डढेलो – वनको र मनको

नेपाल पत्रिकाको मेरो स्तम्भ “बायाँ फन्को” बाट
२०६६ बैशाख २० गते प्रकाशित
ठूला कुराहरुका वीच साना कुराहरु हराउने गर्छन्। बढी जटिल समस्याका सामु अन्य समस्याहरु गौण हुन्छन् अनि ज्यादा दुख्ने पीडाका तुलनामा साना घाउहरु कम चहरुयाउने गर्छन्। तर कहिलेकहीं मानिसले कुन ठूलो, कुन जटिल र कुन ज्यादा दुख्ने भन्ने खुट्याउन सक्दैन। त्यस्तो बेलामा उसको मानवीय समवेदना क्षीण भइदिन्छ।

अघिल्लो हप्ता रामेछापको श्रीखण्ड डाँडामा लागेको भीषण आगो निभाउन गएका प्रहरी र सेनाका जवानहरु मध्ये १३ जना सैनिक त्यही आगोको अंगालोमा डढेर भष्म भए। आगो असपताल र वस्तीतिर फैलिन थालेकोले त्यसलाई नियन्त्रण गर्नु जरुरी भएको थियो। कुनै पनि विकराल प्रवृत्तिको आगोसंग जुध्नका लागि अन्ततिर विशेष तालीम प्राप्त मान्छेहरु हुने गर्छन्। उनीहरुसंग अत्यन्त सुविधासम्पन्न अग्नि निरोधक उपकरण र रसायनहरु हुने गर्छन्। किनभने आगोसंग पौंठेजोरी खेल्नु भनेको चानचुने कुरा होइन। तर हाम्रा यी वीर जवानहरु नितान्त मनोवल र निस्वार्थ भावनाले त्यहाँ होम्मिएका थिए। त्यहाँको अस्पताल र वस्तीलाई हुने हानिबाट बचाउनका लागि, धेरै अरु मान्छेका लागि आफ्नो ज्यानको आहुति दिने ती १३ जनालाई हामीले राम्रोसंग आभार पनि प्रकट गर्न पाएनौं। उनीहरुको त्यो बहादुरीले पाउनु पर्ने ठाउँ र महत्व समाचार र संचारमाध्यमहरुमा पनि पाएन। सरकारी स्तरबाट पनि ती मान्छेहरुको वलिदान ओझेलमा नै पर्न गयो। किनभने राष्ट्रमा त्यतिबेला आवश्यकताभन्दा बढी महत्व पाइरहेको अर्को समाचार थियो।

सेना र सरकारको ईगोको लडाई सबैका लागि महत्वपूर्ण विषय बनिरहेको थियो। घण्टैपिच्छेका नयाँ नयाँ आयामहरु उक्त प्रकरणमा प्रकट भैरहेका थिए। घर कार्यालय, बाटो, बजार सबैतिर मानौं चर्चापरिचर्चा गर्नका लागि अरु कुनै विषय नै थिएन। राष्ट्रिय र केही हदसम्म अन्तर्राष्ट्रिय शक्तिहरु पनि सबै छोडी पुच्छरमा हात भने झैं आआफ्नो दूनो सोझ्याउने क्रममा सबै उर्जा खर्च गरिरहेका थिए। कुनै एउटा स्वतन्त्र राज्यको आन्तरिक मामिलामा वाह्य राष्टरुहरु खुलेर बोलिरहेका थिए। अनि जनताहरु साँढेको जुधाइमा आफू कतै बाच्छो बन्नु पर्ने त हैन भनेर सतर्क भैरहेका थिए। राजनीति जस्तो गहन र जटिल विषयमा कुनै टीकाटिप्पणी गर्ने ज्ञान र ह्याउ भएको मान्छे नहुँदा नहुँदै पनि एउटा आम नागरिकको हैसियतले मेरो मथिंगलमा केही प्रश्नहरु घुमि नै रहे। ऐतिहासिक जनआन्दोलनबाट आएको परिवर्तन, त्यसैका कारण जनताले छानेका विकल्प र नयाँ व्यवस्था, अनि तिनै जनताबाट निर्वाचित शक्तिलाई किन हामी बारम्बार कम आँकिरहेका छौं? वनको बाघलाई डाँडा कटाइसकेका हामी नेपालीहरु किन मनको बाघसंग यतिविघ्न डराइरहेका छौं? हामीले सास फेरेको परिवर्तनको यो स्वच्छ हावामा किन आफै केही गन्हाएको भ्रम पालेर लामो सास फेरिरहेका छौं? अथक कसरत पछि प्राप्त भएको यो ऐतिहासिक कालखण्ड रातारात कसैले चाहेर पनि त पल्टाउन सक्ने कुरा होइन नि। समय र चेतनाको वहावलाई कसैले उल्टो घुमाइदेला भनेर झीना मसीना कुराहरुमा अल्मलिएर बस्नुपर्ने वाध्यता किन आयो? म जस्ता आम नागरिकले नबुझेको कुरा त के भने एकदुइवटा कुरामा सरकारसंग लाप्पा खेलेकै मान्ने हो भने पनि के बारम्बार नेपाली जनता र नेपाल सरकारप्रति उत्तरदायी भएको दावी गरिरहेको सेनाले विरोधाभाषपूर्ण कार्य गर्थ्यो होला त? के तीनचारमहीना कार्यकाल बाँकी भएका सेनाप्रमुखले नयाँ नेपालको निर्माणको गतिलाई रोक्न चाहन्थे वा सक्थे होला त? कतै सरकारी पक्ष पनि यो सन्दर्भमा तिलको पहाड बनाउने उक्तिलाई चरितार्थ गरिरहेका त थिएनन्?

यो विवादलाई अनावश्यकै त भन्न सकिन्न तर अहिलेको अवस्थामा यस्ता विषयहरु हाम्रो मुलुकको उच्च प्राथमिकताको विषय हो कि होइन? धमिलो पानीमा माछा मार्नेहरुका लागि सुहाउँदो वातावरण बनाउने काम दुवै पक्षबाट भयो कि भएन त? त्यसैको परिणामस्वरुप ठाडो वाह्य हस्तक्षेपको अर्को एउटा नमूना हामीले हेर्नुपर्यो। भित्री शक्तिहरुबाट पनि नङ दुखेको उपचार गर्न कुमदेखि नै हात थुतेर मिल्क्याउने जस्ता गैर जिम्मेवार र मूर्खतापूर्ण कुरालाई समाधानको रुपमा पस्किने काम पनि भयो भने मौकामा चौका हानेर शक्तिसमीकरण गर्न खोज्ने कैकेयीजन्य प्रवृत्तिहरु पनि देशको राजनीतिमा जुर्मुराए। देश बनाउन आफूले जिम्मा दिएकाहरु र तिनलाई सचेत बनाउनु पर्ने प्रतिपक्षीहरुको यो केटाकेटी चाला हेरेर आम जनताले रुने हो कि हाँस्ने भनेर खुट्याउन पनि सकेनन्।

यही दौडधूपमा मानवीय समवेदनाका आधारमा पनि उच्च मूल्याँकन हुनुपर्ने ती १३ जना शहीदको आत्मबली तुवाँलोले छेकेको सूर्य जस्तो हुन पुग्यो। केही समय अघि पोखराको धाँजामा फसेको बालकको उद्धार गर्नेहरुका लागि जति पनि छापाका मसी र टेलिभिजनका टेपहरु यो बहादुरीका लागि खर्च भएनन्। विचार र उद्देश्यका लागि ज्यान आहुति दिनेहरुलाई शहीद भनेर मानिन्छ। तर ती विचार र उद्देश्य राजनैतिक मात्र हुनुपर्छ भन्ने छ र? देशको लागि मर्ने अरु धेरै कारणहरु पनि त हुन सक्छन् नि। ती १३ जना पनि त आफ्नै विचार र अभियानका लागि मरेका थिए। के राजनीति र आन्दोलनमा ज्यान गुमाउने बाहेक अरु कोही शहीद शव्दको सम्मानका हकदार हुन सक्दैनन्? जनयुद्धका क्रममा मारिएर शहीद घोषणा भएका हजारौं नयाँ शहीदहरुको सूचिमा यी १३ जना सैनिक पनि अटाउन सके भने उनीहरुको आहुति खेर जाने थिएन।

डढेलो वनमा मात्र लाग्दैन, मनमा र विचारमा पनि लाग्न सक्छ। वनमा लागेको डढेलो देखिन्छ, तै पनि नियन्त्रण गर्न कठीन हुन्छ। तर मन र विचारमा लाग्ने डढेलो देखिंदैन, भित्रभित्रै सल्किन्छ। यस अर्थमा नदेखिने ढडेलो अझ बढी खतरनाक हुन्छ। वनमा लागेको डढेलोसंग लड्न भन्दा बढी अदम्य साहस र प्रतिवद्धता चाहिन्छ मनमा लागेको डढेलोसंग लड्न र त्यसलाई निभाउन।

परिवर्तनको मौसम भनेको त यसै पनि सुख्खा हुने गर्छ, यस्तो बेलामा देखिएको सानो झिल्कोले ठूलो ज्वालाको रुप लियो भने त्यसले गर्न सक्ने विनाशको बारेमा सोचेर हामी सबै बेलैमा सतर्क हुनु अहिलेको लागि सबैभन्दा जरुरी कुरा हो।

Advertisements

2 thoughts on “डढेलो – वनको र मनको

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s