डरको डर

नेपाल साप्ताहिकको मेरो स्तम्भ ‘बायाँ फन्को’ बाट

केही दिनअघिको कुरा हो, बिहान चाँडै निन्द्रा खुलेको हुनाले यसै यताउता भौँतारिँदै गर्दा कुनै जाँगरिलो मान्छेले झिसमिसेमा नै खोलेको चियापसल देखा पर्‍यो।

बिहानको अलिअलि चिसोमा केतलीबाट निस्केको बाफले नै चिया मीठो होला भन्ने लागिरहेको थियो। त्यही चिया पसलको अलि पर ट्याक्सीहरू रोकिने ठाउँ रहेछ। ग्राहकको प्रतीक्षामा बसेका चालकहरू पनि चिया सुर्क्याउँदै गफ गरिरहेका थिए। कसको गाडीको के बिग्रेको थियो, कसले हिजो कति कमायो, कुन यात्रुले पैसाको कुरामा किचलो गर्‍यो, कुन चालकले छोटो दूरीमा नै कति ढडायोजस्ता कुराहरू भए पनि कहिलेकाहीँ उनीहरूका अनुभवहरू रमाइला हुने गर्छन्। एक जना चालक भन्दै थिए,
“हिजो राती एउटाले मेरो गाडीमा मोबाइल सेट नै खसालेर गयो नि !”
“ए हो ? खै त देखा, हेरौँ हेरौँ कस्तो रहेछ ?” अर्का चालक उत्सुक भए।
“नोकियाको राम्रै सेट थियो। तर, त्यसले पछि फोन गर्‍यो, मैले बोलाएर फिर्ता दिएँ।” “कस्तो मूर्ख रहेछ ! खुरुक्क सिमकार्ड निकालेर बेच्द्या भए भइहाल्थ्यो नि !”
“आ… के त्यति जाबोमा आफ्नो जात फ्याल्नू !” फिर्ता दिनेले भने।

अचेल त्यति इमानदारी र नैतिकता भएको मानिस भेटिनु भनेको पनि रमाइलो नै कुरा हो भनेर मनमनै गम्दै गर्दा ती इमानदारले बोलेको अर्को वाक्य कानमा ठोक्कियो,
“जाबो पाँच-सात हजारको सेट खाएर के गर्नू ?”
अगाडि भन्दै थिए,
“टाढाटाढा गइरहनुपर्छ टि्रप लिएर। मेरो सेट खाने मोरा मरजिाओस् भनेर सराप्यो भने के गर्नू ? तथास्तु भनेको बेलामा परेर गाडी त्रिशूलीतिर खस्यो भने बेक्कारमा !” सबै जना गललल्ल हाँसे।

उनीहरूको कुराकानी नेपाली कांग्रेसको महाधिवेशनले बाटो जाम भएर दिक्क भएतिर मोडियो। मेरो मगजमा भने श्रापको डरले मोबाइल फिर्ता गर्ने चालकको कुरा मात्र खेलिरह्यो। के हामीलाई राम्रो काम गर्न र नैतिकता नछोड्नका लागि डर नै चाहिने हो त ?

घोत्लिँदै जाँदा त डरको बडो ठूलो महत्त्व पो हुँदो रहेछ भन्ने लाग्न थाल्यो। हामी जन्मेर हुर्कन थालेपछि, जतिजति बुझ्ने हुँदै जान्छौँ, दोहोरो शिक्षा पाउँदै जान्छौँ। केटाकेटीका रूपमा जब हामी अँध्यारोसँग डराउँछौँ, हामीलाई डराउन हुँदैन भन्ने सिकाइन्छ। अनि, अर्कोतिर हामीले ढिपी गरेर कुनै कुरा नमान्दा भूत आउँछ, राक्षसले लैजान्छ वा पुलिसले थुन्छ भन्नेजस्ता डर देखाएर त्यो कुरा मान्न लगाइन्छ। पढेन भने दुःख पाइन्छ, मागेर खानुपर्छ भन्ने डरले हामीलाई किताब र कपी समाउन प्रेरति गर्छ।

‘नबिराउनू, नडराउनू’ भन्ने उखान हामीलाई सुनाइन्छ तर त्यसैको पछाडि पनि बिरायो भने के हुन्छ भन्ने कुराको डर लुकेको हुन्छ। मान्छे डराउनुपर्छ। हरेक मान्छे डराउँछ। डरले नै मान्छेलाई राक्षस बन्न दिँदैन। डरले नै मान्छेलाई सत्कर्म गर्न लगाउँछ। डरले नै मान्छेलाई पाप गर्नबाट रोक्छ, अपराध गर्नबाट रोक्छ। डर नहुने हो भने मान्छे मान्छे रहँदैन। उसले अरूका लागि सोच्दैन। अरूको भलो गर्दैन। डर नहुने मान्छे चिसो हुन्छ, भावना र संवेदना नभएको पत्थर हुन्छ डर नभएको मानिस। सायद यही कुरा थाहा भएर नै प्रकृतिले मान्छेमा डराउने तत्व हालेको हुनुपर्छ। सायद त्यसै भएको हुनाले मान्छेको चेतनाको विकाससँगै विभिन्न धर्मका नाममा पनि व्यक्तिगत, पारिवारिक र सामाजिक आचरणका नालीबेलीहरू बनेका होलान्।

हाम्रो जीवनका हरेक पक्षसँग केही न केही डर जोडिएका हुन्छन् र कुनै यन्त्रलाई राम्ररी चल्नका लागि निर्देशित गर्ने कुनै न कुनै केन्द्रीय नियन्त्रण प्रणालीजस्तै मान्छेलाई सही बोल्न, सोच्न र सही काम गर्न डरले निर्देशन गर्छ, नियन्त्रण गर्छ। डराउने मान्छे सफल हुँदैन भन्ने विचार पनि आफैमा भ्रामक र गलत विचार हो। किनभने, सफल हुनु भनेको नै असफलतासँग डराउनु हो। डुबिएला भन्ने डर नहुन्जेल मान्छे पौडन सक्दैन। खसिएला भन्ने डर नहुने हो भने मान्छेले उचाइलाई कहाँ जित्न सक्छ अनि कहाँ सक्छ सगरमाथाको टुप्पोमा पाइला टेक्न ? प्रतिस्पर्धाको डर नहुने हो भने न मान्छेले व्यापार गर्न सक्छ, न जागिरमा पदोन्नति गर्न सक्छ। एकलौटी बजार पाइरहेको उत्पादन कसरी नीच मारेर बस्छ र प्रतिस्पर्धा हुनासाथ कसरी आफ्नो गुणस्तर बढाउनतिर लाग्छ भन्ने कुरा संसारमा पटकपटक देखिएकै हो। व्यक्तिगत सम्बन्धमा पनि एकअर्कासँग डर नहुने हो भने त्यो सम्बन्ध कहाँ टिक्न सक्छ र ? डर भएन भने के हुन्छ त ? जनताको डर नभएका नेताहरू कस्ता हुन्छन्, तिनको आचरण र कर्म कस्तो हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण त हाम्रो पिँढीले अहिले प्रत्यक्ष देखिरहेको छ।

नडराउने मान्छे पो बरु समाजका लागि खतरनाक हुन्छ। अपराधी, चोर, फटाहा, डाँका, बलात्कारी, ठग, ज्यानमारा, भ्रष्टाचारी, घूसखोर र तानाशाहहरू भनेका डरलाई मिचेका मान्छेहरू नै बन्छन्। तर, त्यो सबै बनेकालाई पनि फेला पर्ने र समातिने डरले त छोडेको हुँदैन। अनि, त्यो डरलाई जित्नका लागि उनीहरू अझै ठूला कुकर्महरू गर्न थाल्छन्। हिंसा र बलका भरमा शक्ति हत्याएका राणाशासकहरू अरू कसैले आफ्नै बाटो अपनाउला भन्ने डरले रातैपिच्छे फरक कोठामा सुत्थे रे भन्ने पनि हामीले पढेका नै हौँ। क्रूरताका लागि कहलिएका हिटलरजस्ता मानिसको जीवनी पढ्ने हो भने पनि भित्रभित्र उनी कति त्रस्त थिए भन्ने कुरा थाहा हुन्छ। जीवनकालमा तीनपटक आत्महत्याको प्रयत्न गर्ने र अन्ततः आत्महत्या गरेर नै मर्ने मान्छे निडर त पक्कै होइन। बरु आफ्नो परिणतिसंग उनी पहिले नै डराउन सकेको भए के थाहा ती लाखौँ यहुदीहरू ग्यासच्याम्बरमा पोलिने थिएनन् कि ? कुनैबेला सिंहनाद गरेर हिँड्ने सद्दाम हुसेनजस्ता मान्छे किर्किटको खाल्डोमा च्यापमा परेको मुसाजसरी गिरफ्तार हुनुपर्दा के डराएका थिएनन् होला र ?

डर भएको मान्छेले कुकर्म गर्दैन। तर, डरलाई जितेर कुकर्म गर्नेहरू आफैँले जितेको डरसँग डराएर बस्नुपर्छ। त्यसैले, अन्ततोगत्वा डराउनैपर्छ भने पहिले नै डराएर मानिसले सत्कर्म किन नगर्ने ?

Advertisements

3 thoughts on “डरको डर

  1. “डरलाई जितेर कुकर्म गर्नेहरू आफैँले जितेको डरसँग डराएर बस्नुपर्छ। त्यसैले, अन्ततोगत्वा डराउनैपर्छ भने पहिले नै डराएर मानिसले सत्कर्म किन नगर्ने ?”
    सार्है नै शुन्दर सत्य लेख्नु भयो ।
    हार्दिक धन्यबाद ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s