दिग्भ्रमित म्रृगतृष्णा
हरेक दिन नयाँ नयाँ बहानासङ्ग
टायरहरू बल्ने गर्छन्
हरेक रात एउटै छटपटीसङ्ग
जल्ने गर्दछु म
छेउ भेट्टाउँदा सकीनसकी टुप्पो हराउँछ
गुजुल्टो भैसकेको पो छु कि
शायद गलती नै गलतीले गाँठो परेको म
हरेक दिन चर्को घाममा
मुठ्ठीहरू उचालिने गर्छन्
अनि सेकिने गर्छन् पुर्पुराहरू
हरेक रात शीतल जुनसङ्गै
डढ्ने गर्दछु म
अघि बढ्न खोज्दा पैंताला धर्मराउँछ
कुनै गन्तव्य नभएको बटुवा झैं
हिंडिरहेको पो छु कि शायद म
हरेक दिन टुक्राटुक्रामा फुटाइन्छु
हुर्याइन्छु यताबाट उता
अनि फेरि उताबाट यता
मैले फुटाएका टाउकोहरूसंग
आफै रून्छु, एक्लै दुख्छु
आन्दोलनको ईंट्टा जस्तो म