भाले बासेको साँझ

जेष्ठ ३, २०६६, नेपाल पत्रिकाको मेरो स्तम्भ “बायाँ फन्को” बाट

घरमा कसैको बिहे भनेको अधिकांश मान्छेका लागि एउटा अत्याशलाग्दो घटना हुने गर्छ । सके पनि नसके पनि अनेकौँ टन्टा गर्नुपर्ने अनि आफ्नो ल्याकतले भ्याए-नभ्याएका कुराहरूमा खर्च गर्नुपर्ने । खर्च गर्न सक्नेहरू त झन् मच्चीमच्ची हाम्रो यो प्रदर्शनमुखी संस्कारको होडबाजीमा सहभागी हुने नै भए । आवश्यकभन्दा अनावश्यक र अनुत्पादक ठाउँहरूमा खन्याउनुपर्ने हाम्रा चलनहरू छन् । मरीमरी जोगाएको पैसाले नपुगे ऋण खोजेर भए पनि डायनोसरजस्ता हराइसकेका साथीभाइ र हत्पति कहिल्यै नभेटिने नातागोता र दाजुभाइहरूलाई बोलाएर खुवाउनुपर्ने हाम्रो बाध्यता हुने गर्छ । भूलवश छुटेकाहरूले त तीन पुस्तासम्म पनि त्यो कुरालाई बिर्सलान् भनेर नचिताए पनि हुन्छ।

 

अनि,तिनै निम्त्याइएका मान्छेहरूले स्न्याक्स घुमाउन कञ्जुस्याइँ गरेको,धेरै खालान् भनेर चिल्लोपीरो बढी हालेको, परिकारहरू कम भएको जस्ता गुनासो गर्दा हात जोडेर माफी माग्दै बिदा पनि गर्नुपर्ने हुन्छ । अझ दुलाहा वा दुलहीको उचाइ, मोटाइ, वर्ण, नाकनक्सा, पारिवारिक पृष्ठभूमिजस्ता कुराहरूमा पनि धेरथोर प्रतिक्रिया सुनेर सहनुपर्ने त आफ्नै ठाउँमा छँदैछ ।

सामाजिक संस्कारहरूमा यतिभन्दा बढी गर्न नहुने भनेर बेलाबेलामा मापदण्डहरू तोकिने गर्छन् तर अधिकांश समयमा त्यस्ता नीति-नियम बनाउने र समाजमा उदाहरण बन्न सक्ने हैसियतका मानिसहरूले नै त्यस्ता मापदण्डको भकुन्डो खेल्छन् । अहिले त झन् हिन्दी सिनेमा र धारावाहिकहरूबाट प्रभावित हाम्रो समाजमा भोजभतेरको थलोमा दुलहादुलहीलाई बिहारतिरको नौटंकीमा देखिने इन्द्रको आसनजस्ता सजाइएका अचम्मका कुर्सीहरूमा शोभायमान गराएर राख्ने चलन पनि छ । आफ्नो नयाँ जीवनको सुरुवात गर्न तम्सेका ती जोडीहरू कहिल्यै नचिनेका नातागोताहरूलाई नमस्ते गर्दागर्दा थकित भएर बसेका हुन्छन् । अर्को परिवारका ती दुर्लभ नातेदारहरूलाई कुनै दिन अन्त कतै भेट्दा सायद उनीहरूले चिन्न पनि सक्दैनन् । त्यसैले बिहेका भोजहरू कतिपय बोलाउने र बोलाइने दुवैका लागि बाध्यताजस्ता हुने गर्छन् । कतिपय ठाउँमा त आफूले चिनेका मान्छेहरू पनि खोज्न गाह्रो हुन्छ ।

यसै प्रसंगमा केही दिनअघि वरिष्ठ शल्यचिकित्सक सरोज धितालकी छोरीको बिहेको कुरालाई उल्लेख गर्नु समयसापेक्ष हुन्छ । त्यो बिहे धेरै कुरामा उदाहरणीय थियो । सबैभन्दा रमाइलो त के भने उनीहरूले हाम्रो समाजमा चलिआएको बाध्यात्मक प्रचलनलाई सजिलैसँग परविर्तन गरििदएका थिए । बिहे भनेको दुलाहा र दुलहीको जीवनको एक अविस्मरणीय र महत्त्वपूर्ण घटना हो भनेर निम्तालुहरू छान्ने जिम्मा नै उनीहरू दुई जनालाई दिइएको थियो । उनीहरूको जीवनको सुरुवातमा कसको उपस्थिति चाहन्छन्, ती नै निम्त्याइएका थिए । बिहेको नाममा गरिने झमेलाहरू केही पनि गरिएको थिएन । दुई परिवार बिहान सँगै बसेर साधारण हिसाबले माला-औँठी साटासाट गरेपछि साँझ थोरै मान्छेहरूका बीच दुवैले आफ्नो दाम्पत्य जीवन सुरु भएको जानकारी गराएका थिए अनि एकअर्कालाई साथ दिने प्रतिबद्धता प्रकट गरेका थिए । त्यसपछि सर्वधर्म परिषदबाट इसाई, हिन्दु, मुसलमान र बौद्ध धर्मका एक-एक गुरुहरूले ती जोडीलाई आशीर्वाद दिएका थिए । र, बिहे सकिएको थियो ।

अर्को उदाहरणीय पक्षचाहिँ त्यो अन्तरजातीय विवाह थियो । आज हामी नेपाली-नेपालीबीच जात र सम्प्रदायको कुरा डढेलो बनेर सल्किरहेका बेला यो एउटा आशा जगाउने कार्य थियो । यदि डा धितालझैँ सबै बाबुआमा यो कुरामा उदार भइदिने हो भने भोलिको पुस्तालाई बाहुन, नेवार, राई, लिम्बू वा अन्य कुनै जात वा थरको विभाजनको पीर हुँदैन । हिजोको पुस्ता पनि कट्टर नभइदिएको भए आज हामीले भोगेको विखण्डनको अनावश्यक भारी हाम्रो काँधमाथि हुँदैनथ्यो होला । तर, दुःखको कुरा त के भने अनपढदेखि लिएर पढेलेखेकासम्म कतिपय बाबुआमाहरू आज पनि जात र धर्मका नाममा आफ्ना छोराछोरीहरूलाई बलि चढाइरहेका छन् । आज पनि हाम्रो समाजमा यही कारणले गर्दा टुटेका सम्बन्धहरूका कारण आफ्नो जीवन नर्क बनाएर बाँचेकाहरू वालछ्याल देख्न सकिन्छ । आँटै गरेर भिड्नेहरूको जीवनलाई पनि हाम्रो समाजले एउटा लामो संघर्षको कथा बनाइदिन्छ ।

यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने बाबुआमाले सहज रूपमा यस्ता कुराहरूलाई स्वीकार गरििदनासाथ समाज भन्ने जनावर कुर्लन सक्दैन । तर, जब अभिभावकहरूले नै ती सम्बन्धहरूलाई अनेकौँ बहानामा अप्ठ्यारो बनाउँछन्, त्यतिबेला समाज झुन्ड बनाएर अरूको जीवनका बारेमा निणर्ायक बन्न तम्सिन्छ । वर्षौंदेखि चलिआएका कुराहरू र आफूले वर्षौंदेखि पालिरहेका मूल्य र मान्यताहरूलाई परविर्तन गर्न मान्छेलाई कठिन नहुने होइन । तर, कुनै जमानामा सही मानिएका कुराहरू अहिले आएर समय र चेतनाको कसीमा घोट्दा अर्कै रूपमा देखिन सक्छन् । हामीमा त्यो परविर्तनलाई आत्मसात् गर्न सक्ने ह्याउ हुनैपर्छ ।

एक जना परिचितकी छोरीले केही समयअघि यस्तै अन्तरजातीय बिहे गर्नका लागि झन्डै तीन वर्ष बाबुआमासँग संघर्ष गर्नुपरेको स्मरण पनि यो पंक्तिकारको मनमस्तिष्कमा ताजै छ । अरू सबै कुराले लायक त्यो केटो जात नमिलेका कारणले मात्र उनीहरूका लागि अस्वीकार्य थियो । त्यतिबेला उनीहरूलाई सम्झाउन खोज्नेभन्दा बढी भड्काउने आफन्तहरू थिए । अरूको जिन्दगीमा समस्याहरू बल्झाएर रमाइलो मान्ने प्रवृत्तिका तिनै आफन्तहरू उनीहरूलाई त्यतिबेला शुभचिन्तक लाग्थे । तर, अन्ततः उनीहरूले छोरीको जिद्दीका सामु घुँडा टेके । अहिले अवस्था बिलकुलै भिन्दै छ, ज्वाइँ र ससुराभन्दा बढी बाबुछोरा छन् उनीहरू । तर, यही समाजमा अर्का परिचितका एक जना छोरा वर्षौंदेखि बाबुआमाको मन दुखाउन नसकेर आफ्नो छातीभित्र विरहको आगो बोकेर बाँचिरहेका पनि छन् ।

राजनीतिक क्रान्ति र परविर्तन मात्रले नयाँ केही पनि बन्दैन । सामाजिक क्रान्ति अनि वैचारकि परविर्तन मात्र नयाँ युगको भाले बनेर बास्न सक्छ । डा धिताल र उनीजस्ता अरू बाबुआमा ती भालेहरू हुन् । तिनले बासेको आवाजलाई विभाजनका पक्षपातीहरूको कोलाहलमा हराउन दिनुहुँदैन । एकपछि अर्का भालेहरू बास्न थाल्नुपर्छ । सिमसिमे राजाको पालोमा बनेका बाहुन, क्षत्री, वैश्य वा शूद्र भन्ने प्रथा भोलिको पुस्तामा बाँकी नरहेर सबै नेपाली मात्र भैदिए भने हाम्रा कति समस्याहरू आफैँ हराएर जालान् । अनि, त्यो अनावश्यक विवाद र झैँ-झगडामा खेर जाने समयलाई हामीले अरू कति आवश्यक कुरामा खर्चन पाउँला ।

यही आशावादी सपना देख्दै त्यस दिन डा सरोज धिताल र सुलोचना मानन्धरकी छोरी अनि उनीहरूका मगर ज्वाइँसापलाई शुभकामना दिएर फर्कें म ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s