संस्कार-सुन्ने र पढ्ने

जेष्ठ ३, २०६६, नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” मा प्रकाशित

tuwanlo

एक जना परिचितको पुर्ख्यौली घरमा गएको बेला अचानक धेरै पुरानो एउटा साहित्यिक पत्रिका फेला पर्न गयो। २०२१ सालमा निस्किएको तुवाँलो नामक त्यो मासिक पत्रिका प्रेम कोइराला र चैतन्य देवकोटको सहसम्पादनमा प्रकाशित भएको रहेछ। त्यो तुवाँलोको चौथो अंक रहेछ। त्यति पुरानो साहित्यिक पत्रिका देख्दा उत्पन्न भएको स्वाभाविक कौतुहलताले गर्दा सर्र पानाहरु पल्टाउँदा त्यसमा डा. परशु प्रधानको धारावाहिक उपन्यास, माधव घिमिरे र पारिजातको कविता जस्ता केही कृतिहरु रहेछन्। ती नामका कारण अद्योपान्त त्यो पत्रिका पढ्न मन लाग्यो, पढियो। हुन त त्यसका कतिपय पानाहरु धमिराले पनि खान भ्याइसकेका थिए उबेलाको छपाइमा अहिलेको जस्तो निखार त कसरी हुनु र, तर पनि माथि उल्लिखित श्रष्टाहरु र अन्य सामाग्रीहरुका कारण आफू जन्मनुअघिको त्यति स्तरिय साहित्यिक पत्रिका एउटा सुखद आश्चर्य थियो। ती सबैभन्दा पनि अर्को एउटा कुराले गर्दा त्यसको चर्चा गर्नु अहिले सान्दर्भिक हुन्छ भन्ने लाग्यो।

 

तुवाँलोमा अन्त्यतिर एउटा स्तम्भ रहेछ जसमा नेपाली कृतिहरुका अंग्रेजी अनुवाद छापिने प्रावधान रहेछ। प्रेम कोइरालाको मान्यता के रहेछ भने अंग्रेजीमा अनुवाद गरेपछि मात्र नेपाली साहित्यलाई विश्व बजारमा स्थापित गराउन सकिन्छ। नेपाली लेखकहरुलाई विस्तृत आकाश दिनका लागि त्यो पहिलो पाइला हुन्छ। हुन त त्यतिबेला संसार सूचना प्रविधिको सन्दर्भमा अहिले जस्तो विकसित थिएन। अंग्रेजीमा अनुवाद गर्नुभन्दा पनि अंग्रेजी पढ्ने पाठकहरु सम्म त्यसलाई पुरुयाउनु चाहिँ फलामको च्यूरा चपाउनु जस्तै कठीन कुरा हुन्थ्यो होला। तर उपलव्धिको सुरुवात भनेको त एउटा सानो पाइला र सोचबाटै मात्र त जागृत हुने कुरा हो। त्यो सोच त्यतिबेला तुवाँलोका सम्पादकमा रहेछ।

त्यो अंकमा एउटा पाठक प्रतिकृया पनि थियो जसलाई लेखेका रहेछन् डा. ताना शर्माले। उनले त्यतिबेला नेपाली साहित्यको अंग्रेजी अनुवाद हुनु हुँदैन भन्ने पक्षमा निकै धेरै अक्षरहरु खर्चेका रहेछन्। नेपाली पत्रिकामा नेपाली बाहेक अरु कुनै पनि भाषाले स्थान पाउन हुँदैन भन्ने अतिराष्ट्रवादी चिन्तन पनि उनको पत्रमा रहेछ।  यो अर्कै कुरा हो उनी अहिले आफै धेरजसो समय अमेरिकामा बस्छन्। उनको सोचाई सही थियो कि थिएन भन्ने कुरा आजको समयले र त्यसपछिका उनका व्यवहारले बताइसकेको हुनाले यो विषयमा अरु केही भन्नु आवश्यक छैन।

तर हामी अहिले बल्ल आएर धमाधम नेपाली साहित्यलाई अनुवाद गर्ने र इन्टरनेटको माध्यमबाट फैलाउन काममा अलिअलि भए पनि लागेका छौं। राष्ट्रिय स्तरमा त्यसको लागि कुनै प्रभावशाली सोच, सहयोग र योजना भन्ने कुरा चाहिँ अहिले त छैन भने त्यतिबेला त झन् के नै थियो होला। साहित्य  सङ्गीत र कलाका लागि स्थापित निकायहरु पहिले पनि राजनीतिको दाउपेच खेल्ने अखडा हुन्थे, अहिले पनि त्यस्तै छन्। त्यतिबेला दाह्रा सिंह मार्का कुश्ती हुन्थे, आजकल अन्डरटेकर मार्का कुश्ती हुन्छन्, फरक त्यतिमात्र हो। शायद त्यसैको फलस्वरुप हुनुपर्छ, तुवाँलो एक वर्षभन्दा बढी चलेनछ।  तुवाँलोसंगै त्यसको सोच र अभियान पनि बन्द भएको हुनुपर्छ। हुन त समयभन्दा अघि पलाएको सोचलाई संसारले हत्पति बुझेको कहीं पनि देखिंदैन, तर हाम्रो देशमा त यो समस्या हरेक क्षेत्रमा विकराल रुपमा विद्यमान छ। कुनै पनि क्षेत्रमा होस्, नवीन र दूरगामी सोचाईहरु जहिले पनि परास्त भएका छन्, अपहेलित भएका छन्।

हामी अरुले गरेर देखाइसकेका कुराहरुलाई मात्र पच्छ्याउने रोगबाट ग्रस्त छौं। त्यसो नगर्नेहरु जहाँ जहिले पनि अल्पमत र ओझेलमा परेर आफ्नो अस्तित्व र स्थीरताको लागि संघर्ष गर्दागर्दै बिलीन भएर जाने गरेका छन्। यो कुरा राजनीति, कला, सरु्गीत, साहित्य, विकास, योजना सबै कुरामा लागू हुन्छ। सजीवनको तेलबाट उर्जा निकाल्ने देखि लिएर आइन्सटाइन र न्यूटनका सिद्धान्तलाई चुनौती दिनेहरुसम्मकाले यहाँ ठाउँ पाउँदैनन्। राजनीति र आन्दोलन नगरि कुनै मान्छेले आफ्नो क्षेत्रको कुनै महत्वपूर्ण उपलव्धि गर्न सक्दैन। एउटा समूह र वादमा नगाँसिइकन कसैले आफ्नो प्रचारप्रसार र पाउनुपर्ने ठाउँ पाउँदैन। एउटा समूहकोले अर्को समूहकालाई गन्दै गन्दैन। आफूलाई साहित्यकार भन्नेहरु अधिकांशले अरुका कृतिहरु पढेका सम्म पनि हुँदैनन्। कसैको प्रशंसा गर्न पनि आफूलाई त्यो मान्छेबाट फाइदा हुँदैन भने कन्जुस्याई गर्छन श्रष्टाहरु। आफ्नो समूहलाई संसार मानेर कुवामा उफ्रिन्छन् अधिकांश मान्छेहरु। आआफ्नै डम्फू यति ठूलो आवाजमा बजाइरहेका हुन्छन्, अरुको कुनै पनि आवाज कानको जालीबाट भित्रै छिर्न पाउँदैन।

हुन त यो प्रतिस्पर्धा र व्यापारको युग हो, नबोल्नेको चामल पनि नबिक्ने बेला हो। यहाँ हरेक कुरा वस्तुका रुपमा विज्ञापन र वजार व्यवस्थापन नभै बाँच्न कठीन छ। तर साहित्य, कला, सरु्गीत जस्ता कुराहरुमा यो लागू हुनासाथ तिनको सिर्जनात्मक पक्ष आझेलमा पर्न जान्छ। केही समय निकै छिटो उज्यालो र चम्किलो भएर त्यति नै छिटो निभ्ने तिहारमा बल्ने गमला जस्ता हुन पुग्छन् ती। तुलनात्मक रुपमा हेर्ने हो भने यो कुरा आफैमा स्पष्ट देखिन्छ। अहिले पनि अधिकांश लेख्ने मान्छेहरुका एउटै गुनासो हुन्छ, लेख्न त लेख्ने तर छाप्ने कहाँ? राम्रा  सङ्गीत बनाउनेहरुका एउटै गुनासो हुन्छ्, सुन्ने कसले? पढ्ने र सुन्ने पनि एउटा संस्कार हुन्छ तर त्यो संस्कार बनाउन जिम्मेवार र प्रभावशाली निकायहरुले पहिले पनि सोचेनन्, अहिले पनि सोचेका छैनन्।

व्यक्तिगत रुपमा भएका प्रयासहरु त व्यक्तिको क्षमताले धानुन्जेल मात्र न क्रियाशील हुने हुन्। त्यसैले त वासुशशिको अवसानपछि उनले धानेका कुरा सञ्चय हुन सकेनन्।  नारायणगोपालको बागीनाको अर्थै पनि धेरैलाई थाहा भएन। उत्तम कुँवर गएपछि उनको पत्रिकाको रुप पनि हरायो, रेखा पनि मेटियो र प्रेम कोइरालाहरुको प्रयास तुवाँलो भित्रै विलीन भयो। सरकारी स्तरका नियमित साहित्यिक पत्रिकाहरुलाई पनि द्रूत गतिमा परिवर्तन हुने राजनीतिक परिदृश्य र तिनका हस्तक्षेपका कारण आफ्नो गरिमा कायम राख्न र आफ्नो पर्कमा मधु संगालेर राख्न हम्मेहम्मे भैरह्यो। बेलाबेलामा झंकृत हुन खोज्दै कोलाहलमा विलीन हुनेहरु अरु पनि कति होलान्। यस्ता अन्य अरु थुप्रै विचार र अभियानहरु पाउनुपर्ने मलजल नपाएर तुहिएर गए।

उच्छृँखलतालाई पाखा लगाएपछि मात्र मान्छे चेतनशील, धैर्यशाली, अरुप्रति पनि सम्वेदनशील र सुसंस्कृत बन्दछ। अनि त्यस्तै मान्छेहरुका जमातले नै मात्रै सुसंस्कृत समाजको सिर्जना गर्छन्, सुसंस्कृत राष्ट्रको जग हाल्छन्। राजनैतिक क्रान्तिले शक्ति र नेतृत्वको परिवर्तन मात्र निम्त्याउँछ। त्यससंगै आर्थिक, सामाजिक र वैचारिक क्रान्ति पनि हुन सक्नुपर्छ। त्यस्ता क्रान्ति ल्याउन खोज्नेहरुलाई उचित सम्वर्द्धन गर्नुपर्छ। नयाँ नेपाल बनाउने बेला यो कुरालाई पनि सम्बोधन गरियो भने इतिहासका भूलहरु सुधारिने छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s