सुर्ता नगर-यहाँ सब ठीक छ

असार २६, २०६६ नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को”मा प्रकाशित

आकस्मिक रूपमा नसोचेका कुराहरू बेलाबेला हुने गर्छन् । कुनै सुखद अनि कुनै दुःखद । एउटा यस्तै सुखद संयोग थियो, स्कुल पढ्दाका केही साथीहरूसँग अचानकको भेटघाट । मित्रताको अर्थ भनेको कति समयपछि भेट्नु हैन रहेछ, भेटेपछि नभेट्दाको दूरी स्वात्तै मेटियो कि मेटिएन भन्ने मात्र हो रहेछ भन्ने कुरा त्यो भेटले बतायो । समयले मान्छेलाई कहाँकहाँ धकेल्दो रहेछ, कति बाटोहरूलाई कताकता मोड्दो रहेछ, कति नयाँ मान्छे भेटाउँदो रहेछ, कति पुराना मान्छे छुटाउँदो रहेछ । अनि, त्यही समयले कुनै सरकारी कार्यालयको अव्यवस्थित फाइलका ढड्डाहरूमा हराएका कागजहरू जस्तै स्मृतिका पानाका खातहरूमा लुकेका सम्बन्धहरूलाई खोतलखातल पारेर अगाडि पनि ल्याइदिँदो रहेछ । झारपातहरूले छोपेर हराइसकेको, बिर्सिसकेका गोरेटाहरू अनि तिनमा हराएका पाइलाका डोबहरूलाई अचानक छर्लंग पारेर आँखा अघि ल्याइदिँदो रहेछ समयले।

कुनै दिन बिनाकुनै सूचना अचानक अतीतलाई वर्तमान बनाइदिने समयले त्यसै गरी हामी केही पुराना साथीहरूलाई एउटै मोडमा भेटाइदियो। त्यहीँ कुराकानीका क्रममा थाहा भयो, हाम्रो समूहका धेरैजसो साथीहरू यो देशमा छैनन्। विदेशमा आ-आफ्नो बन्दोबस्त गरेर बसेका छन्। अनि, इमेलको माध्यमबाट सबै अलिअलि गर्दै भेटिन थाले। एकएक गर्दै सबै फेरि सम्पर्कमा आउन थाले। त्यसपछि त मानौँ, यस्तो हुन थाल्यो, हामी कहिले कतै अलमलिएका नै थिएनौँ। विश्वको ठ्याक्कै अर्को पाटोमा बस्नेहरूका पनि मिनटैपिच्छेका गतिविधिहरू थाहा हुन थाले। सबैभन्दा अचम्मको अनुभूति त के थियो भने, जिन्दगीको दौडमा कहाँ-कहाँ पुगेका ती हामी सबैमा खासै फरक केही पनि आएको थिएन। हामीलाई यस्तो अनुभव भयो, मानौँ अझै पनि हामी त्यही स्कुले दौतरी नै हौँ। हाम्रा कुराहरू पनि अझै त्यस्तै नै थिए। हाम्रो माझमा हामी त्यही नै थियौँ, त्यस्तै नै थियौँ। शारीरकि रूपमा धेरै परविर्तन भएका थिए तर मन, भावना र एकअर्काप्रतिको स्नेह जस्ताको त्यस्तै थियो।

हामी त्यस्तै रहे पनि हाम्रा वरपिरिका सबै कुरा भने कहाँबाट कहाँ पुगिसकेका छन् । यहाँ रहेका साथीहरूलाई त सबै थाहा नै भएको कुरा हो । तर, वर्षौंदेखि विदेशमा रहेका साथीहरूको सबैभन्दा ठूलो प्रश्न हुने गर्छ, कस्तो छ नेपाल ? बडो कठिन हुने गर्छ त्यस्तो बेलामा । के भन्नु ? बाहिर बसेकाहरूका अगाडि आफू बसेको देशको बदख्वाइँ गर्न पटक्कै मन लाग्दैन तर आफँैलाई ढाँट्न पनि सकिन्न । उसै पनि सूचना र सञ्चारले फड्को मारेर सिंगो विश्वलाई एउटा कम्प्युटरको मनिटर बनाइदिएका बेला छलेर पनि कसलाई छल्नु र ! तरै पनि मन आहत हुन्छ, हो तिमीहरूले सुनेका कुराहरू अतिरञ्जित होलान् तर असत्य पनि होइनन् भन्दा छातीमा एक मनको ढुंगा बोक्नुपर्छ ।

धेरै समय पहिलेको कुरा पनि कहाँ हो र ? आकाश-पाताल फरक भइसकेछ हरेक कुरामा । यो परविर्तन आकस्मिक रूपमा रातारात भएको पनि होइन । विस्तारै विस्तारै नै भएको हुनुपर्छ किनभने हरेक कुराको जस्तै परविर्तनको पनि त आफ्नै गति हुन्छ । फरक यति मात्र हो, त्यो गतिलाई हामीले हेक्का गर्यौँ कि गरेनौँ । आफ्नो जिन्दगीको संघर्षका क्रममा कति छिटो बिहानलाई दिन, दिनलाई साँझ, साँझलाई रात र रातलाई फेर बिहान बनाइरहेका हुन्छौँ हामी । कति कुराहरू हेक्का गर्न भ्याउँदैनौँ । एउटा कुराको पछि दगुर्दा दगुर्दै अरू कति कुराहरूलाई हेर्न बिर्सिन्छौँ हामी । अनि, कुनै बेला एकोहोरिएर सोच्दा पो थाहा हुन्छ, कतिपय कुराहरू त चाहेर पनि सुधार्न, फेर्न र बदल्न नसक्ने भइसकेका हुँदा रहेछन् ।

त्यतिबेला वाग्मती खोलामा पानी बग्थ्यो-निर्मल, सफा पानी। वर्षातको बेला पुलको माथिमाथिसम्म छचल्कने गरी बाढी आउँथ्यो। सिंगैसिंगै रूखहरू पनि बगाएर ल्याएको देखिन्थ्यो,जसलाई सूरा पौडीबाजहरूले बाढीमा हाम्फालेर किनारामा ल्याउँथे। कहाँबाट आउँथे होलान् ती रूखहरू? अहिले त वाग्मतीमा पानी नै दुर्लभ भइसक्यो, रूखहरू पनि कहाँ छन् र बगाउनलाई ! पानी कम हुने बेला वाग्मतीको डिलमा उभिएर हेर्दा तल भुइँमा बालुवा देखिन्थ्यो, ढुंगाहरू देखिन्थे अनि माछाहरू पनि देखिन्थे । त्यो पानीमा हामी पौडिन्थ्यौँ । कति नै भएको छ र ? तर, आज वाग्मतीको जुन अवस्था छ, त्यहाँसम्म पुग्ने परविर्तनको क्रमलाई हामीले कहाँ हेक्का गर्यौँ ? गरेका भए सायद यति छिटो यस्तो हुने थिएन होला वाग्मती ।

त्यतिबेला आमा, दिदीहरू कतै बिहे खाएर लटरम्म गहना लगाएर आधा रातमा हिँड्दैहिँड्दै घर आइपुग्थे । निर्धक्कसँग कोही पनि कहीँ पनि कुनै पनि बेला ओहोरदोहोर गर्न सक्थे । सिंगो देश नै सबैको घरजस्तो थियो । न तराईमा कोही पहाडिया हुन्थ्यो, न पहाडमा कोही मधेसी । अहिले एउटा टोलबाट अर्को टोलमा जान पनि सोच्नुपर्ने भएको छ । अरू जिल्लाबाट याच्र्ाागुम्बा टिप्न जानेहरू त्यहाँका लागि अब बाहिरिया भइसकेछन् । लखेटीलखेटी, पिटीपिटी सिध्याउनु पर्ने बाहिरियाहरू । अहिले त हामी हल्लाको भरमा कुनै अपरिचितलाई बच्चाचोर हो भनेर मार्न सक्ने बहादुर भइसकेछौँ । पहिले त नेपाली हुनु नै परचिय हुन्थ्यो तर अब त्यतिले मात्र नपुग्ने भएछ । यो परविर्तनको गतिलाई पनि हामीले देख्न सकेका भए, यति छिट्टै यस्तो अवस्था सायद हुने पो थिएन कि ! किनभने, यो रातारात भएको परविर्तन त पक्कै होइन तर हामीले यसलाई पनि किन देखेनौँ ?

हामीमा संवेदना हराएको हो भनेर मान्न सकिँदैन । त्यो कुराको ज्वलन्त उदाहरण हो,ख्याति अपहरण र हत्याका अभियुक्तप्रतिको जनऐक्यबद्धता। सायद नै इतिहासमा कहिले पनि मृत्युदण्डका लागि यति ठूलो आवाज उठेको होला। बाहुन, क्षेत्री, मधेसी, राई, लिम्बू, गुरुङ वा अन्य कुनै पनि जात र सम्प्रदायका नेपालीहरू यो एउटा कुरामा त मतैक्यता देखाउन सक्दा रहेछन्। सबैले ख्याति नामकी ती अबोध युवतीमा आफ्ना छोरी-नातिनी र बहिनी देखेका थिए त्यतिबेला। ती सबै नेपाली भएका थिए त्यतिबेला। यो एकता, यो भावनालाई चिन्न सक्ने हो भने र सही दिशामा मोड्न सक्ने हो भने अझै पनि हातेमालो गरेर अघि बढ्न ढिला भएको छैन। बस्, आफूलाई सबैभन्दा पहिले नेपालीका रूपमा चिन्ने सानो र सरल प्रयास मात्र गरे पुग्छ।

अनि कुनै दिन इमेल र ‘च्याट’मा भेटिने प्रवासी वा विदेशी मित्रका प्रश्नहरूका कुनै पनि बहाना नबनाईकन सकारात्मक उत्तर दिन पाइनेछ, छाती खोलेर गर्व गरेर ढुक्क भएर भन्न पाइनेछ, सुर्ता नगर साथी हो, यहाँ सबै ठीक छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s