जित्नका लागि हार्नेहरु

२०६६ भाद्र  ७ गते नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” मा प्रकाशित

‘बाबुलाई भेट्न नदिने……….’    
कागजको एउटा टुक्रामा लेखिएको थियो, अनि त्यसैको मुनि लेखिएको थियो, कक्षा १ मा पढ्ने एउटी फुच्चीको नाम र रोल नम्बर। बाक्लो ऐनाले त्यो टेबलमा अरु पनि केही त्यस्तै कागजका टुक्राहरु थिचेर राखिएका थिए। कुनैमा आमाले भेट्न नपाउने, कुनैमा हजुरआमा वा हजुरबा प्रतिबन्धित भएका सूचनाहरु तिनमा किचिएका थिए। यस्तो लाग्थ्यो, ती कागजका टुक्राटाक्रीसंगै एकएक वटा तीता सम्बन्धका तिक्तताहरु पनि उकुसमुकुस भएर निस्सासिरहेका छन्, किच्चिरहेका छन्, छटपटाइरहेका छन्। केही दिन अघि एउटा आवासीय बिद्यालयमा काम विशेषले गएको बेला सम्बन्धित मान्छे फेला नपरुन्जेल मूलढोकाको नजीकै सुरक्षाकर्मीहरु बस्ने ठाममा कुर्दा देखिएको यो साधारण दृश्यले असाधारण रुपमा मथिंगलमा खैलाबैला मच्चायो। मगजबाट यसलाई सजिलोसंग पन्छाउन सकिएन।

हाम्रो समाज र मान्छेको सम्बन्धका अमीलो यथार्थ जस्ता लागे ती कागजका टुक्राहरु।

हुन त संसारका सबै सम्बन्धहरु धेरथोर सम्झौतामा नै अडेका हुन्छन्। ती सम्झौताहरुले कुनै पनि एउटा पक्षको सहनशक्ति भन्दा बढी माग गर्न थालेपछि भने मान्छेको सम्बन्धमा कटुता आउन थाल्छ। सम्बन्धहरु त्यसरी बोझ बन्न थालेपछि जीवनभर त्यो बोझलाई उठाएर त्यसको मन्तिर आफै किचीमिची हुनु भन्दा राम्रो हिसाबले अलग भएर आफ्नो आफ्नो बाटो हिंड्न पाउनु हरेक मान्छेको अधिकार हो। तर यो अधिकारका लागि त्यससंग गारुसिएका अन्य सम्बन्धहरुलाई सही निकास दिन पनि मान्छेले सक्नुपर्छ। त्यो एक जनाको प्रयासले भने सम्भव हुँदैन।

साधारणतया हाम्रो समाजमा यस्ता सम्बन्ध बिच्छेदका घटनाहरु संग आरोप प्रत्यारोप, विषवमन र सार्वजनिक तमासाहरु अनिवार्य फोसाको रुपमा आउने गर्छन्। आफ्नो सम्बन्ध बिग्रनासाथ अर्को पक्षलाई पूर्ण रुपले गलत देखाउनका लागि न्वारान देखिको बल लगाएर एउटा पक्ष लागिपर्छ। त्यो क्रममा जो बढी गुनासाहरु गर्दै आलाप विलाप गरेर भेटे चिने र देखे जति मान्छेसंग रुवावासी गरेर हिंड्छ, समाजको आँखामा ऊ नै सही हुन्छ। आफ्नो जिन्दगीका नितान्त व्यक्तिगत कुराहरु भनेको सार्वजनिक सरकोकारका विषय होइनन् भनेर सम्मानजनक मौनता अपनाएर बस्ने पक्षलाई तथाकथित समाजले ठाडै दोषीको पगरी गुथाइदिन्छ। अरुको आगोमा आफ्नो हात तताउने बानी भएको समाज यस्ता कुराहरु प्रति पटक्कै पनि सम्वेदनशील हुने गर्दैन।

यस्तै एक जना परिचित परिवारको एउटा सन्दर्भको सम्झना भयो। गलत ठाउँमा गाँसिन पुगेको सम्बन्धका कारण ती परिचित बिस्तारैबिस्तारै जर्जर भैसकेका थिए। तर त्यो सम्बन्धलाई अन्त्य गर्न उनलाई उनकै बाबुआमाले समेत सहयोग गरेनन्। सम्झौता गर्न सक्ने भन्दा बढी भएपछि उनी त्यो सम्बन्धबाट भावनात्मक र शारीरिक रुपमा त अलग भए तर कानूनी रुपमा उनलाई उनकै आफन्तहरुले अलग हुन दिएनन्। भावना नभएपछि अरु कुनै कुराले कसैलाई कसैसंग कुनै पनि रुपमा जोड्न सक्दैन। अन्तर्मुखी स्वभावका ती व्यक्ति मौन साधेर आफूलाई सम्भाल्न र आफ्नो हिसाबले बाँच्नका लागि संघर्षरत भए। आफ्नो पुर्ख्यौली घरसम्पत्तिबाट समेत उनले फुटेको कौडी समेत नलिइ उनी लगाएको कपडामा निस्केर हिंडेका थिए। तर उनका बाबुआमाले उनका बारेमा यति धेरै नकारात्मक कुरा उनकी भर्खर हुर्किन लागेकी छोरीका मनमा भर्न थाले, जसले गर्दा बोलचाल र भेटघाट त भएन भएन, पछि कतै भेट्दा उनीहरु एकआर्कालाई चिन्नसम्म पनि नचिन्ने भए।

कहिलेकहीं एउटा प्रश्न मनमा उब्जन्थ्यो, ती बाजेबज्यैले के पाए? बाबुले छोडेर हिंडेको नातिनीलाई ढपक्क ढाकेर राखिदिने महान बाजेबज्यैको पगरी र त्यो महानताको भ्रम? तर त्यसका लागि चुकाएको मूल्यका बारेमा उनीहरुले सोच्नसम्म पनि सोचेनन्। ती परिचितलाई उनीहरुले जवर्जस्ती सम्बन्धको सिक्रीमा बाँध्न नखोजेका भए एउटा पिता र उसका सन्तान अनि आफू र आफ्नै सन्तानको बीचमा त्यति गहिरो खाडल खनिंदैनथ्यो होला।

आफूलाई सही र महान देखाउने लोभमा मान्छेले बेलाबेला यस्ता कामहरु पनि गर्छ जसका लागि पछि गएर उसले चाहेर पनि पश्चाताप गर्ने ठाउँ बाँकी रहँदैन। ठूला मान्छेहरुका आँखामा अर्कोलाई बदनाम गराउने नशाले चूर भएर अनि त्यस्तो मूढ पक्षले सानासाना केटाकेटीहरुका कलिला मगजहरुमा पनि कालकूट वृक्षको बीउ रोप्छन्। आफूलाई सही सावित गर्नका लागि अरुलाई गलत प्रमाणित गर्नैपर्छ भन्ने मूर्खतापूर्ण सोचाइबाट अभिप्रेरित भएर बाबुले आमाको अथवा आमाले बाबुका बारेमा ती कलिला मगजहरुमा रोपाईं गर्नका लागि हलो चलाउन थाल्छन्। तर मान्छेको मन र मगज भनेको खेत होइन, धर्ती जस्तो सहनशील र बलियो हुदैन त्यो। मान्छेको मानसिकतामा एउटा बाली लगाएर काटेपछि अर्को बाली लगाउन सकिंदैन भन्ने कुरा त्यस्ता हठीहरुले बुझ्दैनन्। आफूले त्यसरी तालीम दिएका बालबालिकाले उनीहरुका बाबु अथवा आमालाई घृणा गर्दा त्यसलाई आफ्नो विजय ठानेर छाती फुलाउनेहरुले जीवनभरका लागि ती बालबालिकाको मानसिकतामाथि कति ठूलो अपराध गरें भनेर आत्म मूल्यांकन पनि गर्देनन्। आफूले रोपेको त्यो विषवृक्ष ठूलो भएपछि त्यसले के असर गर्छ होला भनेर किञ्चितमात्र पनि सोच्दैनन् मान्छेहरु। अनि ती बालबालिकाहरु एउटा कागजको टुक्रा बनेर मोटो, गह्रौं कारुचले थिचिएर जीवनभर छटपटिन्छन्। उनीहरुको मन मगजमा कहिले नमेटिने गरि कोरिएको हुन्छ, बाबुले भेट्न नपाउने अथवा आमालाई भेट्न नदिने।

कुनै एक पक्षलाई घृणा गर्न सिकाएर हुर्काइएका ती बालबालिकाले के भोलि अरु कसैलाई पनि सही अर्थमा माया गर्न सक्लान् त? किनभने घृणा रोपिएका मगजहरुमा जहिले पनि घृणा नै मात्र फल्छ, प्रेम फल्दैन। यति साधारण कुरा प्रति पनि किन आँखा चिम्लन्छन् मानिसहरु? आफ्नो बिग्रेका सम्बन्धका लागि अरुलाई दोष नदिइकन सभ्य मान्छेका रुपमा अलग बाटो हिंडे पनि त्यसको परिणाम छोराछोरीलाई भोग्न नदिनका लागि किन मान्छेहरु सचेत नहुने होलान् भन्ने प्रश्नले हात्तीवनबाट फर्कंदा बाटोभरि बिथोलि नै रहेको थियो। 

आफ्नो छोरालाई भेट्न गएको बखत जब गार्डले एउटा कागजको टुक्रा देखाउँदै कुनै एउटी आमालाई रित्तै हात फर्काउँछ, अथवा एउटा बाबुलाई उसकी छोरीको अनुहार हेर्नबाट जतिबेला वञ्चित गराइन्छ, त्यहाँ निर बाबु आमा, बाजे बज्यै जसले जिते पनि हार्ने बेला उनीहरुका सन्तान हारिरहेका हुन्छन्, अरु कोही हैन।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s