Categories

कुवा भ्यागुता र कोरस

भ्यागुताहरु कराउन जान्दछन्
स्वरमा स्वर मिलाएर,
हूल बटुलेर, एकै साथ, एकै स्वरमा
रातभर कराउन जान्दछन् भ्यागुताहरु
तर भ्यागुताहरुलाई थाहा छैन
उनीहरुको आवाजमा सङ्गीत छैन
उनीहरुको कोरसमा लय छैन
उनीहरुको कानमा त कस्तो लाग्छ कुन्नि
तर सुन्नेहरुका कानमा 
साह्रै कर्कश हुन्छ भ्यागुताको आवाज
तरै पनि, पानी पर्नै हुँदैन
एक तमासमा, एक सुरमा
कराउन थाल्छन् भ्यागुताहरु 

भ्यागुताहरु उफ्रन जान्दछन्
खूव मच्चिमच्चि जोशले
उफ्रन जान्दछन् भ्यागुताहरु
तर भ्यागुताहरुलाई थाहा छैन
जति उफ्रे पनि उनीहरु
कतै माथि पुग्दैनन्
जहाँ जति उफ्रन्छन उनीहरु
त्यहीं थच्चिरहेका हुन्छन् भ्यागुताहरु
कुवाको पर्खालभन्दा माथि
कहिल्यै पुग्दैनन् भ्यागुताहरु 
 
भ्यागुताहरु बाँच्न जान्दछन्
कुवालाई नै संसार मानेर
त्यसैमा रमाउँछन् भ्यागुताहरु
तर भ्यागुताहरुलाई थाहा छैन
उनीहरुको जिन्दगीमा जीवन छैन
कुवाको डिल बाहिर
वास्तविक संसार र जीवन छ भन्ने
कहिल्यै बुझ्दैनन् भ्यागुताहरु
आफ्नो अज्ञानतामा नै
दङ्ग फुरुङ्ग छन् भ्यागुताहरु

One reply on “कुवा भ्यागुता र कोरस”

ब्यङात्मक यो कबिताले हाम्रो देशका प्रतिगामी तत्बहरु देखी लिएर स्बर्थी मनोब्रिती मा रमाएर अन्धो भएका हरु प्रती सार्है मज्जाले झटारो हानेको छ ।

Leave a comment