंले र भीमलको फाइट पर्‍या’थ्यो नि ?”

भीमल, फिलान्थस् एम्ब्लिका लिन् नामकी सुन्दरी र फाइट

त्यस दिन कपूर र पाँचऔंलेको फाइट परेको थियो । धेरै पुरानो कुरा हुनाले सबैले बिर्सिसकेका पनि थिए । खासमा केही दिन अघि देखि नै दुबैको ठाकठुक परिरहेको थियो । त्यस दिन मुखामुख गर्दागर्दै पछि त हातै हालाहाल भएछ । एकआर्कालाई घाइते नै हुने गरेर हमला गरेका थिए ती दुबैले । हुन त नामैले भने जस्तो अजंगको भीमलको अगाडि पाँचऔंलेको कुनै तुलना नै हुन सक्दैनथ्यो । तै पनि निकै बेर ऊ लडेको थियो । कहाँबाट आएको होला त्यत्रो आँट र तागत । बल्लबल्ल अरुहरुले गएर निकै बेरमा उनीहरुलाई छुट्याएका थिए ।

त्यसको कारण फिलान्थस् एम्ब्लिका लिन् नामकी सुन्दरी थिई । मेलामा एक दिन उसलाई देखेको बेलादेखि नै भीमल उसमाथि मुग्ध भएको थियो । तर, पाँचऔंले पनि भित्रभित्र वर्षों देखि एम्ब्लिकाको सुन्दरताको पुजारी थियो । कस्तो अनौठो नाम हैन त उसको ?

पख्नुस् है, कुनै विदेशी युवती प्रति उनीहरुको आशक्तिको कुरा भन्ठान्नुहोला, एम्ब्लिका उसको वैज्ञानिक नाम हो । हामी मान्छेका पनि हुन्छ नि, सबैले चिन्ने नाम सशांक भए पनि न्वारानको नाम चाहिँ डोरराज भएजस्तो ।
के भन्नुभो ?

हामी मान्छेका भन्या के रे ? यो कस्को कथा त मान्छेको नभए- भन्नुभा ?

मान्छेका बाहेक अरूका कथा हुँदैनन् र ? हामीले देख्न, सुन्न, बुझ्न र लेख्न मात्र नसकेका हौं कि ?
यो मान्छेको कथा होइन ।

त्यसो भए फिलान्थस् एम्ब्लिका लिन् नामकी ती सुन्दरी को हो त ?
उसलाई अमला भन्यो भने चाहिँ तपाईँहरू सबै सजिलैसंग चिन्नुहुन्छ होला नि ।
अमला वास्तवमै सुन्दर थिई । भर्खर यौवनले छोएको हुनाले ऊ धपक्कै बलेकी थिई । ऊ जस्ती सुन्दरी रुख चारकोस वरिपरिका जंगलमा कतै थिएनन् भनेर चर्चा गर्थे अरु रुखहरु । उसलाई देखेर जंगलका ठूलाठूला रुखहरु मात्र होइन, अम्लिसो, खश्रेटो, गन्धेझार, कनासे, भीमसेनपाती बोकेझार जस्ता झीनामसीनाहरु पनि खुइय्य लामो सास फेर्थे । तर पाँचऔंले अरु झारहरूलाई झारपात भन्थ्यो । ९० सेण्टीमिटर भन्दा अल्गो नभए पनि पाँचऔंलेलाई आफूमाथि बढी नै विश्वास थियो । त्यसैले त उसले झार भएर रूखसंग प्रेम गर्योो, त्यसका लागि आफूभन्दा निकै ठुलो र बलियो भीमलसंग फाइट पनि खेल्यो । डेभिड गोलायथसंग लडे जसरी । बिहान चौतारीमा गफ ठोक्न भेला भएकाहरुबाट त्यो खवर सुनेर बूढो पीपलले हरेस खाएको भावमा भनेकोथ्यो,
“खै कली लाग्या हो कि के हो ? कति मिलेर बस्थ्यौं हामी यो जंगलमा ? आजकल त किन हो किन, बातबातमा पाखुरा सुर्कन्छन् रुखहरु ।”

दुवैको चाला देखेर वाक्क भएकी अमला लौ जा त भनेर अर्कैसंग भागेकी थिई, खुसुक्क एक रात । भीमल निकै दिनसम्म विरही भएको थियो । तर केही वर्षमा उसले आफूमाथि नियन्त्रण गरिसकेको थियो । यो त धेरै पुरानो कुरा थियो । अहिले आएर त्यो कुरामा किन आत्महत्या गर्नु र ? सबै अन्यौलमा थिए ।

जंगल, रूख थरिथरिका

त्यो जंगलमा पनि थुप्रै रुखहरु थिए । बिभिन्न थरिका रुखहरु थिए त्यस जंगलमा । सबै रुखका आआफ्नै विशेषताहरु थिए । कुनै अल्गा, कुनै होचा, कुनै खिरिल्ला थिए भने कुनै अजंगका मोटा । कुनै रुखका जराहरु माटोमा धेरै गहिरोसंग गाडिएका थिए, कुनैका निकै परपरसम्म फैलिएका भने कुनै अलिकति मात्र गाडिएका भरमा टिकेका पनि थिए । त्यसैले प्रचण्ड हावाहुरी चल्दा पनि कुनै डेगै नचली अडिरहन्थे त कुनै अलिकति हावा चल्दा नै ढलूँला जस्तो गरी लचकलचक लच्किन्थे पनि । यस्ता कमजोर प्रजातिका रुखहरु कहिलेकहीं आफ्नो धरातलबाट उखेलिएर पछारिन्थे, विस्थापित हुन्थे ।

तर पनि सबै रुखका आफ्नै विशेषताहरु थिए । सालका रुखहरु आफ्नो बलियोपनमा गर्व गर्थे । उनीहरु बेलाबेला भन्थे,
“हाम्रा पुर्खाहरु उहिलेउहिलेका राजा महाराजहरु र अहिलेका हाम्रा पुस्ता आजकलका शक्तिशाली र सम्पन्न मनिसहरुको घरमा मेरुदण्ड, दलीन, फर्निचर इत्यादि बनेर बसेका छन् । हाम्रो योगदानको जति प्रशंसा गरे पनि पुग्दैन ।”

एकथरि अर्का रुखहरु थिए जो आफूमा पलाएका पात र लहराहरुमा सञ्जीवनी रहेकोमा गर्व गर्थे । अमलाको बाबु पनि आफ्नो गुणगान गाउन पछि पर्दैनथ्यो,
“हाम्रो फल भिटामिन सिको मुख्य श्रोत हो बाबै ।”

अजम्बरीको त झन् के कुरा गर्नु र ?
“हाम्रो त नामै अजम्मरी, कामै अजम्मरी । पात, डाँठ अथवा जे काटेर फाल न, हमी त्यसैबाट फल्छौं । हामी अम्लपित्त, कमलपित्त, पत्थरी, गर्मीले हुने रोग, मधुमेह, धातु झर्ने, पेट दुख्ने र पोल्ने जस्ता रोगहरूमा काम लाग्छौं, के ठान्या ?”

त्यहाँ रक्तचन्दन पनि थिए ।
आयुर्वेदमा पनि रक्तचन्दन उल्लेख गरिएको छ भन्ने कुराले उनीहरूको इज्जत नै बेग्लै थियो । हुन त चन्दनद्वय भनेर रक्तचन्दनका भाइहरूको खलक श्वेतचन्दनको पनि बयान नभएको हैन तर केही समयअघि देखि देशका ठूलाठालूहरू रक्तचन्दनको चोरी र तस्करीमा लागेपछि रक्तचन्दनको त भीआइपीमा गणना हुनथालेको थियो । तै पनि सबैभन्दा पाको रक्तचन्दनलाई यो गतिमा ओसारपसार हुँदा वंशै नाश होला भनेर पीर पनि लाग्न थालेको थियो । एकरात ट्रक आधुनिक आरा करौती लिएर आएकाहरूलाई उसले सम्झाउन पनि खोजेको थियो । सुनको फूल पार्ने कुखुरोलाई एकैपटक काट्ने लोभीको कथा पनि सुनाएको थियो उसले । तर तातै खाऊँ-जल्दै मरौं भैरहेका ती पिपासुहरूले उसका कुरा सुनेनन् ।
“जंगलमै कुहिएर जाने तेरा सन्ततिलाई हामीले भारत चीन लगायत संसारका कति मुलुक घुम्न पठाइरहेका छौं । तं त खुसी हुनुपर्छ ।”

त्यसो भनेर रातको निस्तव्धतामा उनीहरूले आफ्ना सन्तानहरूलाई निर्दयतापूर्वक काटेको हेरेर बूढो रक्तचन्दनले धर्धरी आँसु चुहाएको थियो ।

जंगलका सबै रुखहरूलाई आफ्नो नियति भनेको काटिनु र अरूको काम आउनु हो भन्ने थाहा थियो । कसैकसैलाई यसमा गर्व पनि थियो । त्यस्तै गर्व गर्नेहरूमा एउटा थियो, भीमल ।
भीमल

भीमलका प्रजाति थरिथरिका कागज बनाउनका लागि प्रयोग हुने रुखका रुपमा चिनिन्थ्यो । भीमल सबैलाई भेला पारेर भन्ने गर्थ्यो,
“कागज भनेको निकै ठूलो कुरा हो बाबै । तिमीहरूलाई थाहा छ, कागजले मानिसका कति ठुलाठूला काम गर्छ ?”

अरू रुखहरू उत्सुक भएको देखेर आनन्द मानेर ऊ भन्थ्यो,
“कागजको सबैभन्दा ठुलो कुरो भनेको कागजमा लेखिन्छ । लेखिनु भनेको निकै महत्वपूर्ण हो । कुनै पनि कुराको स्विकृति, सहमति र स्वीकार गर्नू हो लेखिनु । अभिव्यक्त हुनु हो लेखिनु । स्वतन्त्र हुनु हो लेखिनु ।”
आफ्ना हाँगाहरूलाई जोरजोरले उचाल्दै, घोक्रो स्वरमा भन्थ्यो ऊ,
“हामीमा- एउटा मन र अर्को मनलाई जोड्ने भावना लेखिन्छ, प्रेम पत्र । हामीमा- मानिसको उपलव्धि र विकासको कथा लेखिन्छ, ईतिहास । हामीमा- ठूलाठूला सहमति लेखिन्छ दस्तावेज, सन्धि लेखिन्छ र युद्धविरामका घोषणा लेखिन्छ । हामीमा- सत्य लेखिन्छ, असत्य पनि लेखिन्छ । भ्रम, वाद, विचार र कहिलेकहीं पूर्वाग्रह लेखिन्छ । कल्पना, सपना, भविष्य सब हामीमा लेखिन्छ ।”

सबै मन्त्रमुग्ध भएर उसलाई हेरिरहन्थे, उसको गर्व ।
तर उसको व्यक्तिगत गर्वको कुरा यति मात्र थिएन । उसलाई आफ्नो खलकले पाउन लागेको एउटा अर्को उपलव्धिको गर्व थियो ।
एउटा देशको नयाँ सम्विधान लेखिने भएको थियो उसको खलकमा । आहा…….त्यो भन्दा ठूलो अरु के हुन सक्छ ? सिंगो देशको भविष्यको योजनाको खाका लेखिने भनेको सबै रुखका कागजहरूले कहाँ पाउँछन् र ? त्यही भएर आफ्ना दाजुभाइहरू काटिँदा सँधै आँशु हुने उसका आँखाहरूमा त्यसदिन साराका सारा सानाठूला भीमलहरू छप्काईँदा पनि स्वाभिमानको राप थियो, उज्यालो थियो । आफूलाई पनि त्यो कागज बनाउन कहिले लग्लान् भनेर कुरि रहेको पनि थियो ऊ । तर नलगे पनि आफ्ना दाजुभाईले खलककै नाम उँचो बनाउने कुराले नै ऊ खुशी थियो ।

भीमल केही दिन अघिदेखि त्यो सम्विधान लेखिने दिन गन्न थालेको थियो । दिन जतिजति नजीक आउँदै गयो, भीमलको गर्धन पनि त्यतित्यति मोटो र नाकका पोहोराहरू त्यतित्यति नै फुल्दै गइरहेका थिए ।
त्यस दिन

किन हो किन भीमललाई केही न केही समाचार अवश्य आउँछ भन्ने पूर्वाभाष भैरहेको थियो । दिनभरि नै भनेजसो ऊ घाँटी तन्क्याइतन्क्याइ चारै दिशा तिर आफ्ना उत्सुक आँखाहरू डुलाइरह्यो । रात झमक्क परेपछि मात्र उसले त्यसको आश मार्योक । भोलिपल्ट उसको निन्द्रा कागको कर्कश स्वरले खुल्यो । काग उसकै कान निर कराइरहेको थियो, उसैलाई हेरेर ।

“शुभ शुभ बोल् कौवा, शुभ शुभ……”
आँखा मिच्दै भीमल बर्बरायो ।

कागले जे समाचार सुनायो, त्यो भीमलका लागि अकल्पनीय थियो ।
कुरो मिलेनछ कसैको । जति गरे पनि केही लागेन छ । सम्विधानसभा बिगठन भएछ ।

निकै बेरपछि उसले पराजित स्वरमा कागलाई सोध्यो,
“अनि हाम्रा खलकलाई के गर्ने भए त कौवा ?”

कागले पनि एकछिन कान कनायो । भनौं कि नभनौं जस्तो भावमा कागले भन्यो,
“सम्विधानै नलेख्ने भनेपछि तिनको अहिलेलाई केही कामै भएन ।”

“कतै तिनका सलाई त बनाएनन् आगो लगाउने ?” भीमल त्रस्त भयो ।
“कागज त कागजै बनेका छन शहर गएर, तर तपाईंले चाहेको जस्तो पेपर हैन ।”

“कस्तो पेपर त ?” भीमलले थर्थर कामेको शंकालु स्वरमा सोध्यो ।

कागले अमीलो मुख लगाएर भन्यो, “ट्वाइलेट पेपर”

आत्महत्या

भीमल दिनभर झोक्रयायो,
अनि रातको अँध्यारोमा उसले आत्महत्या गर्‍यो ।
बिहान उठेर हेर्दा सबै स्तव्ध भए ।
भीमलका सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो । गहिरोसंग धरातलमा गाडिएका उसका जराहरू उखेलिएका थिए, हावामा झुण्डिएका थिए ।

निष्प्राण जराहरू हावामा फिर्फिर हल्लिरहेका थिए ।

व्यर्थका विवादहरु

नेपाल साप्ताहिकको मेरो स्तम्भ ‘बायाँ फन्को’बाट

आजकल मलाई बेलाबेला हामीसंग स्कूलमा संगै पढ्ने एक जना साथीको सम्झना आइरहन्छ । हामी दुइ कक्षादेखि एसएलसी दिने बेलासम्म संगै पढ्यौं । ऊ पढाइमा अब्बल थियो त्यसैले हरेक पटकको परीक्षामा एक देखि चार भित्रमा पथ्र्यो । पढाइ बाहेकका अरु सबै कुरामा पनि ऊ राम्रै थियो । साथीहरुसंग मिलनसार र हँसिलो थियो । उसले कसैसंग नचाहिँदो वादविवाद वा झैझगडा गरेको मलाई हेक्का छैन । ऊ बेलाबेलामा अरुहरुको नक्कल गरेर हामीलाई हँसाउने पनि गथ्र्यो । एक पटक त्यस्तै मूडमा उसले हामीलाई भकभकाएर बोल्ने मानिसको नक्कल गरेर सुनायो । आलाकाँचा केटाकेटी हामी मरिमरि हाँस्यौं ।

कसैको भिन्न क्षमतालाई पनि अरु सरह सम्मान गर्नुपर्छ र त्यसमा ठट्टा गर्नु हुँदैन भनेर त्यतिबेला हामीलाई थाहा पनि थिएन, कसैले सिकाएको पनि थिएन । हामी रमाएको देखेर उसले झन् उत्साहित भएर त्यो कुरालाई निरन्तरता दियो । त्यसको निकै दिन पछि सम्म पनि साथीभाइहरु उसलाई बेलबेला त्यो नक्कल गर्न अनुरोध गर्थे र ऊ पनि दंग पर्दै अघि सरिहाल्थ्यो । त्यही क्रममा कुनबेला देखि त्यो बानी उसमा सर्न पुग्यो थाहा नै भएन । अब त ऊ नभकभकाइकन बोल्नै नसक्ने भयो । उसले निकै प्रयत्न गर्दा पनि त्यो बानी छोड्न सकेन । स्कूल जीवनसम्म त्यो बानी उसैसंग रह्यो । पछि हाम्रो बाटो अलग भयो । अहिले ऊ विदेशमा एउटा सफल चिकित्सकका रुपमा स्थापित भएको रहेछ । निकै कठीन प्रयास पछि धेरै लामो समय पश्चात् मात्र उसले त्यो बानी छोड्न सफल भएको रहेछ । भकभकाएर बोल्ने मानिसहरुको बोलीमा नजानेरै भए पनि उसले गरेको ठट्टाको उसले ठूलै मोल चुकाउनु परेको हुनुपर्छ ।

त्यसैले कस्तो बानी लाग्न दिने वा नदिने भन्ने कुरामा हामी चनाखो हुनै पर्छ । विशेष गरेर मानिसको स्वभावैले गर्दा राम्रो बानी लगाउन वा अनुशासन सिक्न उसलाई गाह्रो हुन्छ भने नराम्रो बानी सिक्न, अराजक हुन र अनुशासनहीन हुन उसले सहज रुपमा सिक्छ । माथिको उल्लेख गर्दा मैले त्यसरी बोल्ने बानीलाई नराम्रो भन्न खोजेको अर्थ चाहिँ कतैबाट नलागोस् । त्यस्तो बोलीलाई नक्कल गरेर हाँसो गर्नुलाई नराम्रो बानी भन्न खोजिएको मात्र हो, एउटा उदाहरणको रुपमा मात्र त्यसलाई लिइएको हो । त्यसैले मानिसले के सिक्दैछु, के गर्दैछु र कस्तो कुराको अभ्यास गर्दैछु भन्ने कुरामा सतर्क हुनु आवश्यक छ । दीर्घकालीन असरका बारेमा नसोचेर क्षणिक रमाइलो, आवेग वा उत्तेजनामा लागेर हामी कतिपय यस्ता बानी वा प्रवृत्तिहरुहरु सिकिरहेका हुन्छौ जुन कालान्तरमा गएर हाम्रो चरित्र वा हाम्रो प्रकृति नै बन्न पुग्छ । कतिबेला यस्ता कुराले हामीभित्र जरा गाड्छन्, गहिरो हुन्छन्, हाम्रो सम्पूर्ण व्यवहारमा तिनको टुसा लाग्छ, हुर्किन्छ र झाँगिन्छ भन्ने हामीले थाहा नै पाउँदैनौ । हाम्रो मानसिकतामा गहिरिएर गाडिएको त्यो जरा र विशाल वृक्ष बनेर हाम्रो आचरणमा उभिने त्यस्ता बानीहरु उखेलेर फ्याल्न असम्भव नभए पनि निकै कठीन भने अवश्य हुन्छ ।

आजकल हाम्रा कुराकानी, छलफल, पत्रपत्रिका, सामाजिक संजालका अभिव्यक्तिहरु हेर्दा एउटा त्यस्तै अचम्मको बानी हामीलाई लागिरहेको जस्तो लाग्न थालेको छ । त्यो बानी हो, विवादको । पछिल्ला केही समयका हरेक भने जसो कुरामा हामी विवाद गरिरहेका छौं, असाध्यै धेरै मतभिन्नता देखाइरहेका छौं । कसैले भनेको कुनै पनि कुरामा अरु सबैले विवाद गरिरहेका छौं र अलमलिंदा अलमलिंदै हरेक कुरामा फुकाउनै नसक्ने गाँठहरु बनाइरहेका छौं । एउटा तात्तातो उदाहरण नेपाली क्रिकेट टीमको प्रशिक्षकको सकिन लागेको करारको विषयमा देखियो । उनको करार नवीकरणमा किन ढिलाई भनेर आवाज उठ्दा नउठ्दै त्यो करार नवीकरण भएको समाचार आयो । त्यसपछि एक समूह विवाद गर्न थालिहाल्यो, अरु कोही थिएन र तिनकै करार नवीकरण गर्नु पर्ने ? यो त एउटा सानो उदाहरण मात्र हो ।

हुन त वादे वादे जायते तत्ववोधः भनेर हामीलाई सानै देखि रटाइएको छ । विवादले फरक दृष्टिकोणहरुलाई स्थान दिन्छ, भविष्यमा आउन सक्ने जटिलताको पूर्वाभाष हुन सक्छ र समस्या आउनु अघि नै समाधानका उपाय खोज्न सघाउ पु¥याउँछ भन्ने कुरामा दुइ मत छैन । रोगको उपचार भन्दा लाग्नै नदिनु राम्रो भन्ने कुरा आफ्नो स्थानमा सत्य छ । तर हामीले विगतमा हरेक विषयमा प्रकट गरेका मत भिन्नताहरुलाई केलाएर हेर्ने हो भने मनमा एउटा प्रश्न उत्पन्न हुन्छ । के कुनै पनि क्षेत्रमा कुनै पनि सर्वसम्मत हुन सक्ने योजना नबनेकै हुन् ? समस्याहीन, निस्वार्थ र सबैको हितका बारेमा कसैले पनि केही कामै नगरेका हुन् ? राजनीति, चुनाव, मतगणना, परिणाम, खेलकूद, निर्माण, कला, साहित्य, प्रशासन, विकास, योजना, बजेट, निर्माण, नीतिनियम, कानून, कर्मचारी नियुक्ति, सरुवा बढुवा, शिक्षा र सम्विधानसम्मका व्यापक विषयहरुमा हेर्ने हो भने जताततै विवादै विवादका डुङ्गूर बाहेक केही पनि देखिंदैन ।

एउटाले भनेको कुनै पनि कुरा अर्कालाई किन जायज लाग्दैन ? के सबै आआफ्ना व्यक्तिगत, राजनैतिक, आर्थिक वा अन्य कुनै स्वार्थ र पूर्वाग्रहले मात्रै निर्देशित भैरहेका हौं त ? हामीमा हरेक कुरामा अनावश्यक विवाद गर्ने बानीले जरो गाड्न थालेको त हैन ? अरुको कुरा मान्यो भने सानो भइन्छ भन्ने भ्रान्तिको वीजारोपण भएको त हैन हाम्रो मानसिकतामा ? यदि त्यसो हो भने त हामीले आफूमा साह्रै नराम्रो बानी लगाइरहेका छौं । यो बानी त आजै, अहिल्यै नै हटाउनु आवश्यक भइसक्यो ।

कि त्यसमा पनि कुनै विवाद छ ?

थ्याङ्क यू क्याप्टेन

आखिर पछिल्लो हप्ता यो पानीमरुवा पनि हिमाली उडानका लागि चील गाडी चढ्यो । सगरमाथा लगायत गौरीशंकर र अन्य सुन्दर तर डरलाग्दा हिमटाकुराहरुको दुइ नटिकल माइल नजीकै पुग्दा पनि रक्तचाप जस्ताको त्यस्तै रह्यो । त्यतिमात्र होइन, फर्केपछि पनि मलाई डोकाले छोपेर सिस्नुपानी छम्कनु परेन, अर्थात मेरो सातो गएन । लौ त भनौं भने बरु आनन्द नै आयो । (सातो र आनन्द कहाँ, कसरी र किन जान्छन् वा आउँछन् भन्ने चाहिँ मलाई अहिलेसम्म थाहा छैन है ।)

अरु कुरामा आफूलाई जति सुकै शूरवीर माने पनि हत्पति कसैलाई भनिहाल्न लाज लाग्ने एउटा कुरा के हो भने चीलगाडी चढ्न भने पछि म बबूरोको सातोपुत्लो उड्छ । (सातो के हो भन्ने अलिअलि थाहा भए पनि पुत्लो के हो अनि यी दुइ भाइ कहाँ र कसरी उड्छन् भन्ने पनि थाहा छैन है ।) मलाई सम्झना नै नहुने बेलामा पनि चीलगाडीमा उडेको बेला पेटमा आगो बल्यो भनेर कोलाहल मच्चाएको थिएँ रे भन्ने किम्वदन्ती मैले सुनेका हूँ । जानकारहरु भन्छन्, उँचाइसंग डर लाग्ने मान्छेहरुमा त्यो साधारण हो रे । तर अकिञ्चनलाई त्यो समस्या पनि छैन । तै पनि क्या हो क्या हो, चीलगाडीसंग मेरो पूर्वजन्मको नै ३६ को आँकडा रहेको छ । त्यसैले सकेसम्म मिलेसम्म सडक यात्रा नै मात्र गर्ने र केही लागेन भने मात्र हावामा कावा खाने मेरो पुरानो रोग हो ।

हुन त हवाइ यात्रा सडकको भन्दा बढी सुरक्षित हुन्छ भन्ने कुरो पनि थाहा नभएको कहाँ हो र ? सुरक्षितका साथै आरामदायी पनि हुन्छ, दुर्घटनामा पर्ने डरको समय अवधि कम हुन्छ र कथंकदाचित दुर्भाग्य नै भएछ भने पनि हवाइयात्रीले सजिलोसंग मोक्ष प्राप्त गर्छ, अंगभंग भएर रहनुपर्ने डर हुँदैन, आफ्नाले राम्रै क्षतिपूर्ति पाउँछन् भन्ने कुराहरु पनि मथिंगलमा दर्ता नभएको होइन । आर्थर हेलीको पुस्तक एयरपोर्ट पढेपछि मान्छे सानोतिनो हवाइ विज्ञ बन्छ । हवाइ यात्रा, विमानघाट र चीलगाडीका संचालनका पछाडि कति धेरै सतर्कता र सुरक्षाहरु हुन्छन् भन्ने कुराको सूक्ष्मतम अध्ययन गरेर तिनकै वरिपरिका पात्र र घटनाहरुलाई उनेको त्यो पुस्तक पढेपछि मान्छे ढुक्क हुन्छ र तर यो कुरामा म शायद मान्छे परिनं क्यारे, हेलीले पनि मसंग हार खानु परेको थियो । हवाइयात्रामा गडवड हुने भनेको करोडौंमा एक घटना मात्र हो, त्यो पनि धेरै जसो मानवीय त्रुटिका कारण, नत्र प्राविधिक त्रुटिका कारण दुर्घटना हुने भनेको नगण्य बराबर हो भन्ने पनि यो मूढमगजले पढेको बुझेको हो । तर त्यति हुँदा पनि किन हो चीलगाडी चढे कि हंसले ठाम छाड्ने । (हंसको ठाउँ कहाँ हुन्छ र छोडेर कहाँ जान्छ भन्ने पनि मलाई थाहा नभएको कुरा हो।)

यो असहजताको पछाडि एउटा कारण हुनसक्छ भन्ने मैले आफै टुंगो लगाएको थिएँ । हेक्का हुने बेलादेखि तीनदशकको आयु खाउन्जेल म बारम्वार, नियमित रुपमा हवाइ दुर्घटनाका सपनाहरु देख्ने गर्थें । कहिले म आफै चढेको चीलगाडी दुर्घटना हुन्थ्यो, कहिले म त्यसको प्रत्यक्षदर्शी हुन्थें । कहिले टथ्र्यो, कहिले डरलाग्दोसंग दुर्घटना ग्रस्त हुन्थे मेरा सपनाका चीलगाडीहरु । एकतमास हप्तामा दुइ वा तीनपटकसम्म बर्षौं देखेका त्यस्ता सपनाहरुले सम्भवत मेरो आलोकाँचो मगजमा कुनै अमिट प्रभाव पारेका हुनाले नै म विवेक र तर्कसंग हार्ने गरेको हुनुपर्छ भन्ने मलाई लाग्थ्यो । दशौबाह्रौं घण्टा इस्पाते चरोको पेट भित्र आफू रहनुपर्ने कल्पना नै गर्न नसकेका कारण मैले एकदुइवटा विदेश यात्राहरु नै रद्द गरेको छु । छोटा यात्राहरुमा पनि पाएसम्म टिन्चु पानी लगाएर रनक्क भएपछि मात्र म त्यो हववाइजहाज भन्ने जिनिस भित्र छिरेको हुन्छु । अनि त्यहाँ भित्र पनि हनुमान चालीसा र गायत्री मन्त्र जप्नु त मेरो लागि त्यति नै आवश्यक हुन्छ, जति उडान अघि पाइलटहरुले विमानका आभारभूत कुराहरु जाँच गर्नु ।

केही दिन अघि विद्यालयका साथीहरुको एउटा जमघट भएको थियो । एसएलसी दिएर बाटो लागिसकेपछि कहिले कुनै दोबाटो चौबाटोमा नठोक्किएका कतिपय मित्रहरु बीसौं वर्षको अन्तरालमा भेटिएका थिए । तिनै मित्रहरु मध्ये एउटा थियो क्याप्टेनसाब । क्याप्टेन रविन्द्र डंगोल । ऊ आजकल वरिष्ठ पाइलट र उडान प्रशिक्षक समेत भैसकेको रहेछ । त्यो जमघटका लागि पनि ऊ बिहानै लुक्लाको दुइवटा उडान भ्याएर आइपुगेको थियो । मैले उसलाई हरेक दिन उड्नु, अनि लुक्ला जस्तो संसारको सबै भन्दा खतरनाक मानिएको विमानघाटमा बारम्बार ओर्लन कतिको डर हुन्छ भन्ने प्रश्न गरें । कुनै गृहिणीलाई बिहानबेलुकै ग्यासको सिलिण्डर जस्तो विष्फोटक पदार्थको सान्निध्यमा खाना पकाउन कत्तिको डर हुन्छ भन्ने सोधे जस्तो उसले मलाई अचम्म मानेर हे¥यो । आफूलाई त्यो प्रश्नको कल्पनाले नै डर लागेको थियो तर उसले ओठ लेप््रयाएर केही हुँदैन भन्ने उत्तर दियो । मैले आफ्नो उडानसंगको डरको कुरा सुनाएँ र उसको मुटु मेरो भन्दा बेग्लै कच्चा पदार्थले बनेको हुनुपर्छ भन्ने ठहर पनि बताएँ । रविन्द्रले हाँस्दै भन्यो,
“पख्, तंलाई एक दिन मैले उडाउने फ्लाइटमा लैजान्छु र तेरो डरको औषधि गर्छु ।”

कुरो त्यत्तिमै सकिएको थियो । त्यो जमघटको महीना दिन जति भैसकेको थियो । म पनि ढुक्कै थिएँ । साँच्चै उसले मलाई जाऊँ भन्यो भने मलाई पापसंकट हुन्थ्यो । बालसखाको सामु डराएर जान्नं भन्न आफ्नो स्वाभिमानले नदिने, जाऊँ भने कसरी जाने । कुरै नउठेपछि टण्टै साफ । कुनबेला कुन सुरमा औपचारिकताका लागि भनेको कुरा रविन्द्रलाई के हेक्का रहला र । म उसको स्मरणशक्तिलाई न्यून मूल्यांकन गरेर ढुक्क भएको रहेछु । अघिल्लो शनिवार बेलुका फोन गरेर उसले उर्दी लगाइदियो,
“ल भोलि बिहान ६ बजे एयरपोर्ट पुग्ने, म तंलाई माउण्टेन फ्लाइटमा लैजान्छु ।”

मेरो हंसले ठाउँ छोड्यो । उडान, त्यो पनि माउण्टेन फ्लाइट ? मैले आल्याङटाल्याङ गर्न थालेको मात्र के थिएँ, त्यो बुझेर होला उसले उर्दीलाई अझ कडा बनायो ।
“यसो गर्, म अफीसको गाडीलाई मलाई लिन नआइज भन्छु । तं आउँदा मलाई पनि पिक अप गर् । संगै जाउँला ।”

मैले केही भन्नु अघि फोनले एकतामसले टुँइटुँइ गरेर सम्पर्क विच्छेद भएको संकेत दिन थालिसकेको थियो । मलाई रातभर निन्द्रा लागेन । तर उम्कने बाटो नभएपछि वाध्यताले बिरालोलाई पनि बाघ बनाउँदो रहेछ । भोलिपल्ट बिहानै धूप बालेर भगवान गुहार्दै म अन्ततोगत्वा हिमाली उडानका लागि रविन्द्रको पुच्छर लागेर विमानघाट पुगें । उसले उड्नु अघि मलाई विमानका बाहिरी भागका वनौट र सुरक्षा प्रणालीहरुका बारेमा बतायो । मौसम र वादलहरुका बारेमा बतायो । वादलभित्र प्रवाह हुने विद्युतीय तरंगहरुले यदि विमानलाई भेट्टाएमा तिनलाई डिस्चार्ज गर्नका लागि के कस्ता प्रविधिहरु बाहिरै रहन्छन् भनेर देखायो, विमानको आकार किन त्यस्तो हुन्छ, झ्यालढोक किन त्यस्ता हुन्छन् भन्ने बताइसकेर उसले मलाई भित्र लग्यो ।

ककपिटका रंगीचंगी बटनहरु, सानासाना स्क्रिनहरुको बारेमा जानकारी दिंदै अहिलेको उन्नत प्रविधिका कारण उडान झनै कति सहज र सुरक्षित भएको छ भनेर मेरो घैंटामा घाम लगायो । दुईवटा इन्जिन एकार्काका परिपूरक हुँदाहुँदै कसरी एकार्कासंग पटक्कै सम्वन्धित हुँदैनन् र कथंकदाचित एउटाले काम नगरे पनि अर्को त्यसबाट कसरी अछूतो रहेर उडान सुरक्षित रहन्छ भन्ने दिव्यज्ञान पनि दियो । अर्थर हेलीको किताब पढेर आफूलाई हवाइ विज्ञ भएको भ्रम पालेको मेरो ज्ञान कति सीमित रहेछ त भने हामीले को पाइलट भन्ने मान्छेलाई खासमा फस्र्ट अफीसर भनिन्छ, को पाइलट भन्ने त पद नै हुँदैन रहेछ । कसले भन्छ स्कूल कलेज सकिए पछि पढाइ सकिन्छ ? संसार नै एउटा स्कूल हो र हरेक दिन कक्षा, भेटिने हरेक मान्छे शिक्षक अनि हरेक पल पढाइ हुन्छ । को बाट के कति सिक्ने अथवा नसिक्ने भन्ने त आफ्नै हातमा हुन्छ । क्याप्टेन रविन्द्र नामक मेरो त्यस दिनका शिक्षकले कम्प्यूटराइज्ड उपकरणहरुले राडार र नियन्त्रण कक्षसंग संयोजनमा रहेर पूरा उडान कसरी सम्पन्न हुन्छ भन्ने कुरा पनि घोटेर मेरो मगज भित्र खन्यायो ।

सैद्धान्तिक रुपले म निकै हदसम्म आश्वस्त भैसकेको थिएँ । तर गाँठी कुुरो त उड्नु थियो । पेप ग्वार्डेलाले फुटवलको रणनीतिको बारेमा भनेको सुन्नु र मैदानमा मेस्सीसंग खेल्न उत्रनु फरक कुरो हो, भनेर मैले उसलाई भनिंन । बडो धीरगम्भीर मुद्रामा उसका कुराहरु सुनेर हुँ..हुँ मात्र गरिरहें । तर पनि मेरो सातौं इन्द्रियले मलाई अरु बेलाका उडानमा जस्तो मेरो हालत निरीह हुँदैन भन्ने संकेत दिइसकेको थियो । नभन्दै उडानमा पनि उसले केही बेर ककपिटको छेउमा राखेर मलाई व्यावहारिक रुपमा उडानको सहजता र सुरक्षाका बारेमा ज्ञान दियो । पहिलोपटक मैले हवाइ उडानको असली आनन्द उठाएँ किन भने बषौं देखि दुःख दिइरहेको ट्यूमरलाई कुनै दक्ष चिकित्सकले काटेर फ्यालेजस्तो रविन्दले मेरो डरलाई निर्मूल बनाइसकेको थियो । त्यसदिन मैले उडान अवधिभर हनुमान चालीसा र गायत्री मन्त्र पाठ गरिनं । हिमाल, पहाड, वादल र आकाशको सान्निध्यमा उन्मुक्त चराझैं कावा खाएर जमीनमा ओर्लने बेलामा म उडानसंग नडराउने मान्छे बनिसकेको रहेछु । अब आइन्दा चीलगाडी चढ्नुपर्दा मेरा गोडाहरु काम्ने छैनन् भन्ने मलाई विश्वास छ ।

त्यसका लागि थ्याङ्क यू क्याप्टेन

‘टाइम अप’

एउटा विशाल र बहुआयामिक चित्रलाई भताभुंग पारेर अनेकौं आकार र बनौटका टुक्राहरूमा छरपष्ट पारेर प्रकृतिले (कसैले ईश्वर भन्छन्) हमीलाई थमाइदिन्छ । यो तेरो जिन्दगी हो, यसलाई मिला भनेर । हामी अन्तिम साससम्म त्यो उसको अमूर्त कलासंग पौंठेजोरी खेलिरहन्छौं, त्यो चित्र के रहेछ भनेर बुझ्नका लागि । यति धेरै चु्च्चोमुच्चो नमिलेका टुक्राहरू….कुनै एक टुक्रा मात्र नमिल्दा पनि हामी त्यो चित्रको भेउ पाउन सक्दैनौं । अहो….किन यति जटिल बनाएर पठाएको होला जिन्द्गी भन्ने कुरालाई । न हामी पू्र्ण रूपले आफूलाई चिन्न सक्छौं, न त आफ्ना वरिपरिका अरू कोही मान्छेलाई । जिन्दगी नामक यो चित्र, जसको बनौट, रहस्य, रंग, केही पनि खुट्याउन नसक्दै उसले भन्छ, ‘टाइम अप’ ।