आफ्नै प्रहारहरुले चर्काएर
ढल्ला ढल्ला जस्तो भएका भित्ताहरु
खस्ला खस्ला जस्तो छाना अनि
धूमिल हुँदै गएको आस्था छोडी
पलायन हुन खोजेको देउतालाई
यत्न प्रयत्न, मन्त्र पूजा गरि
बल्ल बल्ल एकपटक फेरि
स्थापित गरेर त्यही मन्दिरमा
लामो सास फेरिरहेको छ
एउटा पापी पुजारी
चिराहरु पुरिसकेको छ
टालिसकेको छ
झण्डैझण्डै
चुहिन चुहिन खोजेको छानो
अब त एकोहोरो आशक्ति
अनुराग अनि प्रतीक्षा
कहिले जीवन्त होला त्यो मूर्ति
एकोहोरिएर आशाको त्यान्द्रोमा
झुण्डिरहेको छ
एउटा पापी पुजारी
हाँस्ला फेरि उससंग
बोल्ला फेरि उससंग
आफैले नै पत्थर बनाएको
आफैले नै मूर्ति बनाएको
उसको मनको देउताले आफ्नो मन
खोल्ला फेरि उससंग भनी
कुरिरहेको छ
एउटा पापी पुजारी