बिल्ली व्यान व्यान र भेडाको ऊन

मंसीर ११ को साँझ र मंसीर १२ को विहान मेरो लागि अविस्मणीय रह्यो। लगातार मैले दुइथरि विशिष्ट संगीतको अनुभूति गर्न पाएं। फरक फरक भाषामा प्रस्तुत हुँदाहुँदै पनि त्यसमा एउटा समानता खोज्न मैले सकें। संगीतको भाषा हुँदैन भन्ने मेरो मान्यता अझै बढी बलियो भएको पनि मैले अनुभव गर्न पाएं।   

उताको कुरो 

जापानी राजदूतावासको निमन्त्रणा, 
मंसीर ११ को साँझ,
सोल्टी क्राउन प्लाजामा जापानका प्रख्यात लोकगायकद्वय ताकासी सुगावारा र सुसुमु सुगावाराको कार्यक्रम।  
यो निमन्त्रणालाई म छोड्न चाहन्नथें किनभने म संगीतको मर्मज्ञ नभए पनि कुनै पनि संगीतको प्रेमी भने अवश्य हुँ। जापानी संगीत यसअघि गोडाइगो भन्ने समूहले दशरथ रंगशालामा प्रस्तुत गरेको बेला सुनेको थिएं  तर त्यसवेला म साह्रै नै केटाकेटी थिएं। अलि अलि अस्पष्ट संझना मात्र छन् म संग त्यसवेलाका। 

 

विल्ली व्यान व्यान नामको उक्त समूहले नेपाली वाद्ययन्त्र र कलाकारहरुसंग मिलेर जव संगीत शुरु गर्यो, त्यसको शुरुका केही झंकारले नै त्यहाँ उपस्थित श्रोताहरुलाई आफ्नो माधुर्यले झ्याप्पै समातिसकेको थियो। साकुरा बोलको उक्त गीतमा नेपाली शव्दहरु, बाँसुरी, सारङ्गी र धिमे समेत बडो मीठोसंग मिसाइएको थियो। त्यो सम्मिश्रणमा एउटा अत्यन्तै मादक सम्मोहन थियो। गायकहरुको गायन शैली र आवाजमा शिष्टता, शालीनता र माधुर्य थियो।
 
त्यसपछि प्रस्तुत भएका सवै गीतहरु  शिरोइ बुरान्को (सेतो पिरु), रेङ्गेसो (सानो घाँसको फूल),  ओसोसुगिता किसेत्सु (ढीला भयो), इमामा कोनो मामा (मलाइ रुन देऊ), सायोनारावो (विदाइ), मुरा मात्सुरी (गाउँको पर्व), अकातोम्वो (झ्यालिन्चा) अत्यन्तै मधुर कोमल र शीतल थिए।

तीन दशक अघिदेखि सकृय यी गायकहरुका गीतहरु र नेपाली लोकधुनहरुमा अनौठो समानताहरु रहेछन्। जापानी शव्दहरुलाई एकछिनको लागि झिकिदिने हो भने तिनलाई नेपाली संगीत नै हुन् भन्न सकिन्थ्यो। त्यसैले पनि होला त्यहाँ उपस्थित श्रोताहरुलाई त्यो संगीत पटक्कै नौलो र अपरिचित लागेन। अर्को रमाइलो कुरा मैले अनुभव गरेको के थियो भने उनीहरुको संगीतमा कुनैपनि कोलाहल थिएन। दुइवटा गितार र एउटा तालवाजामा मात्र पनि यति मीठो संगीतका लहरहरु तरङ्गि भएका थिए, जसले गर्दा धेरै वाद्ययन्त्र विना पनि उत्कृष्ट र मनमोहक संगीत सिर्जना हुन सक्छ भन्ने प्रमाणित भएको थियो। कुनै कुनै गीतमा नेपाली वाद्यवादकहरुले बाँसुरी, सारङ्गी र मादल बजाएका थिए। 

कार्यक्रमको अन्त्यमा उनीहरुले नेपाली कलाकारहरुसंग मिलेर रेशम फिरिरि गाएका थिए। समग्रमा भन्नुपर्दा बिल्ली व्यान व्यानको संगीत र गायन कानमा महको घोल खन्याएको जस्तो थियो। त्यो साँझको लागि मैले महामहिम जापानी राजदूत जेन्जी कामिनागा, निभा निवाका श्याम कक्षपति र जापानी दूतावासको साँस्कृतिक विभागकी मीरा शाक्यलाइ धन्यवाद दिनै पर्छ। 

यताको कुरो 

लगत्तैभोलिपल्ट विहान,
जय नेपाल चित्रघर,
नेपथ्यको नयाँ एल्वम भेडाको ऊनको विमोचन,
अनि फिल्म साउथ एशिया महोत्सवमा विशेष उल्लेख पुरस्कार प्राप्त
वृत्तचित्र “भेडाको ऊन, एउटा गीतको खोजी” को प्रदर्शन।

नेपथ्यको नयाँ गीत र उक्त वृत्तचित्रलाई अलग राख्न सकिंदैन किनभने सो गीतको खोजीमा इभेण्ट नेपालयका किरण श्रेष्ठ, नेपथ्यको गायक अमृत गुरुङ, सङगीतकार दानियल कार्थक र पत्रकार नारायण वाग्ले गोसाइंकुण्ड वरिपरिका भीरपाखा र चौरी गोठहरुमा भौंतारिएको नै उक्त वृत्तचित्रको विषयवस्तु हो।

सात आठ वर्षअघि त्यस क्षेत्रमा भेडा गोठालाहरुले गाउँदा नारायणले सुनेको एउटा लोकगीत उनको संझनामा संधै रहिरहयो। अहिले नेपथ्यको सामीप्यमा आएपछि उनलाई लागेछ, त्यस लोकगीतलाई सही न्याय गरि देशभरि फिँजाउन अमृत नै मात्र एक सही माध्यम हुन सक्छन्। यही सोचले मूर्त रुप लिन्छ जव चार जनाको यो समूह  भेडाको ऊनको खोजीमा विकट र कठीन यात्रामा निस्कन्छ।

वृत्तचित्रको सवैभन्दा ठूलो विशेषता नै यसको सरलपना बनेको छ। ठूला ठूला सोच र योजना बनाएर गरिने प्रयासभन्दा एकदम पृथक असाध्यै साधारण र जहाँ जे हुन्छ, त्यसैलाई जस्ताको त्यस्तै विना सिंगारपटार क्यामरामा यात्राभरि कैद गरिएको छ। यही साधारण चीज नै असाधारण बन्नपुगेको छ वृत्तचित्रमा।

गोसाइंकुण्डसम्म र त्यसका वरिपरिका विकट स्थानहरु, चौंरी र भेडा गोठहरुमा उनीहरुले भेटेका स्थानीय वासीन्दाहरु, फरक फरक ठाँउमा फरक फरक ढङ् मा उनीहरुले उक्त गीतहरु गाइरहँदा वृत्तचित्र संगीतमय बनिरहन्छ। हिउँले ढाकिएका अप्ठ्यारा गोरेटाहरु, अनि नाक ठोकिने ठाडा र चिप्लनासाथ जय शम्भो हुने (अमृतको भाषामा) उकालीहरु, हिमपातका दृश्यहरु, ढकमक्क फूलेका लाली गुराँस, अमृतले आफ्नै धुनमा गाएका गीतहरु, नारायण र दानियलका रोचक वार्तालापले वृत्तचित्रभरि आँखा र कानलाई आराम गर्न दिंदैनन्।

दानियल कार्थकको सेन्स अफ हयूमर आफ्नो चरमचुलीमा देख्न र सुन्न पाइन्छ। चारजनाको वीचको वार्तालाप र गतिविधि जस्ताको त्यस्तै रुपमा देख्दा मलाई लाग्यो, चलचित्रका लागि भनेर गरिने गृहकार्य, योजना र पूर्वनिर्धारित छायाङ्कन विना पनि दर्शकलाई बाँधेर राख्न सकिंदो रहेछ। असाधारण चीज बनाउने लोभमा शायद साधारण चीजका सुन्दरतालाई हामी देख्न सकिरहेका छैंनौं कि क्या हो? 

यो वास्तविक छायाङ्कनको क्रममा निश्चय नै दानियल यस वृत्तचित्रका नायक बन्न पगेका छन्, नारायण बनेका छन् सह अभिनेता, अमृत बनेका छन् विशेष अतिथि कलाकार। यो यथार्थलाई कतै ढाकछोप गर्न नखोज्ने इमानदारी यसको विशेषता बनेको छ। अनि खिच्ने र निर्देशन गर्ने किरण हावा जस्ता लाग्छन्, कुन अर्थमा भने कतै नदेखिए पनि उनको अस्तित्ववोध भने भइ नै रहन्छ। नारायण वाग्लेको व्यक्तित्वको अर्को पाटो देख्न पाउँदा मलाई अचम्म पनि लाग्यो, रमाइलो पनि। सौम्य र गम्भीर मुद्रामा देखिने अनि गहन राजनैतिक विश्लेषण र कठीन यात्राहरुका रोचक विवरणहरुमा लेखिने नारायणको संगीतप्रेमी व्यक्तित्वले मलाई जिल्ल पारेको थियो। 

लौरी विनायकबाट माथि चढ्ने वेलामा लेक लागेर तल तिर फर्कन जव वाध्य बन्दछन् दानियल, भारी मनले छुटिएर बाँकी तीनजना जव हिउँले ढपक्क ढाकिएको उकालोतिर बढ्छन्, त्यहाँनिर त्यो विछोडले दर्शकको मन कटक्क खान्छ। 

सवैभन्दा सोच्न वाध्य तुल्याउने कुरा चाहिं एउटा गीतको खोजीका लागि यो समूहले गरेको मेहेनत हो। नेपाली लोकसंगीतप्रति कति ठूलो माया र सद्भाव होला त जसले उनीहरुलाई वेलावेला आङ नै सिरिरङ्ग हुने विकट पाखापखेराहरुमा भौंतारिन लगायो।  यो लगन र अथक प्रयास गरेर जुन गीत उनीहरुले हामी माझ ल्याएका छन्, त्यसको वदलामा संगीत क्षेत्र र श्रोताहरुले के दिएर त्यसको मोल चुकाउने त? ठूलो रिन मात्र होइन, गुन पनि लगाएकाछन् उनीहरुले। रिन तिर्न त लौ श्रोताहरुले एल्वम किनिदिएर सक्लान् तर गुन चुकाउन त त्यतिले सकिंदैन।

नेपथ्यको एल्वम श्रृंगारको एउटा गीत, “सरुमा रानीको आँशुको कसम” सुन्दा मेरो दिमागमा एउटा प्रश्न उब्जेको थियो। नेपाली  लोकसंगीतमा विश्वबजार घन्काउन सक्ने क्षमता छ। झन् अमृत जस्तो धतङ्गो संगीतकर्मीले ती लोकलयलाई पाश्चात्य वाद्ययन्त्रहरुसंग मिलाएर जुन सिर्जना गर्छ, त्यसले निश्चय नै अन्तर्राष्ट्रिय रुपमा ख्याति पाउन सक्छ। यसअघिको एल्वम रेशम र यसपटकको भेडाको ऊन सुन्दा यिनका संगीतपक्ष ब्ल्याक सबाथ, पिंक फ्लोयड, जिम मोरिसन जस्ता विश्वसंगीतकर्मीहरुको समकक्षमा पुगेको भान हुन्छ। तर यसलाई अन्तर्राष्ट्रिय वजारसम्म लैजान, त्यसको श्रव्यदृश्य प्रचार प्रसार सामाग्री बनाएर विदेशी च्यानलहरुमा प्रवेश गराउन लरतरो आँट, योजना र लगानीले त पुग्दैन। त्यो गर्न कसले कम्मर कस्ने? इभेण्ट नेपालयले राष्ट्रिय स्तरमा मात्र पनि नेपथ्यको यसअघिको रेशम र यसपटकको भेडाको ऊन लाई प्रचारप्रसार गर्न मलाई लाग्छ, आफ्नो बलवूतोले भ्याउनेभन्दा बढी गरिसकेको छ। 

देशको कला, संस्कृति र संगीतको जगेर्ना र अन्तर्राष्टिरुय स्तरमा प्रचारप्रसार गर्ने कुनै पनि सरकारी अथवा गैरसरकारी निकायलाई चासो पनि नहुनु, फुर्सद पनि नहुनु र सोच पनि नहुनु दुर्भाग्य नै हो। नत्र भने स्पेनको एउटा प्रान्तीय भाषाको लोकगीत माकारेनाले संसार झुमाउन सक्छ भने हाम्रो भेडाको ऊनले पनि संसारभरका संगीतप्रेमीहरुलाई न्यानो बनाउन सक्छ। संगीत आफैमा एउटा विश्वव्यापी भाषा हो भन्ने त बिल्ली व्यान व्यानको हालै भएको कार्यक्रमले पनि देखाइसकेको छ।

त्यसैले किरण श्रेष्ठ, नारायण वाग्ले, दानियल कार्थक र अमृत गुरुङको प्रयासको प्रतिफल भेडाको ऊन सुन्दा हामी भित्रैदेखि आभारी बन्नुपर्छ, यसको संकलन, तयारी र रेकर्डिंगका लागि उनीहरुले खर्चेको समय, श्रम र शीपको लागि। त्यति भएन भने यो लगन र जाँगर कतै सेलाउन नपाओस्। यसले संगीतसिर्जनाको लागि परिश्रम र साधना गर्न अरु संगीतकर्मीलाई पनि घचघच्याओस्।

Advertisements

One thought on “बिल्ली व्यान व्यान र भेडाको ऊन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s