कतातिर जाँदै छ हाम्रो संगीत

आजकल रेडियो तथा टिभीमा बज्ने गीतहरुलाई ध्यान दिएर सुन्ने हो भने एकपटक कतातिर जाँदै छ हाम्रो संगीत भनेर सोच्नै पर्ने हुन्छ। प्रविधिको विकाससंगै, किन हाम्रा गीतहरुको स्तर भने खस्किंदो छ? आमसंचारका बग्रेल्ति साधनहरुले व्यापक प्रचारप्रसार गर्ने यो युगमा किन कालजयी गीत संगीत सिर्जना हुन सकिरहेका छैनन् त? श्रोताहरुको स्वाद अनुसार नै गीत संगीत बनाउने हो भनेर पन्छिनु अघि श्रोताहरुको स्वाद कस्तो बनाउने भन्नेमा पनि संगीतकर्मीहरुकै हात हुन्छ भन्ने कुरा बिर्सन पाइंदैन।

अहिले पनि बच्चुकैलाश, नारायण गोपाल, फत्तेमान, प्रेमध्वज, तारादेवी, अरुणा लामाकै गीतहरु र नातिकाजी, अम्बर गुरुङ, गोपाल योन्जनकै सङ्गीत अमर अजर मानिन्छन्। त्यसपछिका पुस्तामा आएर दीप श्रेष्ठ र दीपक खरेलले केही त्यस्ता गीतहरु दिएका छन्। तर त्यसपछिका पुस्ताका कुन चाँहिं गीत संगीत अवको सय वर्षपछि सम्झन सकिएला त?
 
एकपटक फत्तेमानले भन्नुभएको थियो,
“हाम्रो पालामा सवै एकै पटक रेकर्डिङ गर्नुपर्थ्यो। त्यसले गर्दा एक जनाको भूलले पनि सबैको मेहेनत खेर जानसक्थ्यो। त्यही डरले गर्दा पनि कुनै गीत रेकर्ड गर्नुअघि दशौं दिन अघिदेखि सबैले घुंडा धसेर अभ्यास गर्थे। त्यसले गर्दा त्यो गीत सबैको मनभित्रसम्म गड्न भ्याइसकेको हुन्थ्यो। अनि त्यो गीतमा आत्मा रहन्थ्यो। तर अहिले त पालै पालो, टुक्रा टाक्रीमा गीत रेकर्ड गरिन्छ। मैले गाएको गीतमा कसले तवला बजायो, कसले बाँसुरी बजायो भन्ने कुरा म आफैलाई पनि थाहा हुँदैन।” 

कतै प्रविधिको सरलतालाई हलुका रुपमा लिने त्यही अल्छीपना र मेहेनतको अभावले गर्दा त होइन आजकल पानीको माथि उठ्ने वतासे फोका जस्ता गीतहरु मात्र बन्ने गरेका? छिमेकी मुलुकमै पनि अहिले पुरानै गीतहरुलाई रिमिक्स गरेर खानुपर्ने वाध्यता देखा परिरहेको छ।

पहिले गीतकार, संगीतकार र गायक हुन प्रतिभा चाहिन्थ्यो, अहिले पैसा भयो भने जो जे पनि बन्न सक्छ। तर त्यसले संगीत क्षेत्रमा कस्तो दूरगामी प्रभाव पारिरहेको छ भन्ने कसैले सोचेको छ त? विशेष गरेर निजी तवरमा संचालित रेडियो र टिभी त यसतर्फ पटक्कै गम्भीर भएको देखिंदैन। आफ्नो माध्यमहरुमा बज्ने गीत संगीतको स्तर निर्धारण गर्ने बानी बसाल्नुपर्ने होइन र?

तर संगीतको नाममा रेकर्ड भएका जस्तासुकै बेसुरा र बेअर्थी कोलाहलले पनि ठाउँ पाइरहेका छन् र व्यक्तिगत सम्वन्धका आधारका गीतहरु घन्किरहेका छन्। अनि केही संचारकर्मीहरु निर्धक्कसंग भन्न थालेका छन्, 
“श्रष्टाहरु भनेका केही होइनन्, तिनको प्रचार प्रसार गर्ने हामी जस्ता मान्छे हौं, जसले उनीहरुलाई बनाउँछौं। त्यसैले रेडियो टिभीका कार्यक्रम संचालहरुसंग तपाइंहरुले राम्रो सम्वन्ध राख्नुपर्छ। तपाइंहरु ‘प्यासी’ हो, हामी भनेको ‘कुवा’ हौं। तपाइंहरु हामी कहाँ धाउनुपर्छ।” 

यस्तो अवस्था आउनु दुखको मात्र होइन, लाजमर्दो कुरा हो। अहिलेका अधिकांश गायकहरु प्रविधिका गायकहरु हुन्, स्टूडियो गायकहरु। प्रत्यक्ष संगीतसंगै गाउंदा सुरमा गाउनेहरु औ‌लामा गन्न सकिन्छन्। त्यस्तै टिपटापे रचनाकारहरु र धुनचोर संगीतकारहरु पनि प्रशस्त जन्मेका छन् प्रविधिको विकाससंगै।

गीतकार कृष्णहरि वरालले एउटा अन्तर्वार्तामा भन्नुभएको छ,  
“मैले गीत लेख्न शुरु गर्दा रेडियो नेपाल बाहेक रेकर्डिंग गर्ने अरु श्रोत थिएन। त्यहाँ गीत बुझाएपछि एउटा वोर्डले त्यसको स्तर जाँच गर्थ्यो। त्यो स्वीकृत भएपछिमात्र गीत रेकर्डिंग हुन्थ्यो।”  

त्यही कुरा गायक र संगीतकारमा पनि लागू हुन्थ्यो। त्यसले गर्दा एउटा निश्चित स्तर नभएका चीजहरु पहिले नै रोकिन्थे। तर अहिले त न कसैलाई स्वरपरीक्षा गर्नुपर्छ, न त गीत र संगीतको स्तर निर्धारण गर्नुपर्छ। च्याउ उम्रे सरी उम्रेका कुनै पनि रेकर्डिंग स्टूडियोमा गएर जो कसैले पनि जेसुकै पनि रेकर्डिंग गर्न सक्छ। व्यावसायिक मुनाफा खान पाए पुग्ने स्टूडियोहरुलाई आफूले कति बेसुरा गायकहरु उत्पादन गरिरहेका छौं अथवा संगीतको नाममा के पस्किरहेका छौं भनेर आत्मवंचना गर्ने फूर्सद कहाँ हुन्छ र? तर समग्र नेपाली संगीतलाई त्यसले रसातलतिर गाड्दै लगिरहेको छ। यो चिन्ता कसले गर्ने? अनि यसलाई नियन्त्रण कसरी गर्ने?

ट्याक्सी चलाउन त न्यूनतम यतिसम्म प्राविधिक क्षमता र दक्षता हुनुपर्छ अनिमात्र अनुमति दिइन्छ भन्ने प्रावधान हुन्छ भने गीतसंगीत जस्तो संवेदनशील र राष्ट्रकै छवि दर्शाउने चीजको सिर्जना गर्नेहरुकोलागि के कुनै ज्ञान र योग्यता चाहिँदैन त?
 
रेडियोमा मात्र नभएर म्यूजिक भिडियो बनेर पनि विभिन्न टेलिभिजन च्यानलहरु मार्फत तिनको व्यापक प्रचारप्रसार हुने गर्दछ। त्यहाँ पनि कुरा आउँछ, द्रव्यकै। खर्च गर्न सक्नेहरुका जतिसकै कर्णकटु गीतहरु पनि छायाँकन हुन्छन् भने खर्च गर्न नसक्नेहरुका जतिसुकै स्तरीय गीतसंगीत पनि छायामा पर्छन्।

राम्रा गतिला चीजहरु बनेका नै छैनन् भन्ने मेरो आशय होइन। अहिले पनि नेपाली सङ्गीतको लागि मरिमेटेर लागेका गायक सङ्गीतकारहरू नभएका होइनन् तर स‌‌‍ंचार माध्यमहरुले तिनको सही पहिचान गर्न सक्नुपर्थयो भन्ने मात्र मेरो भनाइ हो। कमसे कम प्राविधिक रुपमा नै अयोग्य, बेसुरा, अर्थहीन र संस्कारविहीन गीतसंगीतलाई दुरुत्साहित गर्ने, तिनको प्रचारप्रसार नगर्ने र स्तरीय गीतसंगीतलाई प्रोत्साहन गरेर श्रोताहरुको रुचि र स्वादलाई परिस्कृत गर्ने जिम्मेवारी उठाउनुपर्ने बेला भइसक्यो जस्तो लाग्दैन? त्यति भएन भने कतै भोलिको इतिहासले हामीलाई नसरापोस्। 

One thought on “कतातिर जाँदै छ हाम्रो संगीत

  1. first of all congratulation for starting the new blog brajesh jee.
    the things you wrote above is absolutely correct.now a days no one is giving attention in lyrics,music ……only the thing is they want to be star in one day weather by the power of money or publicity through different media whatever..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s