लोकतन्त्र र मानसिकताको प्यारोडी

२०६६, बैशाख १४
२००९, अप्रिल २७
नागरिक दैनिक पत्रिकामा प्रकाशित

वाल्यकालका केही अस्पष्ट सम्झनाहरु आज मगजमा सल्वलाइरहेका छन्। कहिलेकहीं आफू भन्दा ठूलाहरुका पुच्छर लागेर सिनेमा हेर्न जान पाइन्थ्यो। सिनेमा सुरु हुनु अघि त्यसबेलाको राष्ट्रिय गान बज्ने गर्थ्यो। अनि कसैले केही भन्दै नभनी सबैजना जुरुक्क उठेर त्यो बजुन्जेल मौन भएर सम्मान प्रकट गर्थे। त्यो सकिएपछि मात्र सबैजना बस्थे। राष्ट्रिय गान बज्दा नउठ्नेलाई प्रहरीले पक्डेर लैजान्छ रे भनेको पनि कताकता सुने जस्तो लाग्छ। त्यतिबेला अहिलेको उन्मुक्तता थिएन। एउटा डर थियो। तर पनि मलाई लाग्छ त्यतिबेला मान्छेहरु डरले होइन श्रद्धाले उठ्ने गर्थे। त्यो श्रद्धा त्यतिबेलाको राष्ट्रिय गानमा भएका शव्द वा ती शव्दहरुले गरेका स्तुतिका लागि नभै आफ्नो देशप्रतिको आदरले अभिप्रेरित हुन्थ्यो भन्ने मलाई भान हुन्छ। कमसे कम म र मेरा पुस्तामा त्यसै पनि ती शव्दका अर्थहरु केलाउन सक्ने ज्ञान वा चेतना थिएन तर पनि त्यो धुनमात्र बज्नासाथ स्वतः हामी उठ्थ्यौं। अरु त के सोच्थे कुन्नि तर मलाई त्यतिबेला म नेपाली भएकोमा एक किसिमको गर्व लाग्थ्यो, मेरो त्यतिबेलाको ढुक्कुरे छाति अलिकति तनक्क परेको हुन्थ्यो। मलाई लाग्थ्यो, म मेरो देशप्रति नतमस्तक भएको छु, म मेरो मातृभूमि प्रति आदर व्यक्त गर्दैछु। संस्कृतको अरु केही नबुझे पनि जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने श्लोकको अर्थसम्म चाहिँ मैले बुझेको हुन्थें। मलाई अझै पनि लाग्छ, जननी बरु सबै सन्तानका लागि स्वर्ग सरी नहुन सक्छिन्, जननीका बरु स्वार्थ हुन सक्छन् तर जन्मभूमि स्वर्ग हुन् भन्ने कुरामा कुनै पनि शंका कहिले पनि हुन सक्दैन।

आज धेरै परिवर्तन भैसकेको छ। समय, परिस्थिति, हाम्रो चेतना, ज्ञान, विवेक, हाम्रो वरिपरिको संसार सबै कुरा परिवर्तन भैसकेको छ। त्यतिबेलाको राष्ट्रिय गान पनि परिवर्तन भैसकेको छ। अब राष्ट्रिय गानमा स्तुति छैन, देश र जनताको वर्णन छ। हाम्रो त्यो अज्ञानी र चेतनाहीन पुस्ता पनि आज जागरुक र बुझ्ने भैसकेको छ। विवेकशील अनि चेतनशील भैसकेको छ। हाम्रा पखेटाहरु अब कुँजिएका छैनन्। हामीलाई उड्नका लागि कुनै घेरा तोकिएको छैन। खुला र विशाल आकाशमा अब हामी कावा खान सक्छौं। हामी स्वतन्त्र भैसकेका छौं। हामीले लोकतन्त्र प्राप्त गरिसकेका छौं। हामीलाई जे गर्ने पनि छुट छ अब।

त्यही छुटको अनुचित फाइदाको रुपमा हाम्रो राष्ट्रिय गानको प्यारोडी बनेको छ। कुन सिर्जनात्मक खूबी भएका मान्छेले त्यो महान कार्य गरेका हुन्, मलाई एकपटक तिनलाई भेटेर तिनको अटोग्राफ लिन मन लागेको छ। तिनको त्यो महान कृतिलाई अन्य केही मान्छेहरुले पनि आजकल इन्टरनेट र इमेल अनि सामाजिक संजालहरुका वेबसाइटहरु मार्फत व्यापक प्रचारप्रसार गरिरहेका छन्। धन्य ती महापुरुषहरु जो आफ्नो देशको राष्ट्रिय गानलाई समेत हाँसोको विषयवस्तु बनाउन सक्छन्। कुनै मन नपरेको नेताको जुंगाको खिल्ली उडाउनका लागि पौने तीन करोड नेपालीको भावना र समवेदनासंग जोडिएको एकताको सम्मानजनक कुरालाई अपभ्रंश बनाउँछन्। सौतासंगको रिसले पोइको काखमा सु गर्ने मूर्खता गर्छन्। लोकतन्त्रमा कुनै नेताको कामको जायज बिरोध गर्न पाइन्छ, तर उनको जुंगा, दाह्री, आँखा, नाक, मुखको बनौटलाई उल्याएर राष्ट्रिय गानको प्यारोडी बनाउने अनुमति लोकतन्त्रले दिंदैन भन्ने मलाई लाग्छ।

राष्ट्रिय गान भनेको त हरेक नागरिकले गर्व र सम्मान गर्नुपर्ने कुरा हो। व्यक्तिगत रुपमा त्यसको रचना, संगीत वा अन्य पक्षसंग सहमत हुनु नहुनु व्यक्तिको अधिकारको सीमाभित्रै पर्ला रे लौ तर राष्टले नै छनौट गरेर मान्यता प्रदान गरिसकेको त्यो गानलाई आत्मसात र सम्मान गर्न सक्नु हरेक नागरिकको दायित्व हो। यहाँ नेर व्याकुल माइला वा अम्वर गुरुरु प्रति कसैको पूर्वाग्रह, उनीहरुको शीपमाथि कसैको प्रश्न गौण हुन जान्छ किनभने त्यो कुनै व्यक्ति विशेषको रचना वा संगीतमात्र होइन, त्यो त अब हाम्रो देशको चिनारी पनि हो। संसारको कुनै पनि कुनामा त्यो बज्दा त्यहाँका राष्ट्र प्रमुखहरुले समेत उठेर सम्मान गर्ने एउटा प्रतीक हो।

फलेको वृक्षको हाँगा नझुकेको कहाँ हुन्छ र? बाँस जति ठूलो भयो, त्यति नै निहुरिन्छ रे, अनि नर्कट अलिकति बढ्न पाए कि ठाडो भै हाल्छ रे। आज लोकतन्त्र दिवसको दिनमा हामीले इमान्दारी पूर्वक आफ्नो छातिमा हात राखेर सोच्नुपर्छ, कतै हामी नर्कट हुँदै गइरहेका त छैनौं? हामीमा अरुलाई आदर सम्मान गर्ने, अरुका उपलव्धिहरुलाई स्वीकारेर प्रोत्साहनका दुइ चार शव्द बोल्ने बानी हराउँदै गइरहेको त छैन? हामी आफूलाई बाहेक अरुलाई गन्दै नगन्ने हुँदै गइरहेका त छैनौं? हरेक कुराको विरोध गर्नै पर्ने मानसिकतालाई हामी स्वतन्त्रताको मापदण्ड बनाइरहेका त छैनौं? कुनै पनि नियम कानून वा बन्देजको घेरामा नबस्नुलाई प्रजातन्त्रको परिभाषा बनाउन थालिरहेका त छैनौं? लोकका मूल्य, मान्यता, आचरण र आचारसंहिताको उपहास गर्ने गलत बानीलाई लोकतन्त्रको उपलव्धि बनाउँदै गइरहेका त छैनौं? हरेक कुराको उपहास गर्नुलाई चेतना हो भन्ने भ्रम पालिरहेका त छैनौं? हरेक परिवर्तनको क्रम भनेको सम्वेदनशील समय हुन्छ। त्यस्तो बेलामा मान्छेले धैर्य, सहिष्णुता, आचारसंहिता र आचरण जस्ता कुराहरुमा बढी सचेत हुनुपर्छ। एउटा नेपालीले अर्को नेपालीलाई, कार्यकर्ताले नेतालाई, विद्यार्थीले शिक्षकलाई, व्यापारीले ग्राहकलाई, कर्मचारीले हाकिमलाई, विक्रेताले उपभोक्तालाई, विपक्षीले सरकारलाई र सरकारले जनतालाई टेरपुच्छर लगाउन छोड्ने हो भने अझै पनि नेपालमा परिवर्तनको सही बेला भएको थिएन भन्ने कुत्सित मनाशय पालेर बसेकाहरुको गलत व्याख्यालाई टेवा दिने काम मात्र हुन्छ, यो कुरा हामी सबैले बुझ्नु अत्यन्तै जरुरी छ। हाम्रा तुरुपका एक्काहरुलाई सम्हालेर राख्न सकेनौं भने उनीहरुका चीडका दुवाहरु भोलिका दिनहरुमा प्रभावशाली नबनून् भन्ने हामीले हेक्का राख्नु आजको परम आवश्यकता होइन र?

कुन र कस्ता कुराहरुलाई लोकतन्त्रको नाममा उल्याउन र खिल्याउन नदिने भन्ने लक्ष्मणरेखा सरकारमा बस्नेहरुले पनि कोर्न सक्नुपर्छ तर के हामीलाई अझै पनि नियम कानून मान्न र देशको माया गर्नका लागि सरकारी कार्वाहीको डर नै चाहिने हो त? त्यसो भने हामीले कुन मुखले आफूलाई परिवर्तित संसारको चेतनशील मानिस भन्ने? स्वतन्त्रता र उच्छृँखलताको बीचको फरक पनि हामीले नदेख्ने हो भने निस्वार्थ रुपमा हामीलाई यो दिन प्रदान गर्नका लागि मरेर गएका शहीदहरु र हाम्रा भोलिका जन्मे नजन्मेका सन्ततिहरु दुवैका हामी अपराधी बन्नेछौं।

लोकतन्त्रमा, नयाँ नेपालमा कुनै व्यक्ति, कुनै विचार वा कुनै वादमाथि विवाद हुन सक्छ तर नेपाल, नेपालको सार्वभामिकता, नेपाली हुनुको गर्व र यो देशको आदर अनि प्रेमभावमा कहिले पनि दुइमत हुन हुँदैन। हुन दिनु पनि हुँदैन। यही नै लोकतन्त्रप्रतिको हाम्रो साँचो समर्पण हो।

Advertisements

One thought on “लोकतन्त्र र मानसिकताको प्यारोडी

  1. अत्यन्तै गहन छन यि आर्टिकल का हरफ हरफ हरु ।
    एउटा कुरा चाँही भन्नु मन लाग्यो , ” के हामीले नियम कानून मान्न को लागि सरकारी कारबाहीको डर नै चाहिने हो त ? ”
    ब्र जेश जि !
    सबै मान्छेको मन असल भाबनाले भरिएको हुन्थियो भने आज संसार को रुप कस्तो हुन्थियो होला !
    किन कोही नरपिचास ले नाबालिकालाई बलात्कार गर्छ ? अनी किन कोही यि नरपिचास को अपराध सुन्दा पनि आत्तिएर कान थुन्छ ?
    मान्छे सबै एकै खालका हुँदैनान संसार मा ।
    सत्य कुरा त यही हो ‘ थोरै मान्छे मात्रै असल भाबनाका हुन्छन संसार मा ‘ ।
    कम्तिमा पनि मान्छेहरुको खराब -अनुशासनहिन प्रबित्ती लाई कन्ट्रोल गर्न को लागि सरकारी कारबाहीको डर मान्छे लाई हुनै पर्छ ।
    यस् अर्थ मा हेर्दा अहिले मुलुक लोकतन्त्र भन्दा पनि अनुशासनहिन तन्त्र मा ग ईरहेको भान भाईराख्या छ ।
    आशा गरौ हाम्रो सरकार सबल होस् र कानूनी राज्य लाई सबल रुपमा स्थापित गर्न सकोस —
    नुहिने बास र ठाडो हुने नर्कट को उदाहरण मा हामी नेपाली नर्कट हुँदै गैइरहेका छौ । राष्ट्रिय गान लाई प्यारोडी गान बनाउन सक्ने हिक्मत राख्ने नेपाली हरु साच्चै नै नर्कट का नमूना हुन —-
    दर्हो कानून को आबश्यक्ता छ नेपाल मा ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s