बादलको आकार
मेरो आकाशको बादल
फेरिरहन्छ आफ्नो आकार
रुप अनि व्यवहार
स्वच्छ सेतो सुन्दर
मुस्काउने गर्छ कहिले
कालो भएर मडारिन्छ पनि
रुन्छ धर्धरी कहिले
मेरो आकाशको बादल
म भन्दा धेरै टाढा छ
मैलै जति हात लम्काए पनि
त्यो कतै मेरो उपलब्धि
भन्दा पनि पर छ
तै पनि
म मेरो बादललाई
आकार दिन खोजिरहेछु
अनि प्रयत्नरत पनि छु
स्थीर बनाउन त्यो आकारलाई
मैलै चाहे जस्तै, मैले खोजे जस्तै
निकै बेरको प्रयासपछि
जब बन्छ त्यो रुप
सुस्ताउँछु म
हेर्छु त्यसलाई दंग परेर
तर अलिकति पनि
चल्नै हुँदैन हावा
भताभुंग भैदिन्छ फेरि
मेरो आकाशको बादल
थाल्छु फेरि म
बादलको आकार मिलाउन