भोलि
खुसीका चम्किला रंगहरुले पोतिनेछन् भोलि
तेरा मनका भित्ताहरु पनि
उमंगका उष्ण उर्जाहरुले भरिनेछन् भोलि
तैंले देखेका सपनाहरु पनि
घामलाई त नउदाइ सुखै छैन
बिहानीलाई त नझुल्की सुखै छैन
आज रातभर कुर्न त कुर् तं
उज्यालो हुनेछ भोलि
तेरो मनको आकाश पनि
भाग्य तेरो मात्रै अरुको भन्दा
अलग कसरी हुन सक्छ र?
कसैलाई काखा कसैलाई पाखा
नियतिले जानेको कहाँ हुन्छ र?
आज आँशुले रुझेका तेरा परेलाहरु
भोलि तेरै ओठसंग हाँस्न पाउनेछन्
पात झरेका तं भित्रका डाँठहरु
भोलि तैं भित्र फुल्ने कोपिलासंग नाच्न पाउनेछन्
युग भन्दा लामो पलहरुलाई काटेर त हेर् तं
तैंले नै बिताउनेछस् भोलि पल भन्दा छोटा युगहरु