७९२ किलोहर्ज……..

नरुले ‘ताल्ची मव्या’ भन्नुअघि नै म कराएँ । उसको गुच्चा अलि खाल्डोमा परेको थियो । अब उसले त्यो गुच्चालाई माथि राम्ररी देखिने गरी राखिदिनुपर्ने भयो । मेरो गुच्चाले उसको गुच्चालाई ढें गरेको -उसको भन्दा मेरो गुच्चा पर पुगेको) हुनाले उसको गुच्चालाई उडाउने पहिलो मौका मैले पाएको थिएँ । एघार बाह्र वर्ष पुगिसकेका हामी ‘ठूला’ भइसकेकाहरू ठूलै प्रकारको बाजी खेल्थ्यौं । मैले एक आँखा चिम्लेर

आफ्नो सिकारलाई ताकें । गुच्चा हान्ने मेरो माझी औंला खुम्चिएर पेस्तोलको टि्रगर जस्तो बनिसकेको थियो । ब्रुस लीले मुक्का हान्नुअघि सारा शरीरको शक्ति मुठ्ठीमा सारेर ल्याउँछ भन्ने सुनेको मैले पनि आफ्नो खुम्रे कीरोझैं घुमि्रएको औंलामा शक्ति सञ्चय गरें ।

छेवैमा काकाको घरमा ठूलो स्वरमा बजिरहेको रेडियोमा एउटा धुन बज्न सुरु भयो । ‘रूपक’ भनिने रेडियो नाटक सुरु हुन लागेको संकेत थियो त्यो धुन । ‘पछि खेलौंला है, नाटक आउन लाग्यो ।’

म आफ्नो गुच्चा खल्तीमा हालेर सत्तरीको गतिमा घरतिर कुदें । तीन खुड्किला काठको भर्‍याङ फडाल्दै म तीन तलामाथि रेडियो राखेको कोठामा पुगें । घरका अन्य सदस्यहरू आआफ्नो कामधन्दा भ्याएर, थाँती राखेर रेडियोको वरिपरि झुम्मिसकेका थिए । स्याँस्याँ गर्दै एउटा कुनामा म थचक्क बसें । दसैं-तिहार आउन लागेको बेला थियो । त्यस्तो बेलामा धार्मिक नाटकहरू बज्थे । त्यस दिन पनि दुर्गा र महिषासुरको पालो थियो । महिषासुर आफूलाई यस संसारको सबैभन्दा शक्तिशाली भएको अट्टहास गर्दै ऋषिमुनिहरूमाथि अत्याचार गर्न थाल्यो ।

‘दुष्ट राक्षस….अब तेरो पापको घडा भरियो । आज म तेरो सर्वनाश गरिदन्छु ।’ शंखनादसँगै माता दुर्गाको तीखो स्वर जब रेडियोबाट निस्केर कोठाभरि छरियो, म ढुक्क भएँ । ढोल, शंख, तवलाका पाश्र्वसङ्गीतसँगै युद्ध सुरु हुँदा मेरो जीउमा काँडा उम्रन थाले । छेउको कुर्सीको खुट्टा च्याप्प पारेर

अँठ्याएर म त्यो युद्धमा सहभागी भएँ । रूपक नसकिउन्जेल कोही बोलेन । अन्त्यमा राक्षस पराजित हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि महिषासुर मौन नहुन्जेल र ऋषिमुनिहरूले आभार व्यक्त नगरुन्जेल कोठामा सबै तनावमा थिए । महिषासुरले प्राण त्याग गरेपछि कोठामा थपडी बज्यो ।

त्यति बेला रेडियो कुनै मायावी वस्तुभन्दा कम थिएन । मानिसहरूको मनोरञ्जन, सूचना र समाचारको एउटै मात्र माध्यम थियो रेडियो नेपालको ध्वनि । कहिलेकाहीं रेडियो सिलोन र विविध भारती पनि सुन्थे हाम्रा घरकाहरू । त्यो पनि हिन्दी गीतका लागि । ‘बिनाका गीतमाला’ भन्ने कार्यक्रमचाहिँ कहिले पनि छुट्दैनथ्यो । तर मलाई ती खासै मन नपर्नाका कारण ती स्पष्ट आउँदैन थिए । सिलोन रेडियोलाई एउटा रुसी रेडियोले खान्थ्यो । झन् बिनाका गीतमाला आउने बेलामा त अझै बढी । आधाआधा माइक्रो मिलिसेन्टिमिटर गर्दै कान नमिोठेर सुई मिलाएर बल्लबल्ल भेट्टायो, बाजले कुखुराको चल्ला झम्टेसरह रुसी रेडियोले छोप्थ्यो, ‘बिग्रोस्की सप्रोस्की थोत्रोस्तोभ केमोत्लोभ्…’

रफीलेे मीठो गीत गाइरहेको बेला केही नबुझिने भाषामा मोटो खस्रो स्वर एनरिकेको गीतमा पिटबुलले हान्या र्‍याप जसरी मिसिन्थ्यो र सारा आनन्द चौपट पारिदिन्थ्यो । त्यसैले मलाई रेडियो नेपालले नै आकषिर्त गथ्र्यो । रेडियो नाटक र त्यससँग सम्बन्धित केही कुराहरू विशेष लोकपि्रय थिए । मदनदास श्रेष्ठको ‘राक्षसी’ हाँसो, जितेन्द्र महत अभिलाषीको लामो दु:खी सुस्केरा अनि लोकमणि सापकोटाको ओजपूर्ण आवाज । अलि पछि किरण खरेल र धन लामाको अनौपचारिक रोमान्टिक प्रस्तुतिले पनि मलाई चमत्कृत बनाएको थियो । फर्माइसी कार्यक्रमअन्तर्गत बज्ने नेपाली र हिन्दी गीतहरू मात्र नभई मलाई तिनमा प्रयोग भएका बाजागाजासमेत मुखाग्र हुन्थे । तीमध्ये कति त म अहिले पनि मुखैले सबै बाजाको आवाजसमेत निकालेर गाउन सक्छु । गीत बज्नुअघि त्यसलाई फर्माइस गर्नेहरूको नामको लामो लर्को सुन्ने धैर्य पनि मानिसहरूमा हुन्थ्यो । वीरगन्जबाट हरेक दिन हरेक गीत फर्माइस गर्ने एकजना कुर्वान हवारी भन्ने मानिस त राष्ट्रिय सेलेबि्रटी नै थिए ।

हाम्रा एकजना काकाले रेडियोमा कसैलाई चिनेका थिए । एक दिन गीतको फर्माइसमा आफ्नो नाम पढ्न लगाइदिनका लागि मैले उनीसँग अनुनय विनय गरें । मैले उनको चार आना घडेरी नै मागेको जस्तो गरी उनले हेरौंला भने । केही दिनपछि उनले राति कुनै बेला मेरो नाम आउँछ भन्ने जानकारी दिए । मैले उत्साहित हुँदै सोधें, ‘कुन गीतमा काका ? ठ्याक्क कति बजे आउँछ भन्नुस् त, म साथीहरूलाई पनि सुन्न भन्छु के ।’ उनले खाउँलाजस्तो आँखाले मलाई हेरेर हकारेे, ‘तैंले भनेको गीत र टाइममा तेरो नाम पढ्नलाई रेडियो तेरो बाउको हो र फलान्थोक ? सुन् न बेलुकाको कार्यक्रमहरू । कुनै न कुनै गीतमा आइहाल्छ नि ।’

आफू परियो आठ बजेपछि जुन अवस्थामा भए पनि त्यहीं नै घप्लक्क परेर निदाउने मान्छे । तैपनि रेडियोमा नाम सुन्ने लालसामा मैले झुप्पझुप्प हुँदै करिब साढे दस बजे आफ्नो नाम सुनें । मन्ना डेको मैले कहिले पनि नसुनेको र मलाई त्यतिबेला झ्याउ लाग्ने कुनै एउटा गीत मैले फर्माइस गरेको रहेछु । तर पनि त्यो बेला म कति रोमाञ्चित भएँ भन्ने कुरा भनिसाध्य छैन । भाले बास्ने बेलासम्म पनि सञ्चालकको स्वर मेरो कानमा गुन्जिरहेको थियो ।

‘…र त्रिपुरेश्वर काठमाडौंबाट ब्रजेश खनालले पनि यही गीत सुन्न चाहनुभएको छ ।’

काकाको सोर्सफोर्सले हो वा त्यतिबेलाको चलन नै त्यस्तो हो कुन्नि तर दैनिक पत्रिकामा राशिफल पालैपालो कहिले कुन राशिको कता कहिले कुन राशिको कता गरेर घुमाइघुमाई छापेजस्तो मेरो नाम पनि थरीथरी कार्यक्रममा थरीथरी गीतका लागि बज्न थालेछन् । साथीभाइ वा परिचितहरूले कहिलेकाहीं मेरो नाम रेडियोमा सुनेको बताउँदा म गजक्क पर्थें । त्यसले त झन् रेडियो नशालाई आगोमा घिउ थप्ने पो काम गर्‍यो ।

‘आऊ मेरा प्यारा भाइबैनीहरू…..रेडियोको अझै नजिक आऊ’ वासुदेव मुनालको सम्मोहनयुक्त स्वरले जब साँझ बालकार्यक्रम सुरु हुन लागेको उद्घोष गर्दथ्यो, म साँच्चै रेडियोको अझ नजिक सर्थें । आफ्नो स्वरमा कविता रेडियोमा सुन्न पाए कस्तो होला भनेर म निकै कल्पन्थें । काकासँग गएर घडेरीसँगै मैले एउटा टहरो पनि मागें । उनले बाल कार्यक्रम रेकर्ड हुने दिन र समय पत्तो लगाएर ममाथि जनी गरिदिए ।

मैले बाल कार्यक्रममा भाग लिएँ । रेडियोमा सधैं सुनिएका वासुदेव मुनाल प्रत्यक्ष अगाडि पर्दा मलाई साक्षात् विष्णु भगवान् देखेजस्तो उत्तेजना भएको थियो । केही पुराना घाग र केही मजस्ता नयाँ उत्साहीहरूलाई लिएर उनी स्टुडियोभित्र पसे । झ्यालढोका नभएको आवाज बाहिर नजाने स्टुडियो र त्यहाँ भएका प्राविधिक उपकरणहरूको पहिलो दर्शनले मेरो सातो खाएका थिए । चन्द्रमा पुग्दा निल आर्मस्ट्र के त्यति मन्त्रमुग्ध भएका होलान् जति स्टुडियो टेक्दा म बबुरो भएको थिएँ । हल्ला नगर्नू, स्याँक्कसुँक्क, खाकखुक केही गर्न हुँदैन नत्र गर्धनको पछाडि अर्धचन्द्राकार बनाएर घोक्रेठ्याक लगाइन्छ भन्ने कुरा शिष्ट भाषमा पहिले नै बताइएको थियो । मलाई त झन् घरी खोकी लाग्लाजस्तो, घरी हाच्छिउँ आउलाजस्तो हुन थाल्यो । लघुशंका, दीर्घशंका सबैथोकले एकैपटक च्यापेको जस्तो पनि हुन थाल्यो । मानिसभित्र एउटा इच्छाशक्ति भन्ने कुरा पनि हुन्छ भन्ने कतै सुनेको थिएँ । त्यस दिन मैले पहिलोपल्ट मभित्र पनि त्यो रहेछ भन्ने थाहा पाएँ र मजाले त्यसको उपयोग गरें ।

खण्डकाव्यभन्दा अलिकति मात्रै छोटो मेरो कवितालाई वासुदेव दाइले काटकुट पारेर हाइकुभन्दा अलिकति मात्रै लामो बनाइदिएका थिए । विदेशमा आफ्नो देश सम्झेर व्याकुल हुने कुनै एउटा माइलाको मनोभावना बोकेको त्यो कविता मैले आफ्नो पालो आएपछि जनकपुर जयनगर रेलको जस्तो द्रुत गतिमा पढेर भ्याइदिएको थिएँ । केही दिनपछि रेडियोमा त्यो सुन्दा खुसीले, आफ्नो स्वरको विरहले वा कवितामा घोलिएको करुण रसको अत्यधिक मात्राले हो, मेरा आँखा टिलपिल भएका थिए । तर सँगै बसेर सुन्ने साथीहरूचाहिँ मरिमरि हाँसेका थिए । त्यसपछि त बालकार्यक्रमको म नियमित भनेजस्तो खेलाडी भएँ । कहिलेकाहीं स्कुलमा शिक्षकहरूले पनि रेडियोमा मेरा कविता र लघुकथा सुनेको कुरा गर्दा मेरो तामे ढुकुरको जस्तो बीस इन्चको छाति गर्वले फुलेर घोर्ले ढुकुरको जस्तो बाइस इन्चको हुन्थ्यो । तर एक दिनको एउटा घटनाले मेरो बाल कार्यक्रमको यात्रामा पूर्णविराम लगाइदियो ।

त्यस दिन हामी रेकर्डिङ सकाएर घर र्फकन लागेका थियौं । रेडियो नेपालको त्यति बेलाको नयाँ भवनअघि चौरको पर छेउमा एउटा काठको टिनले छाएको गोलो बस्ने ठाउँ थियो । एकजना मान्छे त्यहाँ गम्भीर मुद्रामा क्षितिज हेरेर टोलाइरहेका थिए । मसँगै भएको एउटा दौंतरीले टक्क अडेर त्यतै हेर्दै भन्यो, ‘लोकमणि सापकोटा हैन त्यो ?’

मैले आँखा चिम्सा पार्दै हेरें । नभन्दै हो रहेछ । केही समयअघि ‘कुमारी’ नामको नेपाली फिल्म आएको थियो । त्यसमा उनले एउटा असफल प्रेमीको भूमिका गरेका थिए । हाम्रो मानसपटलमा उनले गरेको आत्महत्याको जीवन्त अभिनय ताजा नै थियो । उनले मर्नुअघि छोडेको पत्र पृष्ठभूमिमा उनकै रोवदार आवाजमा हलमा बजेको थियो ।

‘म मरें त आफ्नै कारणले, यसमा तिम्रो कुनै दोष छैन शोभा…’

त्यति बेला नेपाली फिल्ममा अनुहार मात्र देखिएका मान्छेलाई पनि अर्को फिल्म नआउन्जेल सबैले चिन्थे । त्यसमाथि लोकमणि सापकोटाको प्रभावशाली अभिनय । सिने अभिनेतालाई पहिलोपटक वास्तविकतामा देख्न पाएको मेरो उपद्रयाहा दिमागमा एउटा आइडिया आयो । मैले परैबाट उनको त्यही संवाद कराएर सुनाएँ, ‘म मरें त आफ्नै कारणले, यसमा तिम्रो कुनै दोष छैन शोभा ।’

उनले सुनेनन् वा वास्ता गरेनन् थाहा भएन । उनी पूर्ववत् आकाशै हेरिरहे । बाघ निदाएको छ भनेर मुसाहरू नजिक गएजस्तो हामी पालैपालो झन् ठूलो स्वरमा कराउँदै अघि बढ्न थाल्यौं । उनी बेवास्ता गरेर बसिरहेका थिए । हामी अब चार पाँच पाइला मात्र नजिक थियौं । उनको ढाड हामीपट्ट िफर्केको थियो । कराउने पालो मेरो थियो । मैले घाँटीको नशा छिन्लाजस्तो गरी सकेसम्म ठूलो आवाजमा चिच्याइदिएँ । जान्ने भएर अन्त्यको शोभालाई चारपटक झनै चर्को स्वरमा दोहोर्‍याइदिएँ, ‘शोभा…शोभा…शोभा…शोभा ।’

अचानक शान्त बाघ जुरुक्क उठेर हामीतिर जाइलाग्यो, ‘पख् फलान्थोकहरू… आज तिमीहरू मेरो हातबाट मर्‍यौ ।’

हामी बुर्कुसी मारेर त्यहाँबाट कुलेलम् ठोक्यौं । उनले हामीलाई रेडियो नेपालदेखि झन्डै पाँच छ सय मिटर पर परराष्ट्र मन्त्रालयको भवनसम्म लखेटे । त्यसपछि हामीलाई निकै समय सिंहदरबारभित्र छिर्ने आँट आएन । हुन त उनले हामीलाई के चिन्थे होला र । चिने पनि के नै गर्थे होला र । हामीले रेडियो जान छोड्यौं । अलि समय छुटेपछि लतले खसखस हुन छोड्दो रहेछ । मलाई पनि बिस्तारै रेडियोको तलतलले छोड्यो । सुन्नचाहिँ छोडिनँ ।

त्यसको निकै समयपछि १०० मेगाहर्जमा एफएम कार्यक्रम सञ्चालन गर्नका लागि फेरि रेडियो नेपालले मलाई तानेर लग्यो । लोकमणि सापकोटा जहाँ बसेर आकाश हेरिरहेका थिए, त्यो ठाउँ बाँकी थिएन । तर सम्झना अचानक ज्यूँका त्यूँ भएर फक्र्यो । त्यो पुरानो घटना सम्झेर एक्लै मुसुक्क हाँसें, अनि स्टुडियोभित्र छिरें ।

प्रकाशित मिति: २०६८ श्रावण २८ ०३:१९

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s