धनकुवेर र मनकुवेर
कतै कुनै बेला एउटा गाउँमा धनकुवेर र मनकुवेर नामका दुइजना मान्छे बस्थे। हुन त नाम अनुसार मान्छेको सबैथोक हुनुपर्छ भन्ने त छैन तर यी दुइको नाम अनुसार नै यिनीहरुको जिन्दगी थियो। धनकुवेर एकदमै सम्पन्न थियो भने मनकुवेर संग केही पनि थिएन। धनकुवेरको घरमा हरेक दिन भने जस्तो भोजभतेर लागिरहन्थ्यो तर मनकुवेरलाई दुइ छाक टार्न पनि हम्मे पर्थ्यो।
धनकुवेरकहाँ कहिले पनि इष्टमित्र, नातागोता र शुभचिन्तकहरुको कमी हुँदैनथ्यो। उसले ती सबैलाई चाँदीको थाल कचौरा र गिलाँसमा खुवाउँथ्यो। अझ रमाइलो कुरा त के भने एकपटक कसैले खाएर जूठो भैसकेको भाँडाकुँडा माझेर पनि चोखो हुँदैन भन्ने उसको मान्यता थियो। त्यसैले जसजसले जुन भाँडामा खाएको हो, जाने बेला त्यो सबै उनीहरुलाई नै उपहारको रुपमा दिएर पठाउने उसको चलन थियो। त्यसैले गर्दा पनि उसको निम्तो मान्न नजाने कोही पनि थिएनन्।
मनकुवेरलाई आफूकहाँ पनि मान्छेहरु आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो तर उसले त न कसैलाई खुवाउन पियाउन सक्थ्यो, न उपहारहरु बाँड्न सक्थ्यो। त्यसैले कोही पनि उसकहाँ जाँदैन थिए। मनकुवेर संग केही थियो भने त्यही एउटा मन थियो जसमा संसारभरका माया खन्याउँदा पनि त्यो भरिंदैनथ्यो। उसलाई सबैको माया लाग्थ्यो। तर त्यो माया प्रमाणित गर्न उससंग केही पनि थिएन। संसारमा एक्लो भएको भएर होला उसलाई गाउँभरिका सबै आफन्तहरु नै लाग्थ्यो। तर उसलाई त कसैले पनि आफ्नो मान्दैन थिए। मनकुवेरलाई नरमाइलो लाग्थ्यो। मनकुवेरलाई बेला बेला लाग्थ्यो, वास्तवमै ऊ गरीव थियो। सिरीसम्पत्ति देखि लिएर आफन्तहरुको कुरामा मान्छे धनकुवेर जस्तो भए पो भनेर उसलाई डाढो पनि लाग्थ्यो। धनकुवेरको जस्तै आफ्नो पनि धेरै मान्छेहरु भैदिए कस्तो हुन्थ्यो होला भनेर ऊ कल्पिन्थ्यो। तर उसकहाँ कोही आउँदैनथ्यो।
एउटा अपवादलाई छोडेर।
त्यो गाउँमा एक जना मानसिक विकास नभएको मान्छे पनि थियो। बाबुआमाले उसको नाम बुद्धिमान भनेर राखेका थिए तर उमेर बढ्दै जाँदा शरीर संगसंगै उसको मगजको चाहिँ विकास भएन। बुद्धिमान वयस्क शरीरमा बालक रह्यो। उसलाई केही पनि थाहा थिएन। नाफा नोक्सान, फाइदा बेफाइदा उसलाई थाहै थिएन। त्यसैले उससंग पनि बोल्ने, कुरा मिल्ने कोही थिएनन्। उसको मानसिक स्तरकाहरुका लागि ऊ ठूलो मान्छे थियो, उसको शारीरिक स्तरकाहरुका लागि ऊ केटाकेटी। त्यसैले होला मनकुवेरको र उसको मित्रता थियो। मनकुवेर उसका अर्थ न वर्थका कुराहरु सुनेर पनि घण्टौंसम्म बसिरहन सक्थ्यो। बुद्धिमानलाई पनि आफ्नो कुरा सुनेर खिसीटिउरी नगर्ने मान्छे पाएर रमाइलो लाग्थ्यो। त्यो सम्बन्धमा दुवैको केही स्वार्थ भने नभएकोले होला उनीहरु एक अर्काको सामीप्यमा रमाउँथे।
समय यसै गरि बित्दै गयो। समयले बेला बेला कोल्टे फेर्ने गर्छ।
धनकुवेर र मनकुवेरलाई बुढ्यौली पनि लाग्यो। मनकुवेरको केही पनि परिवर्तन भएको छैन। तर धनकुवेरको धेरै परिवर्तन भैसकेको छ। बाँड्दा बाँड्दा उसको वैभव सकिइ सकेको छ। अब ऊ कसैलाई केही दिन नसक्ने भैसकेको छ। आजकल उसकहाँ कोही पनि फर्केर पाइला हाल्दैनन्। तर मनकुवेरकहाँ आज पनि पहिले जस्तै बुद्धिमान आइ नै रहेको हुन्छ। अहिले आएर मनकुवेर बेला बेला सोच्ने गर्छ, ऊ धनकुवेर भन्दा कता हो कता बढी धनी रहेछ। मान्छे धनी हुने भनेको सम्पत्तिले होइन सम्वन्धले रहेछ भन्ने उसले बुझेको छ।
आवश्यकताले जन्माएका सम्बन्धहरु आवश्यकता पूरा हुन्जेलमात्र रहँदा रहेछन् त्यसपछि तासको घर ढले झैं ढल्दा रहेछन् भन्ने पनि उसले बुझेको छ। त्यसैले मनकुवेर आफूलाई गरीव मान्दैन आजकल। ऊ बुझ्न सक्छ अहिले धनकुवेरको अवस्था कस्तो होला।
मनकुवेर सोच्दै छ, अब बुद्धिमानलाई लिएर बेलाबेलामा धनकुवेरकहाँ जाने गर्नुपर्ला।
Luna
September 20, 2008 at 11:17 pm
Very nice story . It is the truth .
purushottam babu
December 12, 2008 at 2:15 am
excellent but something is less in there .u have to add more suger all right .
manish lal shrestha
August 21, 2009 at 10:46 am
yeh! its true
money comes money goes
selfish relationship ties up selfish relationship break
Time is the Best Judge ……….. Truth always prevails…
Hence Its Mankubers who remained honest to heart … love … at last feels he is more rich person than Dhankuber…
Really its nice moral story.
Thanks
slmanish