थोते चेतना, कथा

-सन्जु शर्मा, २०६५ चैत्र २६, नेपाल साप्ताहिकमा प्रकाशित

रातभरि ढोकाबाहिर सडकमा छरपस्ट दूधका प्लास्टिकहरू कनीकनी पपगीत गाइरहे। तेलको खाली पोकाहृले लोग्ने ढिला घर आउने प्रवृत्तिको गुनासो गररिह् यो। औषधिको खाली सिसीले बिरामीलाई सम्झाइरह्यो, रक्सीका सिसीहरूले मदिरा बिक्रीमा लगाइएका नियमावलीविरुद्ध नारा लगाइरहे। कालो पोलिथिनको झोलामा बाँधिएर फ्यालिएका तरकारीका अवशेषहरूले घरका बाँडफाँटका छलफल गररिहे। चुरोटको बट्टाले विद्यार्थीहरू अनुशासनहीन भएको गुनासो सुनाइरहे। च्यातिएको किताबका पानाले शिक्षकको योग्यताको प्रश्न उठाइरहे। मसला र बेसार पुछेर कच्याककुचुक पारिएको पत्रिकाको पानाले फोटोग्राफरसँग ब्लो अपका लागि युवतीको उत्तेजक फोटोको माग गररिह्यो। गाँठो पारेर बाटोमा फ्याँकिएका पौरुषताको पोकाहरूले एड्सको सेमिनारमा निम्तो नपाएकामा आयोजकहरूको भर्त्सना गरिरहे।

प्रभालाई राम्ररी निन्द्रा नपरेको धेरै दिन भयो। खासै कारण छैन तर ऊ निदाउन सकेकी छैन। तीन-चार रात त छिमेकी बिहेघरको जेनेरेटरको घरघरले सुत्न दिएन। बिहे सकिएपछि त कसो निदाउन नपाइएला भनेको आज पनि त्यस्  तै होलाजस्तो भयो। घरबाहिरबाट झन् चर्का कल्याङ्मल्याङ आवाजहरू पनि आइरहे। तकियाले कान छोपेर पनि केही लागेन। यस्तै आवाजहरूले उसलाई त्यस राती पनि राम्ररी निदाउन दिएनन्।

बिहान अनिँदो आँखा लिएर प्रभा अफिस जान तयार भई। दातृसंस्थाबाट अलिअलि विदेशी मुद्रा झर्लाझर्ला जस्तो संकेत नभएको भए त आज बरु दिनभर सुत्न हुन्थ्यो। तर, आज जसरी भए पनि एउटा रिपोर्ट तयार नगरी हुन्न। बाहिर तिनै फोहोरका थुप्राहरू कुल्चँदै ऊ अगाडि बढ्दा हिजो राती तिनीहरूले गरेका गुनासाहरू सम्झन पुगी। जुत्तामा काँचको टुक्रा अड्किएछ, उसलाई हिँड्न अप्ठ्यारो भयो। यसो जुत्ता फुकालेर काँचको टुक्रा फुत्त सडकमा फ्यालेर ऊ अघि बढी। साँघुरो गल्लीमा अनियन्त्रित गतिमा नियम उल्लंघन गर्दै आएको एउटा मोटरसाइकलले अलिकतिले उसलाई छोएन । पर्खालमा ढेपिँदै उसले त्यो मान्छेलाई सरापी अनि खुला मंगाललाई फड्किँदै सडकमा निस्की।

प्रभा मूल सडकमा पुग्दा कानको जाली फुट् लाजस्तो चर्को प्रेसर हर्न बजाउँदै एउटा बस गयो। नजिकै बिहानीको घामको आनन्द लिन पेटी नै ढाकेर मूढामा पत्रिका पढ्न बसेका साहूजीले पत्रिका छोडेर एकैछिन उसलाई लोभी नजरले हेरे तर थाहा नपाएजस्तै गरेर ऊ अघि बढी। मूलसडकमा फोहोरकै थुप्रोनजिक बसेर तरकारी बेचिरहेका पसलेहरू, तिनीहरूसँग सुका-मोहरका लागि मोलतोल गररिहेका ग्राहकहरू र सडकको घाइँघुइँले उसलाई सँधैजस्तै आज पनि उकुसमुकुस बनाए। यी कोलाहलको बीचमा सडकसँगै रहेको एउटा विद्यालयको बोर्ड ठडिएको थियो, ‘पीस भ्याली बोर्डिङ् स्कुल’ ।

त्यहीँ पढ्ने विद्यार्थीहरूको एक हूल चर्को स्वरमा हल्ला गर्दै ठेलमठेल गर्दै आए अनि उसलाई घच्याड्दै गए। छेउमै ढल फुटेर उम्लिरहेको फोहोराको नजिकै चियापसलमा केही बुद्धिजीवीहरू तात्तातो जेरीसँग सुरूप्सुरूप् चियाको सुर्को लिँदै देश र राजनीतिमाथि फोकटिया चिन्तन गररिहेका थिए। तीमध्ये एक जना त साता दिनमा सरकार ढल्ने दाबी गर्दै थियो। ठाउँठाउँमा निर्माण सामग्रीको थुप्रोले आधा सडक ढाकेर जाम भएका बाटाहरू छिचोल्दै अन्ततः ऊ अफिस पुगी।

कम्प्युटर खोलेर इमेल हेरी, फेसबुकमा आज पनि चिन्नु न जान्नुका २७ जनाले उसलाई साथी बन्न अनुरोध गरेका रहेछन्। रमाले त भन्दै थिई, फोटोसोटो राखिस् भने हैरान बनाउँछन् है! सुरुसुरुमा त आफ्नो लिस्ट पनि लामो हुन्छ भनेर उसले खुरुखुरु सबैलाई ओके गर्दै गई। त्यसैले नचिन्याहरूको बाहुल्य छ साथीहरूको सूचिमा। कुनै एक जनाले उसकी प्रेमिकालाई ‘मिस् यू हनी’ लेखेको रहेछ अनि उसकी हनीले पनि ‘मिस् यू टू माई बेबी’ लेखिछ। त्यस्ता व्यक्तिगत उद्गारहरू त इमेलमा गर्नु नि! किन मान्छेहरू भावनाको सार्वजनिक विज्ञापन गर्छन् होला भन्दै उसले फेसबुक बन्द गरी।

आफ्नो रिपोर्टको काम सुरु गर्न ऊ मानसिक रूपले तयार मात्र के भएकी थिई, सँगैको घरबाट ठूलठूलो स्वरमा भजनकीर्तन र प्रवचनको आवाज आउन थाल्यो। के भएछ भनेर ऊ झ्यालबाट चिहाउन पुगी । छेउको घरमा सप्ताह लगाइएको रहेछ। ठूलठूला चारवटा ढ्वांगहरू छानामा चारै दिशातिर फर्काएर राखिएका रहेछन् र आवाज त्यहीँबाट आइरहेको थियो।

ओहो, अर्को छ दिन! अझ नवाह लगाएको भए अर्को आठ दिन यस्  तै हुने भयो। धर्मकर्म पनि आडम्बर भइसकेकामा उसलाई विरक्त लाग्यो। यस्  ता पुराण लगाउनु-नलगाउनु आफ्नो आस्थामा भर पर्ने कुरा हो तर ढ्वांग ठोकीठोकी त्यसको प्रचार गर्नु र फेसबुकमा मिस यू हनी भन्नु उस्तैउस्तै लाग्यो उसलाई। केहीबेर रनभुल्ल परेपछि उसले अफिसमा सँगै काम गर्ने निर्मल भाइलाई भनी, “निर्मल, त्यहाँ गएर त्यो माइकचाहिँ बन्द गर्न भन न, कामै गर्न पाइएन।”

निर्मलले जिब्रो काढ्दै भन्यो, “कहाँ त्यसो गर्न हुन्छ प्रभा दिदी ? त्यसो भन्न गयो भने त यो नास्तिक रहेछ, धर्मकर्मको विरोध गर्ने भनेर मारिहाल्छन् नि! नाइँ दिदी म त भन्दिनँ।”

त्यो दिन उसको पनि आस्तिक भएरै बित्यो। रिपोर्ट तयार गर्नलाई ठूलै मानसिक कसरत गर्नुपर्‍यो उसलाई। अफिसबाट बाहिर निस्कँदा सप्ताह लगाएको घरका श्रद्धालुहरू समूहसमूहमा गफ चुट्दै थिए। कोही पान खाएर पिच्चपिच्च थुक्दै राजनीतिको गफ गर्दै थिए, कोही मुखमा हालेको खैनी छिनछिनमा थुः थुः गर्दै जातीयता र संघीयताको कुरा गर्दै थिए। काखी ह्वास्स गन्हाउने एक जना पण्डित चुरोटको धूवाँ उडाउँदै धर्म र संस्कृतिको व्याख्यान छाँट्दै थिए, “शास्त्रमा पनि भनिएको छ, कन्या नीच कुलादपि ग्राह्या अर्थात् गुणवती कन्या नीच कुलकै भए पनि स्वीकार्य हुन्छे।”

प्रभालाई त्यस पण्डितको कुरा असह्य भयो र उसले आफूलाई बोल्नबाट रोक्न सकिन,
“उँचो र नीचो कुल भनेको के हो बाजे? मान्छेको स्तर तोक्ने काम हामीजस्तै मान्छेहरूले नै त गरेका हुन् नि!  नत्र कुनचाहिँ धर्मले मान्छेमान्छेलाई विभाजन गरेको छ र? जातभात भन्या पनि आफ्नो स्वार्थसिद्धि गर्नका लागि केही मान्छेहरूले नै बनाएको कुरा होइन र?”

एकैछिन सबै मौन भए। ऊ बेकारमा किन ती अपरिचितहरूसँग बोलेँ होला भन्दै आफ्नो बाटो लागी। के उसले यति बोल्दैमा मान्छेको सोचाइमा परविर्तन आउने हो र ? घरछेउमा आइपुग्दा उसले देखी, भर्खर बस्न आएका छिमेककी एउटी आठ-दस वर्षकी बालिका बाटोमा छरिएका फोहोर समेटेर आधा काटेको ड्रममा हाल्दै थिई। उसलाई देखेर त्यो केटी मुसुक्क हाँसी। उसले पनि फिस्स हाँस्  दै सोधी, “तिम्रो नाम के हो?”

थोते गिजा देखाउँदै उसले भनी, “चेतना।”

चेतनाको थोते दाँत सम्झँदै ऊ घरभित्र पसी। एक कप चिया बनाएर सुर्काउँदै गर्दा अचानक उसलाई चेतना के गर्दै होली भन्ने लाग्यो । झ्यालको पर्दा टम्म लागेको थियो, उघारेपछि बाहिरको प्रकाश कोठाभित्र पनि अलिअलि पस्यो। उसले देखी, टोलका मान्छेहरूले फोहोर फाल्ने र खुला सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्ने गरेको त्यो फोहोर उठाएको ठाउँमा चेतनाले चुना छरसिकीछ। अब ऊ सकीनसकी एउटा ढुंगा उठाएर ल्याउँदै थिई।

रमाइलो मानेर उसले केहीबेर चेतनाका गतिविधिहरू हेररिही। उसले अबिर घोलेर त्यो ढुंगामा ॐ लेखी। अनि, फूलका दुईवटा थुंगा चढाई र धूप बालेर छोडिदिई। राती सुत्ने बेलामा पनि प्रभा सोच्दै थिई, चेतना पहिले नै यस टोलमा आएकी भए हुन्थ्यो नि! फेरि शनैःशनैः दूधका प्लास्टिकहरूले गाउन थाले तर उसलाई लाग्यो, आज यिनीहरू पपगीतको साटो भजन गाइरहेका छन्।

बिहान उठेर दूध लिन जाँदा उसले पसले साहूनीसँग चेतनाको कुरा उप्काई। ड्रम र ढुंगा राखेर राम्रो काम गरेको कुरा गरी। साहूनीले त्यो कुरालाई एकातिर पन्छाउँदै गनगन गरी,
“त्यस्ता ड्रम कति राखियो तर कबाडीहरूले राती नै उठाएर लगे। त्यसको गोठालो को लाग्ने? सित्तैंमा आउँदैन क्यारे ड्रम, बारम्बार किन्न कोसँग चोर्‍या पैसा छ र?”
साहूनी निर्विकार भावमा पैसा गन्न थाली। दूध लिएर घरतिर जाँदा अनि अफिस जाने बेला आजको ताजा फोहोरको थुप्रो देखेर उसलाई अलि लाज लाग्यो। हिजोजस्तो फोहोरै कुल्चेर आज ऊ हिँड्न सकिन।

आज बेलुकी पनि उसले चेतनालाई त्यसैगरी फोहोर बटुलिरहेको देखी। अनि, त्यो रात दूधका प्लास्टिकहरू एकैछिन मात्र सारेगम भन्दै चुप लागे । अरूहरूका गनगन पनि आज मत्थर भएजस्तो लाग्यो उसलाई। अनि, उसलाई निन्द्राले पनि छोप्यो । धेरैपछि आरामसँग ऊ निदाई।

बिहान उठ्दा आफूलाई हलुँगो पाई उसले। झ्याल खोलेर बाहिर हेरी, एक जना भद्र मान्छे कुकुरलाई मर्निङ्वाक गराउँदै थिए। चेतनाले सफा गरेको ठाउँभन्दा अलि पर उनी कोही आउनुअघि सकाउन पाए हुन्थ्यो भनेझैँ चारैतिर हेर्दै पिसाब गर्दै थिए, डोरीमा तन्केर छेवैमा उनको कुकुर पनि आची गर्दै थियो। उसलाई तिनीहरू दुवैको व्यवहार मात्र होइन, अनुहार पनि कताकता मिलेको जस्तो लाग्यो। आफ्नो सुकर्म सकाएर ती भलाद्मीले बाटो तताएपछि ऊ एउटा बाल्टिनमा पानी र खोरेटोको कुचो बोकेर हतारहतार बाहिर निस्की। चेतना पनि आउँदै रहिछ । दुवै मिलेर ती भलाद्मी र उनको कुकुरले गरेको फोहोर सफा गरे।

“ए, नानी पनि यतै बस्नुहुन्छ कि क्या हो  ?”

सम्बोधन गर्नेतिर उसले फर्केर हेरी। अफिसछेउ सप्ताह लगाएको घरअघि पण्डित्याइँ छाँट्ने अधवैँसे मान्छे उससँग बोल्दै थिए ।

“हो यही अगाडिको हो मेरो घर,” उसले औपचारिक उत्तर दिई ।

“ए….म पनि ऊः त्यो परको उपसचिवको घरमा आइरहन्छु नि !”

ऊ केही नबोली मुस्कुराई मात्र ।

“यी नानीचाहिँ को हुन् नि ?” उनले चेतनातिर हेर्दै सोधे ।

“छोरी,” उसको मुखबाट अनायास निस्क्यो ।

पण्डितजीले चेतना र उसलाई अचम्म मानेर हेरे अनि आफैसँग बोलेझैँ भने,
“हो र? नाकनक्सा त मिल्दैन ।”  अनि, अझ जिल्ल पर्दै सोधे,
“नानीहरू के थरी पर्नुभयो त ?”

“हामी दुवै यही देशमा जन्मेका, यही देशकी छोरी, त्यसैले हामी दुवै नेपाली। ऊ चेतना नेपाली, म प्रभा नेपाली।”
यो सुनेर चेतना फेरि एकपटक थोते गिजा देखाएर हाँसी ।

Advertisements

3 thoughts on “थोते चेतना, कथा

  1. साच्चै यो कथा पढे पछी मन चस्स बिझ्यो —–
    गहन सन्देश दिने उत्कृष्ट कथा ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s