यो कलिवुड कि त्यो बाठमाण्डौ र हाठमाण्डौ
कान्तिपुर दैनिकमा कुनै बेला प्रकाशित,
चलचित्र निर्माणको लागि एक नम्वर मानिएको छ, अंग्रेजी चलचित्र उद्योग हलिवुड। त्यसपछि आकारको हिसावले ठूलो चलचित्र उद्योग मानिन्छ भारतको मुम्वइ। मुम्बइ, अहिले भनिन्छ तर केही समय अघिसम्म बम्बै नाम प्रचलित थियो। बम्बइलाई बलिवुड पनि भनिन्छ। मलाई सुन्दाखेरि जहिले पनि हाँसो उठ्थ्यो। तर सोच्ने गर्थें सयौं बर्ष अँग्रेजी उपनिवेषमा रहेकोले होला त्यहाँका धेरै अन्य चीजमा त्यो किसिमको प्रभाव देखिन्छ, कुनै नौलो कुरो होइन।
तुलनात्मक रुपले तुलना नै गर्न नमिले पनि एउटा चलचित्र उद्योग नेपालमा पनि छ, काठमाण्डौमा। यसलाई अचानक कलिउड भन्न थालियो। त्यसपछि चाहिँ म हाँस्न सकिनँ। जति जति पटक जहाँ जहाँ मैले कलिवुड भन्ने शब्द सुनेको र पढेकोछु, त्यति नै पटक मेरो भित्र अन्तरात्मामा कतै चसक्क बिझेकोछ त्यो शब्द। हामी त कसैको उपनिवेषमा थिएनौं, यो दास मनोवृत्ति कसरी हामीमा पलायो अनि कसले बनायो नेपाली चलचित्र उद्योगलाई कलिवुड् ।
खोतल्दै जाँदा, सवै पक्षलाई केलाउँदै जाँदा, आत्मालोचना गर्दै हेर्दा मलाई लाग्यो हामी सवै यसमा सहभागी भएका छौं। जानाजानी अथवा नजानिकनै कलिवुड बनाउन हामी सवैले धेरैथोरै अपराध गरेका छौं।
नेपाली चलचित्रहरु बनिरहेकाछन्, कहिले ह्वात्त गति पक्डिन्छ, कहिले अकस्मात ब्रेक लाग्छ। यस्तै अनियमित र भन्न नसकिने गतिमा अघि पछि गर्दै र बामे सर्दै छ नेपाली चलचित्र उद्योग। तर बनिरहेका चलचित्रहरु मध्ये कति नेपाली चलचित्र हुन् त । नेपाली कलाकारहरुले अभिनय गरेका, नेपाली प्राविधिकहरुले काम गरेका, नेपाली लेखकहरुले लेखेका नेपाली निर्देशकहरुले निर्देशन गरेका, नेपाली संगीतकारले संगीत भरेका र नेपाली भाषामा सम्वाद बोलिएका चलचित्रहरु मध्ये कुनकुन चाहिँ नेपाली चलचित्र हुन् त ।
एकछिन घोत्लिनु नै पर्छ। झन् अहिलेका चलचित्रहरु हेर्ने हो भने त सोच्नै पर्ने भएको छ।
चलचित्रका निर्माण भनेको त्यसको सोच र परिकल्पनाबाट शुरु हुन्छ। अनि लेखन, संगीत सिर्जना, छायाँकन, सम्पादन, हुँदै प्रदर्शनघरमा पुगेर समाप्त हुन्छ। यी सवै ठाउँमा कलिवुड छाएको छ। बडो दुःखको कुरो हो, तीतो हो, तर सत्य हो। बलिवुडको कुनै सफल चलचित्र हेरेर यहाँ निर्माताहरु त्यसलाई कसरी नेपालीकरण गर्ने भन्ने सोच्न थाल्छन्। अनि ओथारोमै बिग्रेको फूलबाट निकालिने चल्लाको रुपमा एउटा नयाँ चलचित्र निर्माण हुन्छ। एउटा संख्या मात्र थपिन्छ। बस्।
संगीत पक्षको कुरा गर्दा नातिकाजी र शिवशंकर त लौ बूढ्यौली लागेर सकृय छैनन्, त्यसैले अव कस्तुरी वास नआउने भो, फूलको थुङ्गा साँच्चै नै बगेर गयो, फर्केर नआउनेभो। गोपाल योञ्जन मरेर गए, त्यसैले न मादल घनघन घन्कने भो न कान्छी जुरेली जस्तै नाच्ने भई। तर अम्बर गुरुरु त अझै सकृय नै छन् नि, किन नेपाली चलचित्रमा उनी अटेनन् खै । शायद यो कलिवुड बन्यो, त्यसैले। नत्र राहुलदेव बर्मनको लागि दीवाना मुझ सा नहीं इस अम्बर के नीचे जस्तो गीत बनाउन ए कान्छा मलाई सुनको तारा खसाइदेऊको धुन उधारो दिने यी संगीतकारबाट हामीले पनि केही लिन सक्थ्यौंहोला नि। अव चलचित्रका गीतहरु भनेको एक दुइ महीना बजार तताउने, एफ एम घन्काउने भए पुग्ने भो। कलिवुडलाई यति भए मनग्गे हुन्छ। नमान लाज यसरी, ह्रदयभरिको मेरो शुभकामना तिमीलाई, हाँस्ने रहरहरु, अलि अलि हार हो जस्ता गीतहरु काठमाण्डौं भए पो चाहिन्थ्यो, कलिवुडलाई त्यस्ता आउटडेटेडरु गीतहरु चाहिन्नं। कलिवुडमा त दिलवर दिलवर लाई माया गर मलाई भन्ने शब्दको खोल ओढाए पुग्छ। कुछ कुछ होता है लाई तिमी सामु आयौ भनेर नीलो रङ्ग खन्याएर यो स्याल होइन, अर्कै नयाँ जनावर हो भने हुन्छ। कलिवुडले पत्याइहाल्छ क्यारे।
लेखनमा पनि अनाडी लाई चोर बनाइदिए हुन्छ।मिलन लाई कुसुमे रुमाल, सम्मानरु र बूंद जो बन गयी मोतीलाई दक्षिणा, शोलेलाई राँको जेलाई जे बनाइदिए हुन्छ। किनभने जुन उद्योगको नाम नै कलिवुड हो, त्यहाँ मौलिकताको खोजी गर्ने नै महामूर्ख हो। नृत्य निर्देशकहरु गणेश हेग्डे, चिन्नीप्रकाश, सरोज खान र अहमद खानले बलिवुडमा गरेको कोरियोग्राफीबाट उधारो लिएका स्टेपका टुक्रा टाक्रीहरु यहाँका गीतहरुमा छर्छन् र कलिवुडको निर्माणमा इंटा थप्छन्।
अनि सुन्दरा सुन्दरा बन्छ, मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न। किनकि यो अब कलिवुड भैसक्यो।
कलाकारहरु पनि आफूलाइ नेपाली मिथुन, नेपाली सलमान खान, नेपाली शाहरुख खान र नेपाली सदाशिव अमरापुरकर भनेर चिन्दा नाक फुराउँछन्। आखिर कलिवुड न हो। निर्देशकहरुले पनि क्यामराकोण, लाइटिरु, मूभमेन्ट र दृश्य संयोजन उताबाट नै पैंचो लिने गरेकाछन् ।
स्थीर छायाँकारहरु फोटो सेशन गर्दा स्टूडियामा भएका चाङका चाङ स्टारडस्ट र फिल्मफेयर इत्यादिबाट छानी छानी पोज निकालिदिन्छन्। कल्पनाशीलता र सिर्जनाशीलताको ठेक्का उनीहरुको मात्र हो र । कलिवुड त हो नि, छु मतलव । पोष्टर र स्टिकर बन्ने तिनै फोटोहरुबाट हुन्, डिजाइनरले पनि धेरै टाउको दुखाउनु परेन। भलै १९४२ अ लभस्टोरी र बलिदान टाढाबाट हेर्दा जुम्ल्याहा दाजुभाइ किन नलागुन्, कलिवुडका भित्ताहरुमा तिनीहरु असाध्यै सुहाउँछन्।
यसरी बनाइरहेकाछौं हामी कलिवुड।अनि सबैभन्दा दुःखको कुरो, नेपाली चलचित्र नक्कलमुखी भयो भनेर आलोचना गर्ने समीक्षक, चलचित्र पत्रकार र अन्य संचारकर्मीहरु एक स्वरमा कलिवुड भन्छन्, कलिवुड लेख्छन् अनि कलिवुड छाप्छन्। यो कस्तो दोहोरो मानसिकता हो ।
लौ न केही गरौं, अझै पनि पूरै कलिवुड बनिसकेको छैन कि त काठमाण्डौ फिल्म उद्योग ।
अब आफै भन्नुहोस् काठमाण्डौलाई कलिवुड भन्ने कि बम्बइलाई बाठमाण्डौ र हलिवुडलाई हाठमाण्डौ ।
Ashokraj Gurung
September 11, 2008 at 9:16 pm
Brajesh Ji,
kasto ramro ‘man chune’ article lekhnu bhayeko rahechha. Ma tapai ko shubha chintak hu, tapai ra ma umer ko hisab ma pani jhandei douttari nei rahechou.
I was briefly scanning ‘my sansar’ and I saw your name there. Following that trail I happened to reach your blog and ultimately to this article and I really am sort of feeling very pleased that I found it.
The way you put your thoughts into writing really refreshed my senses. Please keep writing.
Ashok