मिडनाइट हट

नागरिक दैनिकको “अक्षर”मा प्रकाशित मेरो कथा

उमेरको झण्डैझण्डै पचास वर्ष छुनेबेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ। उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन। जागीरमा सुब्बा भएको कारण उनलाई साथीहरु सबैले सुब्बा सुब्बा भन्दा भन्दै अहिले त उनलाई नै पनि आफ्नो नाम त्यही जस्तो लाग्न थालेको छ।

रातभरि पनि उनी राम्ररी निदाउन सकेनन्। निदाउन निदाउन खोज्यो, सपनामा त्यही कुरा देखेर झसंग भएर ब्यूँझिहाल्थे सुब्बासाब। आज बिहानैदेखि सुब्बासाब उत्साहित छन्। उत्साहित मात्र होइन, उत्तेजित पनि भन्नुपर्ला। अनि अलिअलि डर पनि छ उनलाई।

सुब्बासाब अल्छी मान्दै उठेर बाथरुममा छिरे। धारा खोलेर पानी छाम्दै उनले मनमनै सोचे,
पानी त बेस्करी चीसो रहेछ। नतताइ त नुहाउन सकिन्नं होला।

यही तल्लामा अरु तीनथरि मान्छेहरु डेरामा बस्छन्, सबैलाई बिहान चटारो हुन्छ। त्यसैले नित्यकर्म भ्याउन पनि गाह्रो हुने गर्छ। नुहाउनका लागि त लामै योजना बनाएर त्यसलाई कार्यरुप दिनुपर्ने बाध्यता आफ्नै ठाउँमा छ। धारोमा कहिले कहीं मात्र हो पानी आउने, त्यसैले परको सार्वजनिक टंकीमा लाइन पनि लाग्नुपर्छ नुहाउने पानी ओसार्न। हुन त दुइ दिन अघिमात्र हो उनले नुहाएका। अरु बेला भए त्यति धेरै दुःख गरेर यति छिटो उनी नुहाउने थिएनन्। तर आज त जसरी भए पनि नुहाउनै पर्छ। काखीसाखी गन्हायो भने त बर्वाद हुन्छ।

उनी दुइवटा बाल्टिन बोकेर त्यतातिर लागे। बिहान राम्ररी भएको पनि थिएन त्यसैले पन्ध्रवटा जति भाँडाको पछाडि डोरीमा आफ्नो बाल्टिन छिराएर सुब्बासाब नजीकैको चिया पसल तिर लस्के। त्यहाँ साहुनीले मरीच हालेको मीठो चिया पकाउँछे। उनलाई ती २८, ३० वर्षकी साहुनी आकर्षक र सुकुमारी लाग्छे। उसका कुराहरु सुन्दा अलिअलि बुद्धि पनि भएकी जस्ती लाग्छ। उसको ट्याक्सी चलाउने मुस्टण्डे लोग्नेलाई नुसुहाउँदी देखिन्छे ऊ। अनि खास कुरा चाहिँ चिया पसलमा काम र गफ दुबै गर्दा ती सुकुमारी जता फर्के पनि सुब्बासाबका आँखाहरुलाई बिहानबिहानै स्वप्निल बनाउने कुराहरु भगवानले सुकुमारीलाई कन्जुस्याईँ नगरिकन दिएका छन्।

मुस्टण्डे सखारै ग्राहक कुर्न पर चोकमा पुगिसकेको हुन्छ। चियापसलमा खूबै भीडभाड हुन्छ। टोलका अधिकांस आफूजस्तै मान्छेहरु सुब्बासाबले त्यहाँ देख्ने गरेका छन्।

खासमा सुब्बासाब आफै चिया पकाएर खाने गर्थे तर एक दिनको सामान्य घटनाले उनलाई बिहानबिहान त्यहाँ जाने बानी लगायो। अघिल्लो दिनको दूध घरमा बाँकी थिएन त्यसैले उनी दूध किन्न बाहिर आएका थिए तर पसल खुलेको रहेनछ। सुब्बासाबको आँखा अनायासै चिया पसल र ती सुकुमारी साहुनीमा पर्न गएको थियो। चियाको तलतल वा ती साहुनीको आकर्षणले तानिएर हो कुन्नि उनी त्यहाँ गएका थिए।

सुब्बासाब एक्लै बस्छन्। उनकी श्रीमती गाउँमा सानो खेतीबाली सम्हालेर बसेकी छिन्। उनलाई शहर आएर बस्ने रहर पटक्कै थिएन। बर्षमा मुश्कीलले एकपटक सुब्बासाब गाउँ जाने गर्थे। बर्षौंदेखि यही नियमित चक्रमा उनको जीवन चलिरहेको थियो। उनीहरुका कुनै सन्तान भएनन्। प्राकृतिक रुपमा सबै जीवले गर्ने साधारण भन्दा बढी प्रयास पनि उनीहरुले खै किन हो गरेनन्। उनीहरुको बीचमा औपचारिकता भन्दा बढी अरु सम्बन्ध भएन। गाउँमा भएको बेला राति अँध्यारोमा मात्र सुब्बासाब आफ्नी श्रीमतीलाई आफूतिर तान्थे अनि उनी पनि लोग्नेको शरीरको आवश्यकता साम्य पार्न श्रीमती हुनुको कर्तव्य मौन र निश्चल भएर पूरा गर्थिन्। तर मधुमेहको रोगले श्रीमतीलाई बेस्सरी गालेपछि उनीहरुको सम्बन्धमा त्यो औपचारिकता पनि नरहेको ५ वर्ष भैसकेको थियो। सुब्बाको तलब, घूस नखाने प्रण, साधारण सोच र जीवनशैलीका कारण शरीरको त्यो भोक उनले मारेर बसेको पनि त्यति नै समय भएको थियो। उनी अब त त्यो सब चीजका लागि आफू बूढो भैसकेको सोच्न थालेका थिए।

तर त्यो दिन चिया पसलमा उनको त्यो भ्रम भंग भएको थियो। कुरा त सानै थियो। उनी चिया खान छिरेका थिए। सुकुमारी साहुनीले चिया पकाएर उनलाई दिने बेलामा साहुनीका औंलाहरुले सुब्बासाबका औंलामा स्पर्श गरेका थिए। सुब्बासाबलाई झननननन्न करेण्ट लागेजस्तो भएको थियो। लामो समयपछि कुनै नारीको स्पर्शले हो वा ती सुकुमारी साहुनीका औंलाहरु अत्यन्तै मुलायम भएकोले हो, उनले खुट्याउन सकेनन्। त्यसपछि साहुनी आफ्नै काममा व्यस्त भएकी थिइन् तर चिया सुर्काउँदै सुब्बासाब उनलाई नै हेरिरहेका थिए। जुन नारीको औंलामात्र त्यति उत्तेजक थियो, तिनको सिंगै हात समातेर सुम्सुम्याउन पाए कस्तो लाग्छ होला? उनले सुकुमारीका हातहरु नियालेर हेरेका थिए। जतन गर्न नपाएका हातहरु त त्यति सुन्दर, औंलाहरु सलक्क सलक्क परेका थिए भने त्यसै पनि कोमल हुने तिनका अरु अंगहरु झन् कस्ता होलान्। सुब्बासाबले आफू भित्र मरिसक्यो भन्ठानेका भावहरु जुर्मुराउन थालेको अनुभव गरेका थिए। म्याक्सी लगाएकी साहुनी ढाड फर्काएर स्टोभमा दम दिन अलिकति निहुरिएको बेला तिनको नितम्बमा सुब्बासाबको आँखा एकतमासले टाँसिइरहेका थिए। त्यो बेला हो कि होइन भने जस्तो गरि साहुनीको भित्री लुगाको रेखा पनि देखिएको थियो। सुब्बासाबका आँखाहरु कुनै एक्स रे मेशिन जस्ता हुन पुगेका थिए र उनको कल्पनामा ती साहुनी भित्री लुगामा मात्र देखा परेकी थिइन्। आफूलाई नियन्त्रण गर्न हतारहतार चिया सकाएर पैसा तिरेर सुब्बासाब त्यहाँबाट निस्केका थिए।

त्यस दिनभर उनलाई काममा मन लगाउन गाह्रो भएको थियो। अन्न, पानी र हावा जस्तै शरीरको त्यो भोकको पनि महत्व हुन्छ भन्ने सुब्बासाबले पढेका थिए। त्यो पूरा भएन भने पनि त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा दूरगामी प्रभाव पार्छ रे भन्ने पनि उनले सुनेका थिए। उनी दिनभरि घोत्लिएका थिए। घुँडाको जोर्नी बेलाबेला दुखेर चलाउनै नहुने हुने गरेको बर्षदिन जति भएको थियो। कहिलेकहीं बेस्सरी टाउको दुख्ने गर्थ्यो अनि आफै हराएर पनि जान्थ्यो। बेलाबेला फाइलहरु राखेको ठाउँ बिर्सेर धुईँधुइँती खोज्नु पर्ने पनि भैरहेको थियो। अनि बिना कुनै कारण बेलाबेला सुब्बासाबलाई टेन्सन हुने गर्थ्यो। कतै यो सबै त्यही कारणले त हैन भन्ने उनलाई लाग्न थाल्यो। त्यसदिन उनको मनस्थिति शायद संगै काम गर्नेहरुले पनि हेक्का गरेछन् क्यार।

“सुब्बासाबलाई आज सञ्चो छैन कि क्या हो? अनुहार मलीनो देख्छु नि”
चलानीकी बिवाहित महिलाले सोधेकी थिइन्।

“हैन, ठीकै छ, त्यस्तो केही हैन।”
पुलुक्क उनलाई हेर्दै उनले भनेका थिए। ती महिला आफ्नै काममा व्यस्त भैसकेकी थिइन् तर सुब्बासाब उनलाई हेरेर सोच्दै थिए, तिनले भित्र के लगाएकी होलिन्? उनले आफ्ना आँखा र सोच दुबैलाई त्यताबाट हटाएर काममा लगाउन खोजेका थिए।

दिउँसो क्यान्टिनमा खाजा खाने बेला उनका अलि तन्नेरी सहकर्मीहरुका कुरामा उनको कान पर्न गएको थियो। उनीहरु राति अबेर फेसन टिभीमा आउने मिडनाइट हट भन्ने कार्यक्रमको बारेमा छलफल गर्दैथिए।

“क्या फिगर हुन्छ यार तिनीहरुको।”
“कुनैकुनैले त यार माथि केही पनि लगाएका हुँदैनन्।”
“कति पैसा कमाउँछन् होला हगि तिनीहरुले?”
“बाहिर हिंडडुल गर्न अप्ठ्यारो लाग्दैन होला तिनीहरुलाई भन्या।”

त्यस रात अबेरसम्म सुब्बासाबलाई निन्द्रा लागेन। अँध्यारो हुनै नपाइ घुप्लुक्क सुत्ने बानी भएका सुब्बासाब लोडशेडिंग सकिएर बत्ती आउँदा पनि व्यूँझै नै थिए। अनि अनायास उनले आफ्नो चौध इन्चको श्यामश्वेत टिभीको च्यानलहरु खोतल्न थालेका थिए। उनलाई खासै टिभी हेर्ने रहर लाग्दैनथ्यो त्यसैले पुरानो टिभी उनले फेरेका पनि थिएनन्। फेसन टिभीमा गएर उनी अडेका थिए र मिडनाइट हट भन्ने कुन बेला आउँछ भनेर कुर्न थालेका थिए। जब त्यो आयो, सुब्बासाबलाई त्यस रात अचम्मका अनुभूतिहरु भए। त्यो कार्यक्रममा देखिएका विदेशी युवतीहरु घरिघरि चलानीकी महिला र सुकुमारी चिया साहुनीमा परिणत हुन खोज्थे। उनलाई आफ्नो जीउ ज्वरो आएको बेला जस्तै रन्केको आभाष भैरहेको थियो।

स्कूल सक्नासाथ उनको बिहे भएको थियो, सुब्बा साबले त्यस रात स्कूलजीवन पछि नगरेको एउटा काम गरेका थिए। निदाउने बेलामा एकातिर किन मैले यो काम छाडेको रहेछु भन्ने पनि लागेको थियो उनलाई, अर्कोतिर आत्मग्लानि पनि भएको थियो।

त्यस रातपछि उनी नियमित रुपमा फेसन टिभी र विदेशी सिनेमाका च्यानलहरु हेर्न थालेका थिए। एउटा रंगीन टिभी पनि किनेका थिए उनले। मानसिक रुपले सुब्बासाब त्यसपछि झन्झन् बढी चंचल हुन थालेका थिए। ट्याम्पुमा कहिले कहीं कुनै युवती वा आकर्षक महिला संगै च्यापिएर बसेको बेला उनलाई आफ्नो गन्तव्य नै नआएदिए हुन्थ्यो भन्ने लाग्थ्यो। एकपटक बाहुला नभएको पातलो कुर्ता र जिन्सको पाइण्ट लगाएकी एउटी सुन्दर युवतीको सामीप्य पाएको बेला सिहंदरवारमा ओर्लने पर्ने उनी रत्नपार्कसम्मै पुगेका थिए। उनलाई झन्झन् एउटी नारीको सामीप्यको अभावले औडाहा हुन थालेको थियो। त्यसलाई नियन्त्रण गर्न उनले डिभिडी प्लेयर पनि किनेका थिए। उनी त्यसमा वयस्कहरुका लागि बनाइएका थरिथरि चलचित्रहरु ल्याएर हेर्न थालेका थिए तर ती चलचित्रहरुले उनलाई शान्त पार्नुको साटो झन्झन् बढी बिथोल्न थालेका थिए।

उनका सहकर्मीहरु मध्ये एक जना नारदजी कार्यालयको मर्दमा गनिन्थे। उनी यो मामिलामा पोख्त भएका हुनाले र धेरै महिलाहरुसंगको उनको निकटताका कारण अरु साथीहरु आफ्ना त्यसकिसिमका समस्याका समाधानका लागि नारदजीको भर पर्थे। नारदजीसंग यसकिसिमका हरेक समस्याको समाधान हुने गर्थे। बिस्तारै सुब्बासाबले पनि नारदजीसंग हेमचेम बढाउन थालेका थिए। त्यसैको फलस्वरुप काठमाण्डौको रात्रिकालीन जीवनसंग उनी परिचित पनि हुन पुगेका थिए। ४९ वर्षको उमेरमा उनले पहिलो पटक सम्पूर्ण नग्न नारी शरीर, त्यो पनि झलमल्ल उज्यालोमा नृत्य गरिरहेको हेरेका थिए। आफ्नै श्रीमतीलाई समेत त्यो रुपमा नदेखेका सुब्बासाब रोमाञ्चित भएका थिए। नारदजीसंग अलि पहिले नै मित्रता कायमगर्नुपर्ने रहेछ भन्ने पनि लागेको थियो। अनि त्यही मित्रताका प्रगाढताका कारण आज उनी नारदजीसंग धापासी पछाडि कतै विशेष ठाउँमा जाने भएका थिए।

“दाई…….चिया लिनुस्…”
सुकुमारी चिया साहुनीको स्वरले उनी झसंग भए। त्यो पहिलो दिनको स्पर्शसुख पछि जहिले पनि चिया लिनेबेला उनी जानीजानी साहुनीको हातको स्पर्श गर्ने गर्छन्। आज पनि त्यसै गरे। या त साहुनीले यो कुरा हेक्का गरेकी छैन, या थाहा नपाएजस्तो गरेकी हो। सुब्बासाबले साहुनीसंग बिस्तारै बिस्तारै कुराकानी गर्ने गरेका थिए। कोट्याइ कोट्याइ उनको परिवार र श्रीमानको बारे उनी सोधीखोजी गर्थे। कतै केही असन्तुष्टिका कुराहरु फुत्कन्छन् कि क्या हो क्या हो भन्ने उनलाई लाग्थ्यो। तर मोरी उसको मुस्टण्डे ट्याक्सी ड्राइभरसंग फिटिक्कै पनि गुनासो नभएझैं कुरा गर्थी।

“दाई भोलि, पर्सी र निपर्सी त पसल खुल्दैन है”
नियमित ग्राहकलाई उसले जानकारी दिई।

“किन र?”
सुब्बासाबले सोधे। मुस्टण्डेले उसलाई सौराहा घुमाउन लैजान लागेको रहेछ। सौराहा गएर उनीहरुले अरु के के गर्नेहुन् भनेर एकछिन सुब्बासाबले कल्पना गरे। हुन त अरु बेला पनि उनले मुस्टण्डे र सुकुमारीलाई लिएर तर्कनाहरु नगरेका होइनन्। त्यति बेला उनलाई मुस्टण्डेसंग डाहा पनि हुन्थ्यो। तर आज उनलाई नरमाइलो लागेन। आज नारदजीले उनलाई पनि अर्की सुकुमारी कहाँ लैजाने भएको थियो। खर्च चाहिँ त अलि चित्त दुख्ने नै थियो र उनले एक महीना अरु धेरै कुरामा मन मार्नुपर्थ्यो तर केही नगुमाइ केही कहाँ पाइन्छ र? त्यसमाथि नारदजीको अनुभवहरु सुन्दा उनलाई कुनै दुःख लागेको पनि थिएन।

अनुभव नगरि के थाहा हुन्छ र? त्यसपछि कहिले कति कसरी भन्ने कुरा निर्क्यौल गरौंला।
उनले आफ्नो मनलाई सान्त्वना दिएका थिए।

धारामा उनको पालो आउनै लागेको थियो। चियाको पैसा तिरेर उनी त्यता लागे। दुइ बाल्टिन पानी दुइतिर झुण्डाएर एउटा गीत गुन्गुनाउँदै उनी डेरामा पुगे। ग्यासमा दुइटै बर्नर बालेर पानी तताउन हालेर उनी आजको साँझ कस्तो हुने होला भनेर कल्पना गर्न थाले। पहिले केही कुराकानी त गर्नुपर्ला नि, जनावर जस्तो जाइलाग्न त हुँदैन होला। तर के कुरा गर्नु चिन्नु न जान्नुको मान्छेसंग। हुन त मेरो लागि पो यो नयाँ कुरा, उसका लागि त हैन नि। के कसरी भन्ने कुरा आफै भैहाल्छ होला नि। उनी अझै कल्पना गर्न थाले। तन्नाले छोपिएर घुसि्रनुपर्छ होला कि त्यत्तिकै नै पनि……। बत्ती निभाएर अँध्यारो बनाउनु त पर्दैन होला नि। उनकी श्रीमतीले त अँध्यारो नभै केही पनि मान्दिनथिई। अनि लुगा पनि खोल्न मान्दैन थिई। यसले त मान्छे होला नि। आफै खोल्छे कि खोलिदिनुपर्छ होला? अनि अँग्रेजी फिल्महरुमा जस्तो आफै गर्ली त? नत्र के भनेर भन्ने त्यसो गर्नलाई।

आगोमा बसालेको पानीमा त बल्ल काँडा उम्रने सुरसार गर्दै थियो तर सुब्बासाब भने भुकभुक उम्लिसकेका थिए। उनी जुरुक्क उठेर बाथरुम तिर गए। तर बाथरुम खालि थिएन। अनि अर्को डेरावाल पहिले नै पालो कुरिरहेको थियो। उनी कोठामा आए र झ्यालको पर्दा डम्म बन्द गरे। पानी तात्न केही नभए पनि २० मिनेट त बाँकी नै थियो।

अफीस पुग्दा आज उनको रवाफ नै अर्कै थियो। आफ्नो भएभरका लुगाहरुबाट छानेर उनले पार्टीमा जाने सबैभन्दा राम्रो लुगा लगाएका थिए। हजामकहाँ गएर कपालमा कालो पनि लगाएका थिए। कस्तो पात्तेको बूढो रहेछ भन्ने त मौका दिनुभएन नि। मुख ठस्स गन्हाउला भनेर बिहानदेखि सकसक मारेर चुरोट पनि खाएका थिएनन्। चलानीकी महिला मुसुक्क हाँसिन्,

“के हो सुब्बासाब आज त बेहुला जस्तो गजबसंग ठाँटिनुभएको छ, पार्टीसार्टी छ कि क्या हो?”

उनी मुस्काएर मात्र आफ्नो टेबलतिर लागे। नारदजीको टेबल खालि थियो। यतिबेलासम्म किन आएन नारद भनेर उनलाई अचम्म लाग्यो। बज्ज्या बिरामीसिरामी त परेन आजै? कि बिर्स्यो उसले? हैन हैन किन बिर्सन्थ्यो र? बोलीको कुरामा नारदजी पक्का मान्छे हो, जिम्मेवार छ। टरुाफिक जाममा परेको होला। एघारै मात्र त बजेको छ, अफीस आउने समय त हुँदैछ नि। उनलाई साह्रै चुरोटको तलतल लाग्यो। आ…..होस्, तानिदिन्छु एउटा। तीन चार बजेपछि नखाउँला बरु, अनि चुइंगगम चपाउँला जानेबेलामा। त्यसमाथि पनि अहिलेसम्म श्रीमतीको नजीक जाँदा यति कुरा सोचेको छैन जिन्दगीमा, त्यो मेरी को हो र?

क्यान्टिनमा गएर चियासंग चुरोटको धुवाँ उडाइरहेको बेला नारदजी पनि टुप्लुक्क आइपुगे। मुसुमुसु हाँस्दै उनले सोधे,
“तयार हैन त सुब्बासाब शिकार खेल्न जान?”

त्यसपछि दिनभर भनेजसो उनले खोतली खोतली नारदजीसंग के गर्ने कसो गर्ने भन्नेबारेमा जनकारी लिइ नै रहे। चार बजेतिर नारदजी उनलाई आँखा सन्काएर आफ्ना फाइलहरु थन्काउन थाले। उनी पनि हतारहतार आफ्ना फाइलहरु मिलाउन थाले। नारदजी र उनको बीचमा मात्र भनेर उनले किरिया खुवाएको अभियानको कुरा लौ त भनौं भने अफीसका सबै पुरुष कर्मचारीहरुलाई थाहा भैसकेको थियो भन्ने सुब्बासाबलाई भान थिएन। त्यही भएर उनीहरु निस्कने बेला सबैजना मुसुमुसु हाँसेको सुब्बासाबले थाहा पाएनन्। हुन त यसै पनि उनको ध्यान यताउति कहाँ थियो र?

मिडनाइट हटमा पनि त केही एसियनहरु देखिन्थे बेलाबेला। कुनै चाइनीज, कुनै जापानी, कुनै मलेसियन। त्यति बिरुनका त के होलान् र? त्यो टेम्पोमा बाहुला नभएको कुर्ता लगाउने जत्तिको भए भै हाल्यो नि। चिया पसलकी सुकुमारी सरह भए पनि हुन्छ। त्यति पनि नभए चलानीकी महिला जत्तिकोमा सम्म पनि चित्त बुझाउन पर्ला।

ट्याक्सी जाममा परेको समय पनि उनलाई एक युग जस्तो लाग्यो। एक त पैसा आफूले तिर्नुपर्ने, त्यसमाथि मधुमासको लागि आतुर भएको बेला यो व्यवधान। उनी फेरि आउने समयको मधुर कल्पनामा तल्लीन भए। रात आज उतै बित्ने त होला नि। कि फटाफट कामसाम सकाएर फर्कने हो, उनलाई दोधार भयो। पहिले त्यहाँको अवस्था हेरौं, मान्छे हेरौं अनि त्यही अनुसार निर्णय गर्नुपर्ला भनेर उनले निर्णय गरे।

त्यो एक तल्ले घर थियो। हेर्दा साधारणभन्दा पनि नराम्रो देखिन्थ्यो। सानासाना झ्यालहरु, बाहिरी भित्तामा प्लाष्टर मात्र भएको, अनि पानीका दागहरुले फोहोरी देखिने। शायद सुब्बासाबको भाव पढेर होला नारदजीले हाँस्दै भने,
“खोल नहेर्नुस् सुब्बासाब, गुदी हेर्नुस् गुदी। ओखरको बाहिर हेर्दा भित्र त्यति मीठो खानेकुरा हुन्छ भन्ने लाग्छ?”

सुब्बासाब गुदीको कल्पना गर्दे नारदजीसंग भित्र छिरे। बैठक कोठामा एउटी भद्दा महिला बसेकी थिईन् जसले बडो आत्मीयताका साथ नारदजीलाई स्वागत गरिन्।

“सर त धेरै दिनपछि पो आउनुभो, म त हामीलाई बिर्सनुभयो कि भन्ठान्या।”
“कहाँ बिर्सनु र तपाईंहरुलाई। अलि बेफुर्सदी भएर मात्र हो। मैले फोनमा भन्या साथी उहाँ नै हो, हाम्रो सुब्बासाब।”

तिनले माथिदेखि तलसम्म हेर्दा सुब्बासाबलाई सकसक भएर आयो।

“अनि नानीहरु को को छन् त?”
नारदजीले सोधे।

ती महिलाले भित्रतिर हेरेर बोलाएपछि पालैपालो तीनजना कोठामा आए। ती कोही पनि मिडनाइट हट, टेम्पोकी बिना बाहुलावाली सहयात्री, सुकुमारी साहुनी वा चलानीकी महिला जस्ता थिएनन्। राम्रै लुगा लगाएका थिए तिनीहरुले तर के के नमिले जस्तो। लिपष्टिक पो नसुहाएको हो कि? उनलाई तिनीहरुमा नारीमा हुनुपर्ने कोमलता कता कता नभए जस्तो लाग्यो। सुब्बासाबले नारदजीलाई पुलुक्क हेरे। नारदजीले आँखा सन्काउँदै भने,
“अप्ठ्यारो मान्नु पर्दैन, आफ्नै घर हो, को संग बस्ने हो भित्र जानुभए हुन्छ।”

सुब्बासाब अलमल परे। उनले सोचे जस्तो कोही पनि थिएनन्। तर अब यहाँसम्म आइसकेपछि त्यसै फर्कन पनि उनलाई मन लागेन। फेरि यहाँबाट कोमलताको कुरा के थाहा हुन्छ र, चिया पसल्नीको हात त्यस्तो मुलायम होला भन्न्ो कुरा छुनु अघि थाहा भएको थियो र? नारदजीले भनेजस्तै गुदी पो हेर्ने त। लामो सास फेरेर उनले ती मध्ये सबैभन्दा तरुनी जस्ती देखिने एकजनालाई हेर्दै भने,
“यिनको नाम के हो कुन्नि।”

सबैजना हाँसे, मानौं उनले कुनै चुट्किला सुनाएका हुन्। ती युवती बोलिन्,
“तपाईंलाई जे मन लाग्छ त्यही नामले बोलाए हुन्छ। हिंड्नुस् भित्रै गएर कुरा गरौंला।”

सुब्बासाब तिनको साथमा भित्र कोठामा जान उठे। अचानक उनको मन एक तमासको भएर आयो। उनी टक्क अडे। एक मन उनलाई फर्कूं फर्कूं पनि लाग्यो।

“शुरुशुरुमा यस्तै हो सुब्बासाब, ह्याकुलाले मिचेर जानुस्,बिस्तारै बानी पर्छ।”
नारदजीको बोली उनलाई अन्तरिक्षबाट आएजस्तो लागिरहेथ्यो। अनि ती भद्दा महिलाको हाँसो पनि।

भित्र कोठा पनि ओखरको खोलभन्दा फरक थिएन। कुनामा एउटा खाट, त्यसमाथि साधारण तन्ना। शायद नधोएको पनि धेरै दिन भै सकेको हुनुपर्छ।

“बस्नसु् न।”
ती नाम नभएकी युवतीले भनेपछि बस्नलाइ उनले नियालेर बेडमा हेर्दा त्यहाँ तन्नामा केही दागहरु पनि देखे। उनलाई विरक्त लाग्यो। युवती भने विना कुनै संकोच आफ्नो टिशर्ट खोल्दै थिई। सुब्बा साबलाई झन् उकुसमुकुस भयो। युवतीले भित्री पहिरन पनि खोलिसकेकी थिई र ऊ बेडमा लमतन्न परेर आफ्नो पाइण्ट खोल्न तयार भएकी थिई। ऊ ओठ गोलो पारेर कुनै दोहोरी गीतको भाका सुसेल्दै थिई। उसका झोलिएका स्तनहरु उदांगो भएका थिए र त्यो देख्दा सुब्बासाबलाई वाक्क आउला जस्तो भयो।

“म एकैछिनमा आएँ है?”
उत्तरको प्रतीक्षा नै नगरि उनी फटाफट त्यहाँबाट बाहिर निस्के। बाहिरी कोठामा नारदजी थिएनन्। उनी ढोकातिर लाग्दा ती महिला सोद्धै थिइन्,
“के भो सुब्बासाब? कहाँ जान लाग्नुभाको?”

नसुने झैं तल निस्केर कतै नहेरि उनी लम्कँदै चोकको टेम्पो पार्कमा पुगेर एउटा टेम्पोमा बसे। उनको मनमा अनेकांै कुराहरु खेलिरहेका थिए। भोलि नारदजीसंग के भन्ने हो उनलाई थाहा थिएन। शायद नारदजीले सबैलाई उनको नामर्दीपनको कथा सुनाएर उपहासको पात्र बनाउन सक्छन्। त्यही सोचमा उनले कुन बेला एउटी युवती आएर उनको छेउको खालि सीटमा बसिन् भन्ने पनि थाहा पाएनन्। टेम्पो चल्न थालेपछि तिनले लगाएको मधुरो अत्तरको बास्नाले मात्र उनी तन्द्रामुक्त भए।

“भाडा दिनुस् भाडा।”
केटो भाडा उठाउँदै थियो। ती युवतीले पैसा दिंदै भनिन्,
“लगनखेल।”

केटो तिनको फर्ता पैसा दिएर सुब्बासाब तिर उन्मुख भयो। सुब्बासाबले पचासको नोट बढाउँदै भने,
“लगनखेल।”

उनलाई ओर्लनु त खास आधा बाटो यतै चाबेलमा थियो।

सडकका खाल्टोहरुमा हल्लिंदै टेम्पो चलिरहेको थियो। सुब्बासाब आफ्नो तीघ्रा र कुममा ती युवतीको तीघ्रा र कुमको न्यानो अनुभूति गरिरहेका थिए। उनले लामो सास फेरेर आँखा चिम्ले।

सुब्बासाब निर्वस्त्र थिए। एउटा नारी शरीर उनको शरीरसंग रुखमा लहरा बेरिए जस्तो गरि बेरिएको थियो। त्यो शरीरको न्यानो उनको अंगअंगमा फैलिंदै थियो, रन्को बन्दै, अनि कुनै सुख्खा जंगलमा सल्केको डढेलो जस्तै। त्यो नारी शरीरको अनुहार चाहिँ एकपछि अर्को गर्दै परिवर्तन हुँदै गइरहेको थियो। कहिले त्यो मिडनाइट हटका एसियन केटीहरुको अनुहार हुन्थ्यो, कहिले सुकुमारी चिया साहुनीको, कहिले चलानीकी महिलाको, अनि कहिले टेम्पोमा उनका अनगिन्ती सहयात्री युवतीहरुको। झलमल्ल उज्यालोमा सुब्बासाब त्यो अनेकौं अनुहार र एउटै शरीर भएकी नारीको न्यानोमा डुबिरहेका थिए। अचानक बत्ती निभेर कोठा अँध्यारो भयो। अब उनले आफ्नो शरीरमा त्यो न्यानोको अनुभूति गर्दागर्दै पनि अनुहार चाहिँ चिन्न सकेनन्। आँखालाई अँध्यारोमा अभ्यस्त गर्दै उनले नियालेर हेरे।

त्यो अनुहार मधुमेहले चाउरिएकी उनकी श्रीमतीको अनुहार थियो। सुब्बासाबले झसंग भएर आँखा खोले,
लगनखेल आइसकेको रहेछ।

Advertisements

3 thoughts on “मिडनाइट हट

  1. साच्चैं मिठो अनि रोचक कथा पढाउनु भयो
    यस्तो लाग्यो ति सुब्बा सा’ब कतै मै त हैन
    तपाइको कथाले त पाठकलाई कथा भित्रै बांधिरख्छ
    धन्यबाद मिड नाईटहट्को लागि

  2. पढ्न त अक्षर मै पनि पढिएको थियो, आज फेरी पढियो । निकै गज्जब को छ ‘मिडनाइट-हट’ !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s