यो बाटो
यो बाटो जहाँ पनि जान्छ,
यो बाटो जता पनि जान्छ
यो बाटो
यसको कुनै गन्तव्य छैन
यो बाटोको कुनै शुरुवात छैन
यो बाटोको कुनै अन्त्य छैन
यो बाटो मुटुको वरिपरि नौ घुम्ती घुम्छ
यो बाटो मुटुको कुना कुनासम्म जान्छ
साकार भएका सपनाहरु पूरा भएका वाचाहरु
अनि मायाले बनेको महलसम्म जान्छ
यो बाटो अधूरो र अपूरो बनाएर
लथालिङ्ग छोडेको
अनुरागको जर्जर खण्डहरसम्म जान्छ
फरक यतिमात्र हो,
तिमी कहाँ पुग्न चाहन्छौ
यो बाटो जहाँ पनि जान्छ
पाषाण युगदेखि लिएर यो बाटो
स्टार वार हुने ब्रम्हाण्डसम्म जान्छ
तिम्रो कता तिर जाने उद्देश्य छ
तिम्रो कहाँसम्म जाने मन छ
कति अघि वा कति पछि जान चाहन्छौ
अनि तिम्रो उद्देश्यलाई थेग्ने
तिम्रो क्षमतामा भर पर्छ
यो बाटो बोधिवृक्षसम्म जान्छ
अनि यही बाटो
हिटलरले लाखौं यहुदीहरु पोलेको
ग्यास च्याम्बरसम्म पनि जान्छ
यो बाटो गुरुद्वारासम्म जान्छ
यो बाटो मस्जिदसम्म जान्छ
अनि यही बाटो
घ्याङ र गुम्बासम्म जान्छ
यो बाटो देवत्वसम्म जान्छ
यो बाटो पशुत्वसम्म पनि जान्छ
यो बाटोमा हिंड्दा
हतियार उठाउनका लागि
अर्जुनलाई गीता पढाइरहेको कृष्ण पनि भेटिन्छ
यो बाटो हिंड्दा
पिपलको बोटमुनि अनुयायीहरुलाई
अहिंसा सिकाइरहेको बुद्ध पनि भेटिन्छ
यो बाटोमा
मान्छेको मुटु चपाइरहेको
इदी अमीन पनि भेटिन्छ
फरक यतिमात्र हो,
तिमी कसलाई भेट्न चाहन्छौ,
यो बाटोमा जो पनि भेटिन्छ
यो बाटोमा
लडाइंको मैदानमा नेपोलियनको गर्जना सुनिन्छ
यो बाटोमा
गुरुकुलमा पलेंटी कसेका वालकहरुले पढेका
वेदका ध्वनि पनि सुनिन्छ
यो बाटोमा बेथोवेनको सङ्गीत सुनिन्छ
यो बाटोमा महिषासुरको अट्टहास सुनिन्छ
मोजार्टको सिम्फोनी सुनिन्छ
बम र बारुदको घनघोर विष्फोट सुनिन्छ
खोलाको कलकल, चराको चिरविर सुनिन्छ
फरक यतिमात्र हो
तिमी के सुन्न चाहन्छौ
यो बाटोमा जे पनि सुनिन्छ
यो बाटोमा
तेन मिन स्क्वायरमा ट्याङ्क मुनि
विद्यार्थीहरुलाई कुल्चेको पनि देखिन्छ
रुवाण्डाका ल्याण्ड माइनहरुमा
अवोधहरु पड्केको पनि देखिन्छ
यो बाटोमा
क्राइष्टलाई ज्यूँदै क्रसमा कीला ठोकेको देखिन्छ
पायथागोरसको घाँटी रेटिएको देखिन्छ
सुकरातलाई विषको प्याला पिउन लगाइएको देखिन्छ
अनि यो बाटोमा
असुर संहार गर्ने अस्त्र बनाउन
आफ्नो हाड दान गर्दै गरेको दधिचि देखिन्छ
अन्तरिक्ष जित्नको लागि
चन्द्रमा तिर उडेको रकेट पनि देखिन्छ
हिरोशिमा र नागासाकीमा खसेका
फ्याट म्यान र लिटल ब्वाइ पनि देखिन्छ
निर्माण देखिन्छ, विनास पनि देखिन्छ
फरक यतिमात्र हो
तिमी के हेर्न चाहन्छौ
यो बाटोमा जे पनि देखिन्छ
फरक यतिमात्र हो
तिमी के सुन्न चाहन्छौ
यो बाटोमा जे पनि सुनिन्छ
तिमी कसलाई भेट्न चाहन्छौ,
यो बाटोमा जो पनि भेटिन्छ
तिमी कहाँ पुग्न चाहन्छौ
यो बाटो जहाँ पनि पुगिन्छ
Luna
October 6, 2008 at 4:05 am
कुन बाटो प छ्याउने , अगाल्ने , कहिल्यै पाइला नटेक्ने बा अनुसरण नगरने इत्यादिको पछाडि निर्देशित गर्ने हाम्रो मस्तिस्क छ । यो मस्तिस्क ले जहाँ जहाँ डोर्याउछ मान्छे खुरु खुरु त्य तै लाग्छ ।
यो बाटो – यो मस्तिस्क यसरी बुझे मैले त ।
धेरै मन पर्यो यो बाटो कबिता । समाज लाई मार्ग निर्देश न् दिन सछ्यम छ यो कबिता । मान्छे ले आफ्नो मस्तिस्क – मन लाई कन्ट्रोल गर्न सक्नु पर्छ । अर्थात खराब या असल कुन मार्ग लाई रोज्ने हाम्राइ मस्तिस्क मा भर पर्छ । मस्तिस्क को यो निर्देशित बाटोमा भर पर्छ ।
Dipak
March 29, 2009 at 12:08 pm
Bafre Brazesh jee, this is an extra ordinary poem. I am so much impressed with your words. Its a real art that nobody can stay without praising it. Please give more creations like this in future.
Dipak Pandey
Australia