तीन प्रसंग र एक सोच

प्रसंग १
केही दिन अघि एकजना मान्छे माघको जाडोमा पनि बिहान सखारै उठेर भर्खर ढलान गरेको घरमा चीसो पानीको फोहोरा हाल्दै थिए। संगै घरको छिमेकीलाई उनी गर्वका साथ आफूले बिहान चार बजे उठेर पानी भरेको कुरा बताउँदै पनि थिए। बर्षौं मेहेनत पसीना बगाएर उनले बल्लबल्ल त्यो सानो घर ठड्याएका रहेछन्। आफ्नो बचेखुचेको जिन्दगी बित्ने, छोरानाति जन्मने र हुर्कने त्यो घर बलियो होस्, छाना नचुहियोस् भन्ने उनको सोच हुनु स्वाभाविक पनि हो। त्यसैले त उनले त्यो घर बनाउन जग खन्ने बेलादेखि नै विशेष रेखदेख गरेको हुनुपर्छ, दुःख पनि पाएको हुनुपर्छ। राम्रो लगाउने मीठो खाने कतिपय इच्छाहरुमा मन मारेर उनले घरको लागि जोहो गरेको हुनुपर्छ। केही नगुमाइ केही पाइँदैन भन्ने कुरामा कुनै शंका गर्ने ठाउँ छैन। हुन त यो कुनै नौलो घटना होइन किनभने हामीमध्ये थुप्रैले त्यसरी नै घर बनाएका छौं, अथवा बनाउने योजनामा छौं। आम मानिसको एउटा यस्तै सपना हुन्छ र त्यसलाई पूरा गर्ने क्रममा उसले आफ्नो जीवनका सकृय क्षणहरु समर्पण गरेको हुन्छ। त्यसैले यस्ता दृश्यहरु हामीले हाम्रा वरिपरि थुप्रै देखेका हुन्छौं।

प्रसंग २
पुर्ख्यौली घरमा बसेको एउटा ठूलो परिवार थियो। धेरै दाजुभाई थिए त्यो परिवारमा। सबैको आफ्नै चाहना र सोच थियो। लामो समय त त्यत्तिकै बित्यो तर रहँदाबस्दा उनीहरुलाई अब आफ्नै आफ्नै हिसाबले बाँच्न मन लाग्यो, कुरा पनि मिल्न छोड्यो। कसैलाई कोठा पुगेन, कसैलाई बारी पुगेन, कसैलाई कुन तल्ला चाहियो, र कसैलाई कुन दिशा। अन्ततः त्यो घरलाई भत्काएर नयाँ घर बनाउने सहमतिमा उनीहरु पुगे। त्यसपछि सबैको इच्छा र चाहना पूरा हुने गरि नयाँ ढाँचामा त्यो घरलाई पुनर्निर्माण गर्ने निर्क्यौल भयो। बनाउन पो समय लाग्ने गर्छ, भत्काउन कुन आइतबार, डाङडुङ पारेर उनीहरुले त्यसलाई भत्काए। तर अब नयाँ घर बनाउने जिम्मा कसको त? पहिलोको कुरामा दोश्रोले शंका गर्ने, दोश्रोले खोजेको ठेकेदारलाई तेश्रोले विश्वास नगर्ने अनि तेश्रोले बोलाएको डकर्मीलाई पहिलोले शंकाको आँखाले हेर्ने स्थिति आयो। निकै लामो बिवाद पछि आपसी सहमतिमा अहिले उनीहरुले एउटा ठेकेदारलाई त्यो काम जिम्मा लगाएका छन्। तर नयाँ गारो लगाउन बेलामा ती दाजुभाइहरुले बेल्चा, साबेल र डकर्मीको औजारै लुकाइदिने गर्न थाले भने त घर कसरी बन्ला त? आफूले छानिसकेको ठेकेदारलाई कामै गर्न नदिइ यसले बनाएर बन्दैन भन्दै हप्तैपिच्छे अर्को ठेकेदार खोज्न थाल्यो भने घर कहिले पनि तयार हुँदैन। हो, बरु उसले काम गर्नथालेपछि दाजुभाइ मिलेर रेखदेख गर्ने, जग खन्दा बाङ्गोटिङ्गो नहोस् भनेर ध्यान दिने, भित्ता उठाउँदा ईट्टा मिल्यो कि मिलेन हेर्ने, ढलान गर्दा सिमेण्ट बालुवा र रोडाको मात्रा मिलाउने, परेको बेला राति उठेर पानीको जोहो गर्ने र बलियो बनाउन गारोमा सिंच्ने चाहिँ गर्नुपर्छ। त्यसपछि सानातिना बाँकी रहेका कुराहरु कसरी सजाउने मिलाउने भन्ने त घर बनेको निकै समयसम्म पनि गरिरहनु पर्ने कुरा हो।

प्रसंग ३
भक्तपुरको दत्तात्रय मन्दिरबाट अलिकति पश्चिमतिर एउटा पुरानो, जर्जर भैसकेको पुरानो घर थियो। कहिले कुखुरा पाल्ने खोरको रुपमा त कहिले त्यसै बेवारिसे अवस्थामा रहेको त्यो घरमा मान्छे बस्ने त परै जाओस्, छिर्ने पनि कल्पना गर्न सक्दैनथ्यो। रविन्द्र पुरी नामका एक जना युवा इन्जिनियरको त्यसमा आँखा पर्‍यो । साधारण मान्छेको आँखाले देख्नेभन्दा अलिकति पृथक आँखाले उनले त्यस घरलाई हेरे। उनले त्यो घर किनेर त्यसलाई नेपाली परम्परागत शैलीमा जीर्णोद्धार गरे। कल्पना नै गर्न नसकिने गरि त्यस घरको कायापलट भयो। त्यतिमात्र होइन, उनले युनेस्कोको पुरस्कार पनि हात पारे। कुखुरा घर र भुताहा घरबाट त्यो घरको नाम अहिले नमूना घर भएको छ। स्वदेशी तथा विदेशीहरु पनि आजकल त्यो घर हेर्न जाने गरेका छन्।

सोच
एक जनाको प्रयासले एउटा जीर्ण घर नमूनाघरमा परिणत हुन सक्छ भने सबैजनाको प्रयासले सिङ्गो देश नमूना देश बन्न सक्छ। किनभने एउटा र अर्को गर्दै त्यस्तै घरहरुले टोल बन्छ। टोलहरु मिलेर वडा बन्छन्, वडाहरु मिलेर नगर, नगरहरु मिलेर जिल्ला अनि अंचलहरु गर्दै सिंगो देश बन्छ। तर हामीले आफ्नो घर बनाउने बेलामा गर्ने जति दुःख र त्याग पनि नगरि देश बनोस् भन्ने चाहना राख्न थाल्यौं भने हाम्रो सपना पूरा कहिले होला भन्न सकिन्नं। हामीले अहिले आफ्नो दायित्व के हो, कर्त्तव्य के हो र हाम्रो आचरण कस्तो हुनुपर्छ भन्ने कुरामा जरैदेखि गहिरिएर सोच्ने बेला भएको छ।

पन्ध्र दिन फोहोर उठेन भनेर हामी कुर्लन्छौं तर साँझ परेपछि चारैतिर हेर्दै आफ्नो घरको फोहोर लगेर बाटोमा मिल्क्याएर आउँछौं। दुइ चार दिन ल्याण्डफिल साइटमा जायज वा नाजायज मागहरुका कारण फोहोर पुरुयाउन नसकेको बेला सम्बन्धित निकायहरुको भर्त्सना गर्नु संगसंगै आफ्नो घरको मात्र फोहोर खाल्डोमा हाल्ने वा आगो लगाउने काम हामी मध्ये कतिले गर्र्यौं?

आत्मा साक्षी राखेर एकै छिन हामी सोचौं, हामी मध्ये कतिले नछलिकन कर तिरेका छौं, कतिले घरमा बिजुलीको मिटरमा कैफियत नगरि तिर्नुपर्ने जति तिरेका छौं, कतिले सार्वजनिक सम्पत्तिको संरक्षण गरेका छौं, कतिले पद र सुविधाको दुरुपयोग नगरि इमानदारिता देखाएका छौं? अनि पद र जिम्मेवारी सम्भालेकाहरुले पनि कृत्रिम अभावहरु खडा नगरेर, जनताको आँखामा छारो नहालेर, सत्यतथ्य नलुकाएर, अनावश्यक मोल नबढाएर, धेरैलाई गरीव बनाएर थोरैको ढुकुटी भर्ने कृयाकलापहरुलाई नियन्त्रण गर्न के प्रयास मात्र भएपनि गरेका छौं त?

हामी त मन्दिरमा गएर समेत लाइन पेलेर अर्कोले भन्दा पहिले पुण्य कमाएर आफ्नो बाटो तताउन हतार गर्छौं, आफ्नो सुविधा खोज्नेबेला अरुलाई असुविधा भए भर्सेला परोस् भन्छौं, बाटो ढाकेर निर्माण सामाग्री थुपार्छौं, ट्राफिक नियम मान्ने भनेको त लाइसेन्स खोसियो भने छुटाउनका लागि पुलीसमा मान्छे नभएकाहरुले मात्र हो भन्ने सोच राख्छौं। हरेक समस्याको समाधान टायर बालेर हुन्छ भन्नेमा बिश्वास गर्छौं, बाटो रोकेर प्रदर्शन गर्दै अप्ठ्यारोमा चेपेर माग पूरा गराउने दबावको राजनीतिलाई मूल मन्त्र मान्छौं। आफ्नो विरोध गर्नेहरुलाई साम्य पार्न उसको गुनासो सुन्ने भन्दा पिटपाट पारेर चुप लगाउनेलाई समाधान ठान्छौं। हरेक कुरामा शीघ्र परिणामका लागि शर्ट कट मात्र हान्न खोज्छौं। हरेक समस्याको क्षणिक समाधान मात्रै खोजेर त्यसलाई पन्छाएर अघि बढ्न खोज्छौं।

हाम्रा आधारभूत सोचाई र आचरणमा परिवर्तन ल्याउनका लागि अलिअलि त्याग अनि अलि धेरै संयमको खाँचो छ। किनभने सानासाना कुराहरुबाट शुरु नगरि ठूला फड्काहरु मार्ने प्रयासमा मान्छे खुर्मुरिएर गुल्टिन सक्छ। तर त्यति थाहा हुँदाहुँदै पनि हामीले सामूहिक प्रयास बिना चमत्कार हुन्छ भन्ने सोच्न थाल्यौं भने भोलिको ईतिहासले आजको हाम्रो पुस्तालाई कुन रुपमा मूल्याँकन गर्छ होला, यो हामीले नै सोच्नु पर्ने कुरा हो।

नेपाल पत्रिकामा मेरो पाक्षिक स्तम्भ “बायाँ फन्को” बाट साभार
प्रकाशित २०६५ माघ २६

Advertisements

One thought on “तीन प्रसंग र एक सोच

  1. कती महत्ब हुन्छ सका रात्मक ” सोच ” को ब्यक्ती हुँदै मुलुकलाई !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s