मेरो संसारको लागि
तिमी मुस्काउँदा, मेरो सिंगो आकाश नै
एक छेउ देखि अर्को छेउसम्म हाँस्छ
तिमी हाँस्दा, मरिसकेको मेरो जिन्दगी
फेरि एकपटक व्यूँतिएर बाँच्छ
तिम्रा आँखाहरु चम्किंदा
झनैझनै उज्यालो भएर बल्दछन्
मेरा रातका टिमटिम ताराहरु
तिमी म संग मायाले बोल्दा
कता हो कता परपर भाग्दछन्
मेरा जीवनका अंध्याराहरु
एक पाइलामात्र संगै हिंड्न देऊ मलाई
म बनाउनेछु त्यसलाई
मेरो गन्तव्यसम्म पुग्ने फड्का
तिम्रो हात मात्र देऊ मलाई
म बनाउनेछु त्यसलाई
मेरो जीवनभरिको सहारा
तिमीले हौस्याउँदा मलाई
हट्ने गर्छन् मेरा सामुका तगाराहरू
अलमलिएको बेला तिमी कतै
म हिंड्नेछु तिमीसंग बाटो बनेर
तिम्रो आकाशमा घाम चर्केको बेला
म खस्नेछु तिमीमाथि छाया बनेर
तिमीले स्पर्श मात्र गरिदिंदा
बिसेक हुने गर्छन् मेरा घाउहरु
तिमी साथ मात्र भइदिंदा
आफै हराउँछन् मेरा व्यथाहरु
अपूरो अनि अधूरो छु म तिमी विना
निस्तेज अनि मधूरो छु म तिमी बिना
आऊ अब अंध्यारोका कुराहरु नगरौं
अंध्यारोमा त हराउने गर्छ मानिस
चोटलाई बिसेक पार्न अरु कहाँ जानु
दुख्यो भने आफ्नैसंग त कराउने गर्छ मानिस
तिमीले माया मात्र गरिदिंदा
फक्रिने गर्छन् मेरा मनका कोपिलाहरू