तिमी र म
तिमी
आकाशलाई ड्याम्मै ढाकेको
कालो बादल हेरेर गुनासो गर्छौ
धत्तेरी, झरी शुरु हुन लाग्यो
बाटाहरु हिलाम्य हुने भए
कतै जान आउन नकिने भो
म
त्यो बादल पछाडिको
नीलो स्वच्छतालाई सम्झने गर्छु
तिमी आजको अंध्यारोमा बिलाउन खोज्छौ
म भोलिको उज्यालोमा रमाउने गर्छु
तिमी
म पनि मान्छे हुँ भन्ने भुल्ने गर्छौ
मेरा असफलताहरुमा पिरोलिन्छौ
मैले पुर्याउन नसकेका तिम्रा इच्छाहरु
म उत्तीर्ण हुन नसकेका
तिम्रा परीक्षाहरु सम्झेर वैरागिन्छौ
म
तिमीले दिएका साना साना खुसीहरु
तराजुको एक पाटामा राख्छु
अर्को पाटा ससारको लागि छाडिदिन्छु
खै किन हो
मेरो पाटो कहिल्यै आकाशिंदैन
खोज्ने नै हो भने त
हिमालको छातिभित्र पनि लाभा नहुने होइन
नदीको शान्त लहर भित्र पनि
थेग्नै नसक्ने जलप्रवाह नबग्ने होइन
आफूलाई जिते राम, आफूसंग हारे रावण
भोग्न सके यहीं नै स्वर्ग
नसके आफ्नै जीवनमा
नर्क पनि नभेटिने होइन