बाँदर
आफैलाई चिथोर्छ
आफैलाई कोपर्छ
अर्कोलाई दुखाएँ भनेर
अनि दङ्ग पर्छ
एउटै जीउमा थुप्रै थुप्रै
टाउकाहरु भएको
यो अचम्मको बाँदर
कहिले कुरा नमिल्ने
सँधै बाझिरहन्छ
एउटा टाउकोको कुरा
अर्कोले काटिरहन्छ
यो विवेकशून्य बाँदर
न आफ्नो घर बनाउँछ
न अरुको बनाउन दिन्छ
यो चकचके बाँदर
न अरुको देखेर बुझ्छ
न आफूलाई परेर चेत्छ
आफ्नै घाउ कोट्याइरहन्छ
आफैलाई दुखाइरहन्छ
यो चेतनाहीन बाँदर
अनि यसलाई नचाउन खोज्ने
यसलाई सिकाउन खोज्ने
प्रयास गर्दागर्दा थाकिसकेको
म एउटा मदारी