अप्ठ्यारोको मूलमन्त्र

२०६६ भदौ २१ गते नेपाल साप्ताहिकमा मेरो स्तम्भ ‘बायाँ फन्को” मा प्रकाशित

बन्द, हडताल, दबावको राजनीति आज हाम्रो मूलमन्त्र हुँदै गएको छ। साना देखि ठूलासम्म, महत्वपूर्ण देखि अर्थ न वर्थका, जायज देखि नाजायज हरेक कुराहरुमा, हरेक क्षेत्रमा आजकल दबावमूलक मानसिकता हावी भैरहेको देख्दा साह्रै नरमाइलो लाग्छ। केही दिन अघि देशको सबैभन्दा पुरानो स्वास्थ्यप्रदायक वीर अस्पतालका डाक्टरसाहबहरुले हडताल गर्नु भयो। एक दुई दिन सबै लथालिङ्ग भए पछि अन्ततः उहाँहरुका मागहरु पूरा भए। नभएर सुखै छैन भन्ने कुरा उहाँहरुलाई थाहा भएकै कुरा हो।

त्यसको लगत्तै देशभरका सरकारी, अर्ध सरकारी र नीजि स्वास्थ्य निकायका नर्सहरु सेवा वन्द गरेर आफ्ना मागहरु पूरा गराउनका लागि कटिवद्ध भए। अघिल्लो हडतालको सफताको नजीर उनीहरुको सामु ताजा नै थियो। सम्भवतः यो प्रकाशित हुनेबेलासम्म सम्बन्धित निकायलाई घुँडा टेकाएर उनीहरुले आफ्नो सेवा पुनः चालु गरिसकेका पनि हुन सक्छन् त्यो अर्कै कुरा हो। तर डाक्टर र नर्सहरुको हडतालको एक दिनको त कुरै छाडौं, एकएक घण्टा, मिनेट, सेकेण्ड, पल वा निमेष कति सम्वेदनशील हुन्छ भन्ने कुरा रोगले पीडित मान्छे र उनीहरुका आफन्तलाई मात्रै थाहा हुने कुरा हो।

देशका कुनाकुनादेखि आफ्नो रोग र व्यथाहरुका निदान हुने आशमा आएका बिरामीहरुलाई यो हडतालले कति प्रभाव पारेको होला भन्ने कुरा शायद उहाँहरुको मतलबको कुरा थिएन। डाक्टरहरुलाई भगवान वा कुनै चटकीको रुपमा श्रद्धा गर्ने, अस्पताल गएपछि ठीक हुने र नर्सहरुका रेखदेखले तङ्ग्रिने बिश्वासले आएका ती विरामीहरु अस्पतालमा समेत हडताल छ भन्दा उनीहरू कति निराश भए होलान्, त्यो अन्योलले उनीहरुको र उनीहरुका आफन्तहरुको कति सातो गयो होला भन्ने कुरा शायद हडताल गर्नेहरुले सोच्न पनि सोचेनन् होला। त्यो अवधिमा कति आमाहरु पेटको असह्य पीडाले छटपटाए होलान्, कति बाबुबाजे दमले स्याँस्याँ भए होलान्, कति पत्नीहरु पतिको छटपटीको मूक दर्शक भएर बसे होला, कति बाबुआमाको मन आफ्ना सन्तानको पीडा हेर्न नसकेर रोयो होला, त्यस्ता आलूमूले कोरा भावनाका कुराहरु शायद उनीहरुका लागि गौण भए त्यतिबेला।

हुन त एकोहोरो भएर सोह्रै आना डाक्टरसाहेब र नर्सहरुको खोइरो खन्न खोजेको होइन। उहाँहरुका पनि आफ्नै समस्याहरु होलान्, मागहरु होलान्, कति जायज नै पनि होलान्। बारम्बार तिनका समाधानका लागि सम्बन्धित ठाउँमा ताकेता गर्दा पनि केही नभएको हुनाले नै उनीहरु आफ्नो ब्रम्हास्त्र प्रयोग गर्न बाध्य भएका होलान्, त्यो आफ्नो ठाउँमा छ। तर चिकित्सा जस्तो मानवीय समवेदनाको पेशामा ब्रम्हास्त्र प्रयोग गर्नु कतिसम्म जायज हो भन्ने प्रश्न पनि आफ्नै ठाउँमा नभएको होइन।

सुविधा, सुख, पैसा जति भए पनि कसैलाई नपुग्ने कुरा हो। मान्छेले पढ्ने लेख्ने, रोजगारी खोज्ने भनेको पनि आफ्नो र आफ्नाहरुका जीवन सरल र सुविधामय बनाउनका लागि नै हो। हरेक मान्छेलाई आफू सुखी र खुसी हुने अधिकार छ तर त्यो खुसीको लागि अरुको आँशु कतिसम्म बगेको छ भन्ने कुरा मान्छेले नै नसोच्ने हो भने कसले सोच्ने त? केही पेशा यस्ता हुन्छन्, जो प्रत्यक्ष सेवामूलक हुन्छन्। तिनमा लाग्नेहरु निस्वार्थ हुनु जरुरी छ। तर सबै मान्छेमा त्यो भाव हुनुपर्छ भन्ने चाहिँ छैन। त्यो सम्भव पनि नभएको कुरा हो। त्यसो हुँदो हो त हरेक मान्छे मदर टेरेसा हुनुपर्थ्यो। तर त्यस्ता सेवामूलक पेशा अपनाउने मनिसहरु पहिले देखि नै त्यससंग आउने कठिनाइका लागि, त्यसले माग्ने समर्पणका लागि आफूलाई मानसिक रुपमा तयार गरेर मात्र त्यसमा लाग्नुपर्छ। यदि आफूमा त्यस किसिमका त्याग, सेवा र समर्पणको भाव छैन भने त्यस्तो माग गर्ने पेशामा लाग्नु नै हुँदैन।

तर हाम्रो बिडम्वना नै के भने अधिकांश अभिभावकहरुले आफ्ना सन्तानलाई हुर्काउने बेलादेखि नै, उसले बुझ्न थाले देखि नै
‘यो त डक्टर बन्छ, भोलि धेरै पैसा कमाउँछ’ भन्दै हुर्काउँछन्।
‘यो डक्टर बनेर भोलि मान्छेका पीडाहरु कम गर्छ, रोगले च्यापिएका मान्छेहरुलाई आराम दिलाउँछ’
भनेर शायदै कसैले आफ्नो सन्तानलाई चिकित्साशास्त्र पढ्न लगाउँछन्। अझ कति वर्षमा यसले लगानी उठाउँछ भनेर हिसाब किताब गर्न सम्म पछि पर्दैनन् कतिपय अभिभावकहरु। ‘मैले पैसा कमाउनुपर्छ’ भन्ने मानसिकता बोकेर बनेका डाक्टरहरुले सेवा र समर्पणको भावनालाई मनको कुनै अँध्यारो कुनामा थन्क्याएर यसलाई पनि पसल खोलेको जस्तो गरि व्यापार गर्न थाले भने त्यो दोष उनीहरुको मात्र पनि होइन। केही समय यता ह्वात्तै नर्सिंग पढ्न चाहनेहरुको लहर व्याप्त भएको थियो। तर ती मध्ये कति जनाले यो जनसेवाको काम हो भन्ने भावनाले अनि कति जनाले अष्ट्रेलिया र क्यानडा जान जान सजिलो हुन्छ भनेर नर्सिंग पढे त भन्ने कुरा महत्वपूर्ण हो।

चिकित्साशास्त्रमा मात्र होइन हरेक क्षेत्रमा यस्ता मानसिकताहरुले काम गरिरहेको हामी उदाहरणहरु देख्न सक्छौं।संचारमाध्यममा लगानी गर्ने भनेको जनतालाई सुसूचित गर्ने भन्दा राजनीतिक र सामाजिक पकड बलियो बनाउने हो भन्ने उद्देश्यले अरु ठाउँबाट कमाएको पैसा खत्याउनेहरु, राजनीति गर्ने भनेको वरत्रपरत्र सुधार्नका लागि, चलचित्र बनाउने भनेको मोजमस्ती गर्नका लागि र नाम चलाउनका लागि हो भनेर होम्मिनेहरु, स्कूल कलेज चलाउने भनेको रातारात भनी बन्नका लागि सोच्नेहरु, वैदेशिक रोजगारको काम भनेको हेर्दाहेर्दै महल ठड्याउनका लागि भनेर लागिपर्नेहरु, एनजीओ खोलेपछि डलर फल्छ भन्ने ‘विदेशी मुद्रा कृषकहरु’, सबै क्षेत्रमा जुन काम हो त्यो भन्दा अरु उद्देश्यले अभिप्रेरित भएर मान्छेहरू लागेका हुन्छन् र त्यस्ता मान्छेहरुका बाढीले आफूसंगै सही काम गर्नेहरुलाई पनि बगाएर लैजान्छ।

आफ्ना चाहनाहरु पूरा नहुँदैमा सबैले दबावको राजनीति गर्नु भनेको नैतिक अपराध होइन र? महँगी बढेको छ भने सबैलाई बढेको छ, प्रतिस्पर्धा सबैका लागि त्यत्ति नै छ, बाँच्न सबैलाई उत्ति नै गाह्रो छ। तलब सबैका लागि कमै छ। हातमुख जोर्न सबैलाई हम्मेहम्मे छ। छोराछोरीको भविष्यको चिन्ता सबैलाई बराबर नै छ। राष्ट्र परिवर्तन र संक्रमणको कालमा छ भने त्यसको असर सबैलाई बराबर छ। यो बेलामा हामी सबैको कर्तव्य सक्ने जति कममा सम्झौता गर्ने हो तर हामीहरु त ठ्याक्कै त्यसको उल्टो सकेसम्म बढीको अपेक्षा गर्न थालेका छौं, त्यसका लागि साम दाम दण्ड भेद र जानेजतिको दाउपेच खेल्न थालेका छौं। अर्कालाई परेको अप्ठ्यारो र बाध्यतामा आफ्नो दुहुनो कसरी सोझ्याउने भन्नेमा के कर्मचारी, के राजनीतिज्ञ, के व्यापारी, के उद्योगपति, के डाक्टर, के शिक्षक सबै लागिपरेका छौं।

साँच्चै नयाँ युगको निर्माण गर्ने नै हो भने त्यसका लागि सबैले आआफ्नो तर्फबाट त्याग र धैर्य गर्न सक्नुपर्छ। आकर्षक नारा र ठूला कुराले मात्र केही पनि परिवर्तन हुँदैन जबसम्म हाम्रो आफ्नो मानसिकतामा परिवर्तन हुँदैन। उपलव्धिका लागि अन्धो दौडमा सहभागी हुनुअघि हामीले मनन गर्नु पर्ने कुरा के हो भने,
प्राप्तिको सीमा हुँदैन। सन्तुष्ट मान्छे भनेको त्यो होइन, जोसंग सबैभन्दा बढी छ, सन्तुष्ट मान्छे त्यो हो, जो आफूसंग भएको जतिमा नै खुसी हुन सक्छ, रमाउन सक्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s