नागरिक दैनिकको “अक्षर”मा प्रकाशित मेरो कथा

उमेरको झण्डैझण्डै पचास वर्ष छुनेबेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ। उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन। जागीरमा सुब्बा भएको कारण उनलाई साथीहरु सबैले सुब्बा सुब्बा भन्दा भन्दै अहिले त उनलाई नै पनि आफ्नो नाम त्यही जस्तो लाग्न थालेको छ।

रातभरि पनि उनी राम्ररी निदाउन सकेनन्। निदाउन निदाउन खोज्यो, सपनामा त्यही कुरा देखेर झसंग भएर ब्यूँझिहाल्थे सुब्बासाब। आज बिहानैदेखि सुब्बासाब उत्साहित छन्। उत्साहित मात्र होइन, उत्तेजित पनि भन्नुपर्ला। अनि अलिअलि डर पनि छ उनलाई।

सुब्बासाब अल्छी मान्दै उठेर बाथरुममा छिरे। धारा खोलेर पानी छाम्दै उनले मनमनै सोचे,
पानी त बेस्करी चीसो रहेछ। नतताइ त नुहाउन सकिन्नं होला।

यही तल्लामा अरु तीनथरि मान्छेहरु डेरामा बस्छन्, सबैलाई बिहान चटारो हुन्छ। त्यसैले नित्यकर्म भ्याउन पनि गाह्रो हुने गर्छ। नुहाउनका लागि त लामै योजना बनाएर त्यसलाई कार्यरुप दिनुपर्ने बाध्यता आफ्नै ठाउँमा छ। धारोमा कहिले कहीं मात्र हो पानी आउने, त्यसैले परको सार्वजनिक टंकीमा लाइन पनि लाग्नुपर्छ नुहाउने पानी ओसार्न। हुन त दुइ दिन अघिमात्र हो उनले नुहाएका। अरु बेला भए त्यति धेरै दुःख गरेर यति छिटो उनी नुहाउने थिएनन्। तर आज त जसरी भए पनि नुहाउनै पर्छ। काखीसाखी गन्हायो भने त बर्वाद हुन्छ।

उनी दुइवटा बाल्टिन बोकेर त्यतातिर लागे। बिहान राम्ररी भएको पनि थिएन त्यसैले पन्ध्रवटा जति भाँडाको पछाडि डोरीमा आफ्नो बाल्टिन छिराएर सुब्बासाब नजीकैको चिया पसल तिर लस्के। त्यहाँ साहुनीले मरीच हालेको मीठो चिया पकाउँछे। उनलाई ती २८, ३० वर्षकी साहुनी आकर्षक र सुकुमारी लाग्छे। उसका कुराहरु सुन्दा अलिअलि बुद्धि पनि भएकी जस्ती लाग्छ। उसको ट्याक्सी चलाउने मुस्टण्डे लोग्नेलाई नुसुहाउँदी देखिन्छे ऊ। अनि खास कुरा चाहिँ चिया पसलमा काम र गफ दुबै गर्दा ती सुकुमारी जता फर्के पनि सुब्बासाबका आँखाहरुलाई बिहानबिहानै स्वप्निल बनाउने कुराहरु भगवानले सुकुमारीलाई कन्जुस्याईँ नगरिकन दिएका छन्।

मुस्टण्डे सखारै ग्राहक कुर्न पर चोकमा पुगिसकेको हुन्छ। चियापसलमा खूबै भीडभाड हुन्छ। टोलका अधिकांस आफूजस्तै मान्छेहरु सुब्बासाबले त्यहाँ देख्ने गरेका छन्।

खासमा सुब्बासाब आफै चिया पकाएर खाने गर्थे तर एक दिनको सामान्य घटनाले उनलाई बिहानबिहान त्यहाँ जाने बानी लगायो। अघिल्लो दिनको दूध घरमा बाँकी थिएन त्यसैले उनी दूध किन्न बाहिर आएका थिए तर पसल खुलेको रहेनछ। सुब्बासाबको आँखा अनायासै चिया पसल र ती सुकुमारी साहुनीमा पर्न गएको थियो। चियाको तलतल वा ती साहुनीको आकर्षणले तानिएर हो कुन्नि उनी त्यहाँ गएका थिए।

सुब्बासाब एक्लै बस्छन्। उनकी श्रीमती गाउँमा सानो खेतीबाली सम्हालेर बसेकी छिन्। उनलाई शहर आएर बस्ने रहर पटक्कै थिएन। बर्षमा मुश्कीलले एकपटक सुब्बासाब गाउँ जाने गर्थे। बर्षौंदेखि यही नियमित चक्रमा उनको जीवन चलिरहेको थियो। उनीहरुका कुनै सन्तान भएनन्। प्राकृतिक रुपमा सबै जीवले गर्ने साधारण भन्दा बढी प्रयास पनि उनीहरुले खै किन हो गरेनन्। उनीहरुको बीचमा औपचारिकता भन्दा बढी अरु सम्बन्ध भएन। गाउँमा भएको बेला राति अँध्यारोमा मात्र सुब्बासाब आफ्नी श्रीमतीलाई आफूतिर तान्थे अनि उनी पनि लोग्नेको शरीरको आवश्यकता साम्य पार्न श्रीमती हुनुको कर्तव्य मौन र निश्चल भएर पूरा गर्थिन्। तर मधुमेहको रोगले श्रीमतीलाई बेस्सरी गालेपछि उनीहरुको सम्बन्धमा त्यो औपचारिकता पनि नरहेको ५ वर्ष भैसकेको थियो। सुब्बाको तलब, घूस नखाने प्रण, साधारण सोच र जीवनशैलीका कारण शरीरको त्यो भोक उनले मारेर बसेको पनि त्यति नै समय भएको थियो। उनी अब त त्यो सब चीजका लागि आफू बूढो भैसकेको सोच्न थालेका थिए।

तर त्यो दिन चिया पसलमा उनको त्यो भ्रम भंग भएको थियो। कुरा त सानै थियो। उनी चिया खान छिरेका थिए। सुकुमारी साहुनीले चिया पकाएर उनलाई दिने बेलामा साहुनीका औंलाहरुले सुब्बासाबका औंलामा स्पर्श गरेका थिए। सुब्बासाबलाई झननननन्न करेण्ट लागेजस्तो भएको थियो। लामो समयपछि कुनै नारीको स्पर्शले हो वा ती सुकुमारी साहुनीका औंलाहरु अत्यन्तै मुलायम भएकोले हो, उनले खुट्याउन सकेनन्। त्यसपछि साहुनी आफ्नै काममा व्यस्त भएकी थिइन् तर चिया सुर्काउँदै सुब्बासाब उनलाई नै हेरिरहेका थिए। जुन नारीको औंलामात्र त्यति उत्तेजक थियो, तिनको सिंगै हात समातेर सुम्सुम्याउन पाए कस्तो लाग्छ होला? उनले सुकुमारीका हातहरु नियालेर हेरेका थिए। जतन गर्न नपाएका हातहरु त त्यति सुन्दर, औंलाहरु सलक्क सलक्क परेका थिए भने त्यसै पनि कोमल हुने तिनका अरु अंगहरु झन् कस्ता होलान्। सुब्बासाबले आफू भित्र मरिसक्यो भन्ठानेका भावहरु जुर्मुराउन थालेको अनुभव गरेका थिए। म्याक्सी लगाएकी साहुनी ढाड फर्काएर स्टोभमा दम दिन अलिकति निहुरिएको बेला तिनको नितम्बमा सुब्बासाबको आँखा एकतमासले टाँसिइरहेका थिए। त्यो बेला हो कि होइन भने जस्तो गरि साहुनीको भित्री लुगाको रेखा पनि देखिएको थियो। सुब्बासाबका आँखाहरु कुनै एक्स रे मेशिन जस्ता हुन पुगेका थिए र उनको कल्पनामा ती साहुनी भित्री लुगामा मात्र देखा परेकी थिइन्। आफूलाई नियन्त्रण गर्न हतारहतार चिया सकाएर पैसा तिरेर सुब्बासाब त्यहाँबाट निस्केका थिए।

त्यस दिनभर उनलाई काममा मन लगाउन गाह्रो भएको थियो। अन्न, पानी र हावा जस्तै शरीरको त्यो भोकको पनि महत्व हुन्छ भन्ने सुब्बासाबले पढेका थिए। त्यो पूरा भएन भने पनि त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा दूरगामी प्रभाव पार्छ रे भन्ने पनि उनले सुनेका थिए। उनी दिनभरि घोत्लिएका थिए। घुँडाको जोर्नी बेलाबेला दुखेर चलाउनै नहुने हुने गरेको बर्षदिन जति भएको थियो। कहिलेकहीं बेस्सरी टाउको दुख्ने गर्थ्यो अनि आफै हराएर पनि जान्थ्यो। बेलाबेला फाइलहरु राखेको ठाउँ बिर्सेर धुईँधुइँती खोज्नु पर्ने पनि भैरहेको थियो। अनि बिना कुनै कारण बेलाबेला सुब्बासाबलाई टेन्सन हुने गर्थ्यो। कतै यो सबै त्यही कारणले त हैन भन्ने उनलाई लाग्न थाल्यो। त्यसदिन उनको मनस्थिति शायद संगै काम गर्नेहरुले पनि हेक्का गरेछन् क्यार।

“सुब्बासाबलाई आज सञ्चो छैन कि क्या हो? अनुहार मलीनो देख्छु नि”
चलानीकी बिवाहित महिलाले सोधेकी थिइन्।

“हैन, ठीकै छ, त्यस्तो केही हैन।”
पुलुक्क उनलाई हेर्दै उनले भनेका थिए। ती महिला आफ्नै काममा व्यस्त भैसकेकी थिइन् तर सुब्बासाब उनलाई हेरेर सोच्दै थिए, तिनले भित्र के लगाएकी होलिन्? उनले आफ्ना आँखा र सोच दुबैलाई त्यताबाट हटाएर काममा लगाउन खोजेका थिए।

दिउँसो क्यान्टिनमा खाजा खाने बेला उनका अलि तन्नेरी सहकर्मीहरुका कुरामा उनको कान पर्न गएको थियो। उनीहरु राति अबेर फेसन टिभीमा आउने मिडनाइट हट भन्ने कार्यक्रमको बारेमा छलफल गर्दैथिए।

“क्या फिगर हुन्छ यार तिनीहरुको।”
“कुनैकुनैले त यार माथि केही पनि लगाएका हुँदैनन्।”
“कति पैसा कमाउँछन् होला हगि तिनीहरुले?”
“बाहिर हिंडडुल गर्न अप्ठ्यारो लाग्दैन होला तिनीहरुलाई भन्या।”

त्यस रात अबेरसम्म सुब्बासाबलाई निन्द्रा लागेन। अँध्यारो हुनै नपाइ घुप्लुक्क सुत्ने बानी भएका सुब्बासाब लोडशेडिंग सकिएर बत्ती आउँदा पनि व्यूँझै नै थिए। अनि अनायास उनले आफ्नो चौध इन्चको श्यामश्वेत टिभीको च्यानलहरु खोतल्न थालेका थिए। उनलाई खासै टिभी हेर्ने रहर लाग्दैनथ्यो त्यसैले पुरानो टिभी उनले फेरेका पनि थिएनन्। फेसन टिभीमा गएर उनी अडेका थिए र मिडनाइट हट भन्ने कुन बेला आउँछ भनेर कुर्न थालेका थिए। जब त्यो आयो, सुब्बासाबलाई त्यस रात अचम्मका अनुभूतिहरु भए। त्यो कार्यक्रममा देखिएका विदेशी युवतीहरु घरिघरि चलानीकी महिला र सुकुमारी चिया साहुनीमा परिणत हुन खोज्थे। उनलाई आफ्नो जीउ ज्वरो आएको बेला जस्तै रन्केको आभाष भैरहेको थियो।

स्कूल सक्नासाथ उनको बिहे भएको थियो, सुब्बा साबले त्यस रात स्कूलजीवन पछि नगरेको एउटा काम गरेका थिए। निदाउने बेलामा एकातिर किन मैले यो काम छाडेको रहेछु भन्ने पनि लागेको थियो उनलाई, अर्कोतिर आत्मग्लानि पनि भएको थियो।

त्यस रातपछि उनी नियमित रुपमा फेसन टिभी र विदेशी सिनेमाका च्यानलहरु हेर्न थालेका थिए। एउटा रंगीन टिभी पनि किनेका थिए उनले। मानसिक रुपले सुब्बासाब त्यसपछि झन्झन् बढी चंचल हुन थालेका थिए। ट्याम्पुमा कहिले कहीं कुनै युवती वा आकर्षक महिला संगै च्यापिएर बसेको बेला उनलाई आफ्नो गन्तव्य नै नआएदिए हुन्थ्यो भन्ने लाग्थ्यो। एकपटक बाहुला नभएको पातलो कुर्ता र जिन्सको पाइण्ट लगाएकी एउटी सुन्दर युवतीको सामीप्य पाएको बेला सिहंदरवारमा ओर्लने पर्ने उनी रत्नपार्कसम्मै पुगेका थिए। उनलाई झन्झन् एउटी नारीको सामीप्यको अभावले औडाहा हुन थालेको थियो। त्यसलाई नियन्त्रण गर्न उनले डिभिडी प्लेयर पनि किनेका थिए। उनी त्यसमा वयस्कहरुका लागि बनाइएका थरिथरि चलचित्रहरु ल्याएर हेर्न थालेका थिए तर ती चलचित्रहरुले उनलाई शान्त पार्नुको साटो झन्झन् बढी बिथोल्न थालेका थिए।

उनका सहकर्मीहरु मध्ये एक जना नारदजी कार्यालयको मर्दमा गनिन्थे। उनी यो मामिलामा पोख्त भएका हुनाले र धेरै महिलाहरुसंगको उनको निकटताका कारण अरु साथीहरु आफ्ना त्यसकिसिमका समस्याका समाधानका लागि नारदजीको भर पर्थे। नारदजीसंग यसकिसिमका हरेक समस्याको समाधान हुने गर्थे। बिस्तारै सुब्बासाबले पनि नारदजीसंग हेमचेम बढाउन थालेका थिए। त्यसैको फलस्वरुप काठमाण्डौको रात्रिकालीन जीवनसंग उनी परिचित पनि हुन पुगेका थिए। ४९ वर्षको उमेरमा उनले पहिलो पटक सम्पूर्ण नग्न नारी शरीर, त्यो पनि झलमल्ल उज्यालोमा नृत्य गरिरहेको हेरेका थिए। आफ्नै श्रीमतीलाई समेत त्यो रुपमा नदेखेका सुब्बासाब रोमाञ्चित भएका थिए। नारदजीसंग अलि पहिले नै मित्रता कायमगर्नुपर्ने रहेछ भन्ने पनि लागेको थियो। अनि त्यही मित्रताका प्रगाढताका कारण आज उनी नारदजीसंग धापासी पछाडि कतै विशेष ठाउँमा जाने भएका थिए।

“दाई…….चिया लिनुस्…”
सुकुमारी चिया साहुनीको स्वरले उनी झसंग भए। त्यो पहिलो दिनको स्पर्शसुख पछि जहिले पनि चिया लिनेबेला उनी जानीजानी साहुनीको हातको स्पर्श गर्ने गर्छन्। आज पनि त्यसै गरे। या त साहुनीले यो कुरा हेक्का गरेकी छैन, या थाहा नपाएजस्तो गरेकी हो। सुब्बासाबले साहुनीसंग बिस्तारै बिस्तारै कुराकानी गर्ने गरेका थिए। कोट्याइ कोट्याइ उनको परिवार र श्रीमानको बारे उनी सोधीखोजी गर्थे। कतै केही असन्तुष्टिका कुराहरु फुत्कन्छन् कि क्या हो क्या हो भन्ने उनलाई लाग्थ्यो। तर मोरी उसको मुस्टण्डे ट्याक्सी ड्राइभरसंग फिटिक्कै पनि गुनासो नभएझैं कुरा गर्थी।

“दाई भोलि, पर्सी र निपर्सी त पसल खुल्दैन है”
नियमित ग्राहकलाई उसले जानकारी दिई।

“किन र?”
सुब्बासाबले सोधे। मुस्टण्डेले उसलाई सौराहा घुमाउन लैजान लागेको रहेछ। सौराहा गएर उनीहरुले अरु के के गर्नेहुन् भनेर एकछिन सुब्बासाबले कल्पना गरे। हुन त अरु बेला पनि उनले मुस्टण्डे र सुकुमारीलाई लिएर तर्कनाहरु नगरेका होइनन्। त्यति बेला उनलाई मुस्टण्डेसंग डाहा पनि हुन्थ्यो। तर आज उनलाई नरमाइलो लागेन। आज नारदजीले उनलाई पनि अर्की सुकुमारी कहाँ लैजाने भएको थियो। खर्च चाहिँ त अलि चित्त दुख्ने नै थियो र उनले एक महीना अरु धेरै कुरामा मन मार्नुपर्थ्यो तर केही नगुमाइ केही कहाँ पाइन्छ र? त्यसमाथि नारदजीको अनुभवहरु सुन्दा उनलाई कुनै दुःख लागेको पनि थिएन।

अनुभव नगरि के थाहा हुन्छ र? त्यसपछि कहिले कति कसरी भन्ने कुरा निर्क्यौल गरौंला।
उनले आफ्नो मनलाई सान्त्वना दिएका थिए।

धारामा उनको पालो आउनै लागेको थियो। चियाको पैसा तिरेर उनी त्यता लागे। दुइ बाल्टिन पानी दुइतिर झुण्डाएर एउटा गीत गुन्गुनाउँदै उनी डेरामा पुगे। ग्यासमा दुइटै बर्नर बालेर पानी तताउन हालेर उनी आजको साँझ कस्तो हुने होला भनेर कल्पना गर्न थाले। पहिले केही कुराकानी त गर्नुपर्ला नि, जनावर जस्तो जाइलाग्न त हुँदैन होला। तर के कुरा गर्नु चिन्नु न जान्नुको मान्छेसंग। हुन त मेरो लागि पो यो नयाँ कुरा, उसका लागि त हैन नि। के कसरी भन्ने कुरा आफै भैहाल्छ होला नि। उनी अझै कल्पना गर्न थाले। तन्नाले छोपिएर घुसि्रनुपर्छ होला कि त्यत्तिकै नै पनि……। बत्ती निभाएर अँध्यारो बनाउनु त पर्दैन होला नि। उनकी श्रीमतीले त अँध्यारो नभै केही पनि मान्दिनथिई। अनि लुगा पनि खोल्न मान्दैन थिई। यसले त मान्छे होला नि। आफै खोल्छे कि खोलिदिनुपर्छ होला? अनि अँग्रेजी फिल्महरुमा जस्तो आफै गर्ली त? नत्र के भनेर भन्ने त्यसो गर्नलाई।

आगोमा बसालेको पानीमा त बल्ल काँडा उम्रने सुरसार गर्दै थियो तर सुब्बासाब भने भुकभुक उम्लिसकेका थिए। उनी जुरुक्क उठेर बाथरुम तिर गए। तर बाथरुम खालि थिएन। अनि अर्को डेरावाल पहिले नै पालो कुरिरहेको थियो। उनी कोठामा आए र झ्यालको पर्दा डम्म बन्द गरे। पानी तात्न केही नभए पनि २० मिनेट त बाँकी नै थियो।

अफीस पुग्दा आज उनको रवाफ नै अर्कै थियो। आफ्नो भएभरका लुगाहरुबाट छानेर उनले पार्टीमा जाने सबैभन्दा राम्रो लुगा लगाएका थिए। हजामकहाँ गएर कपालमा कालो पनि लगाएका थिए। कस्तो पात्तेको बूढो रहेछ भन्ने त मौका दिनुभएन नि। मुख ठस्स गन्हाउला भनेर बिहानदेखि सकसक मारेर चुरोट पनि खाएका थिएनन्। चलानीकी महिला मुसुक्क हाँसिन्,

“के हो सुब्बासाब आज त बेहुला जस्तो गजबसंग ठाँटिनुभएको छ, पार्टीसार्टी छ कि क्या हो?”

उनी मुस्काएर मात्र आफ्नो टेबलतिर लागे। नारदजीको टेबल खालि थियो। यतिबेलासम्म किन आएन नारद भनेर उनलाई अचम्म लाग्यो। बज्ज्या बिरामीसिरामी त परेन आजै? कि बिर्स्यो उसले? हैन हैन किन बिर्सन्थ्यो र? बोलीको कुरामा नारदजी पक्का मान्छे हो, जिम्मेवार छ। टरुाफिक जाममा परेको होला। एघारै मात्र त बजेको छ, अफीस आउने समय त हुँदैछ नि। उनलाई साह्रै चुरोटको तलतल लाग्यो। आ…..होस्, तानिदिन्छु एउटा। तीन चार बजेपछि नखाउँला बरु, अनि चुइंगगम चपाउँला जानेबेलामा। त्यसमाथि पनि अहिलेसम्म श्रीमतीको नजीक जाँदा यति कुरा सोचेको छैन जिन्दगीमा, त्यो मेरी को हो र?

क्यान्टिनमा गएर चियासंग चुरोटको धुवाँ उडाइरहेको बेला नारदजी पनि टुप्लुक्क आइपुगे। मुसुमुसु हाँस्दै उनले सोधे,
“तयार हैन त सुब्बासाब शिकार खेल्न जान?”

त्यसपछि दिनभर भनेजसो उनले खोतली खोतली नारदजीसंग के गर्ने कसो गर्ने भन्नेबारेमा जनकारी लिइ नै रहे। चार बजेतिर नारदजी उनलाई आँखा सन्काएर आफ्ना फाइलहरु थन्काउन थाले। उनी पनि हतारहतार आफ्ना फाइलहरु मिलाउन थाले। नारदजी र उनको बीचमा मात्र भनेर उनले किरिया खुवाएको अभियानको कुरा लौ त भनौं भने अफीसका सबै पुरुष कर्मचारीहरुलाई थाहा भैसकेको थियो भन्ने सुब्बासाबलाई भान थिएन। त्यही भएर उनीहरु निस्कने बेला सबैजना मुसुमुसु हाँसेको सुब्बासाबले थाहा पाएनन्। हुन त यसै पनि उनको ध्यान यताउति कहाँ थियो र?

मिडनाइट हटमा पनि त केही एसियनहरु देखिन्थे बेलाबेला। कुनै चाइनीज, कुनै जापानी, कुनै मलेसियन। त्यति बिरुनका त के होलान् र? त्यो टेम्पोमा बाहुला नभएको कुर्ता लगाउने जत्तिको भए भै हाल्यो नि। चिया पसलकी सुकुमारी सरह भए पनि हुन्छ। त्यति पनि नभए चलानीकी महिला जत्तिकोमा सम्म पनि चित्त बुझाउन पर्ला।

ट्याक्सी जाममा परेको समय पनि उनलाई एक युग जस्तो लाग्यो। एक त पैसा आफूले तिर्नुपर्ने, त्यसमाथि मधुमासको लागि आतुर भएको बेला यो व्यवधान। उनी फेरि आउने समयको मधुर कल्पनामा तल्लीन भए। रात आज उतै बित्ने त होला नि। कि फटाफट कामसाम सकाएर फर्कने हो, उनलाई दोधार भयो। पहिले त्यहाँको अवस्था हेरौं, मान्छे हेरौं अनि त्यही अनुसार निर्णय गर्नुपर्ला भनेर उनले निर्णय गरे।

त्यो एक तल्ले घर थियो। हेर्दा साधारणभन्दा पनि नराम्रो देखिन्थ्यो। सानासाना झ्यालहरु, बाहिरी भित्तामा प्लाष्टर मात्र भएको, अनि पानीका दागहरुले फोहोरी देखिने। शायद सुब्बासाबको भाव पढेर होला नारदजीले हाँस्दै भने,
“खोल नहेर्नुस् सुब्बासाब, गुदी हेर्नुस् गुदी। ओखरको बाहिर हेर्दा भित्र त्यति मीठो खानेकुरा हुन्छ भन्ने लाग्छ?”

सुब्बासाब गुदीको कल्पना गर्दे नारदजीसंग भित्र छिरे। बैठक कोठामा एउटी भद्दा महिला बसेकी थिईन् जसले बडो आत्मीयताका साथ नारदजीलाई स्वागत गरिन्।

“सर त धेरै दिनपछि पो आउनुभो, म त हामीलाई बिर्सनुभयो कि भन्ठान्या।”
“कहाँ बिर्सनु र तपाईंहरुलाई। अलि बेफुर्सदी भएर मात्र हो। मैले फोनमा भन्या साथी उहाँ नै हो, हाम्रो सुब्बासाब।”

तिनले माथिदेखि तलसम्म हेर्दा सुब्बासाबलाई सकसक भएर आयो।

“अनि नानीहरु को को छन् त?”
नारदजीले सोधे।

ती महिलाले भित्रतिर हेरेर बोलाएपछि पालैपालो तीनजना कोठामा आए। ती कोही पनि मिडनाइट हट, टेम्पोकी बिना बाहुलावाली सहयात्री, सुकुमारी साहुनी वा चलानीकी महिला जस्ता थिएनन्। राम्रै लुगा लगाएका थिए तिनीहरुले तर के के नमिले जस्तो। लिपष्टिक पो नसुहाएको हो कि? उनलाई तिनीहरुमा नारीमा हुनुपर्ने कोमलता कता कता नभए जस्तो लाग्यो। सुब्बासाबले नारदजीलाई पुलुक्क हेरे। नारदजीले आँखा सन्काउँदै भने,
“अप्ठ्यारो मान्नु पर्दैन, आफ्नै घर हो, को संग बस्ने हो भित्र जानुभए हुन्छ।”

सुब्बासाब अलमल परे। उनले सोचे जस्तो कोही पनि थिएनन्। तर अब यहाँसम्म आइसकेपछि त्यसै फर्कन पनि उनलाई मन लागेन। फेरि यहाँबाट कोमलताको कुरा के थाहा हुन्छ र, चिया पसल्नीको हात त्यस्तो मुलायम होला भन्न्ो कुरा छुनु अघि थाहा भएको थियो र? नारदजीले भनेजस्तै गुदी पो हेर्ने त। लामो सास फेरेर उनले ती मध्ये सबैभन्दा तरुनी जस्ती देखिने एकजनालाई हेर्दै भने,
“यिनको नाम के हो कुन्नि।”

सबैजना हाँसे, मानौं उनले कुनै चुट्किला सुनाएका हुन्। ती युवती बोलिन्,
“तपाईंलाई जे मन लाग्छ त्यही नामले बोलाए हुन्छ। हिंड्नुस् भित्रै गएर कुरा गरौंला।”

सुब्बासाब तिनको साथमा भित्र कोठामा जान उठे। अचानक उनको मन एक तमासको भएर आयो। उनी टक्क अडे। एक मन उनलाई फर्कूं फर्कूं पनि लाग्यो।

“शुरुशुरुमा यस्तै हो सुब्बासाब, ह्याकुलाले मिचेर जानुस्,बिस्तारै बानी पर्छ।”
नारदजीको बोली उनलाई अन्तरिक्षबाट आएजस्तो लागिरहेथ्यो। अनि ती भद्दा महिलाको हाँसो पनि।

भित्र कोठा पनि ओखरको खोलभन्दा फरक थिएन। कुनामा एउटा खाट, त्यसमाथि साधारण तन्ना। शायद नधोएको पनि धेरै दिन भै सकेको हुनुपर्छ।

“बस्नसु् न।”
ती नाम नभएकी युवतीले भनेपछि बस्नलाइ उनले नियालेर बेडमा हेर्दा त्यहाँ तन्नामा केही दागहरु पनि देखे। उनलाई विरक्त लाग्यो। युवती भने विना कुनै संकोच आफ्नो टिशर्ट खोल्दै थिई। सुब्बा साबलाई झन् उकुसमुकुस भयो। युवतीले भित्री पहिरन पनि खोलिसकेकी थिई र ऊ बेडमा लमतन्न परेर आफ्नो पाइण्ट खोल्न तयार भएकी थिई। ऊ ओठ गोलो पारेर कुनै दोहोरी गीतको भाका सुसेल्दै थिई। उसका झोलिएका स्तनहरु उदांगो भएका थिए र त्यो देख्दा सुब्बासाबलाई वाक्क आउला जस्तो भयो।

“म एकैछिनमा आएँ है?”
उत्तरको प्रतीक्षा नै नगरि उनी फटाफट त्यहाँबाट बाहिर निस्के। बाहिरी कोठामा नारदजी थिएनन्। उनी ढोकातिर लाग्दा ती महिला सोद्धै थिइन्,
“के भो सुब्बासाब? कहाँ जान लाग्नुभाको?”

नसुने झैं तल निस्केर कतै नहेरि उनी लम्कँदै चोकको टेम्पो पार्कमा पुगेर एउटा टेम्पोमा बसे। उनको मनमा अनेकांै कुराहरु खेलिरहेका थिए। भोलि नारदजीसंग के भन्ने हो उनलाई थाहा थिएन। शायद नारदजीले सबैलाई उनको नामर्दीपनको कथा सुनाएर उपहासको पात्र बनाउन सक्छन्। त्यही सोचमा उनले कुन बेला एउटी युवती आएर उनको छेउको खालि सीटमा बसिन् भन्ने पनि थाहा पाएनन्। टेम्पो चल्न थालेपछि तिनले लगाएको मधुरो अत्तरको बास्नाले मात्र उनी तन्द्रामुक्त भए।

“भाडा दिनुस् भाडा।”
केटो भाडा उठाउँदै थियो। ती युवतीले पैसा दिंदै भनिन्,
“लगनखेल।”

केटो तिनको फर्ता पैसा दिएर सुब्बासाब तिर उन्मुख भयो। सुब्बासाबले पचासको नोट बढाउँदै भने,
“लगनखेल।”

उनलाई ओर्लनु त खास आधा बाटो यतै चाबेलमा थियो।

सडकका खाल्टोहरुमा हल्लिंदै टेम्पो चलिरहेको थियो। सुब्बासाब आफ्नो तीघ्रा र कुममा ती युवतीको तीघ्रा र कुमको न्यानो अनुभूति गरिरहेका थिए। उनले लामो सास फेरेर आँखा चिम्ले।

सुब्बासाब निर्वस्त्र थिए। एउटा नारी शरीर उनको शरीरसंग रुखमा लहरा बेरिए जस्तो गरि बेरिएको थियो। त्यो शरीरको न्यानो उनको अंगअंगमा फैलिंदै थियो, रन्को बन्दै, अनि कुनै सुख्खा जंगलमा सल्केको डढेलो जस्तै। त्यो नारी शरीरको अनुहार चाहिँ एकपछि अर्को गर्दै परिवर्तन हुँदै गइरहेको थियो। कहिले त्यो मिडनाइट हटका एसियन केटीहरुको अनुहार हुन्थ्यो, कहिले सुकुमारी चिया साहुनीको, कहिले चलानीकी महिलाको, अनि कहिले टेम्पोमा उनका अनगिन्ती सहयात्री युवतीहरुको। झलमल्ल उज्यालोमा सुब्बासाब त्यो अनेकौं अनुहार र एउटै शरीर भएकी नारीको न्यानोमा डुबिरहेका थिए। अचानक बत्ती निभेर कोठा अँध्यारो भयो। अब उनले आफ्नो शरीरमा त्यो न्यानोको अनुभूति गर्दागर्दै पनि अनुहार चाहिँ चिन्न सकेनन्। आँखालाई अँध्यारोमा अभ्यस्त गर्दै उनले नियालेर हेरे।

त्यो अनुहार मधुमेहले चाउरिएकी उनकी श्रीमतीको अनुहार थियो। सुब्बासाबले झसंग भएर आँखा खोले,
लगनखेल आइसकेको रहेछ।

कथा / सन्जु कोइराला
नेपाल साप्ताहिक, २०६६ कार्तिक ८ मा प्रकाशित

कहाँबाट थुपि्रएका होलान् यति धेरै मान्छेहरू ! नयाँ सडकको पेटीमा ठेलमठेल गरेर हिँडिरहेका मान्छेहरूका बीच निशा सोच्दै थिई । भीडको फाइदा उठाउँदै अगाडिबाट एक जना भलाद्मीले नजानिँदो पाराले कुहिनाले उसलाई स्पर्श गरेर गए । उसलाई हतार थियो तर बाटोमा यति धेरै मान्छेहरू थिए, उसलाई छिटो हिँड्न पनि दिइरहेका थिएनन् अनि आफू पनि अलमस्त पाराले हिँडिरहेका थिए । खाजा खाने टाइममा नै भ्याउँछु भनेर निशा निस्केकी थिई तर राष्ट्रपतिको सवारी भनेर पौने दुई घन्टा जाममा बस्नुपरेपछि अब त्यो पनि सम्भव भएन । आफ्नै धुनमा भएकीले परैदेखि उसलाई चिनेर हाँस्दै आएका विनोदलाई उसले नजिकै आउन्जेल पनि देखेकी थिइन ।
“निशा हैन तपाईं ?”
विनोदले नमस्ते गर्दै सोधेका थिए ।

बिहे गर्नासाथ डीभी चिट्ठा परेर अमेरिका गएकी उसकी साथी मेनकाका श्रीमान् थिए उनी । मेनकाले बेलाबेला इमेलमा फोटोहरू पठाइरहन्थी । पुख्र्यौली घर बेच्नका लागि विनोद नेपाल आउन लागेको कुरा पनि केही समयअघि उसले लेखेकी थिई, “अब हामी फर्केर बस्न त्यता आउने होइन । मेरा छोराछोरी त यसै पनि एसियन मुलुक भनेपछि नाकमुख खुम्च्याउँछन् । बेकारमा काकाहरूलाई भाडा खुवाउनलाई त्यो घर किन राखिरहनु !”

मेनकाको त्यस इमेलमा उसलाई कताकता देश छाडेर जाने नेपालीहरू र तिनका पुस्ताको अचम्मको मानसिकताको छनक आएको थियो । तर, त्यसलाई उनीहरूको व्यक्तिगत कुरा हो भनेर उसले पन्छाएकी थिई । आज विनोदलाई एक्कासि नयाँ सडकको भीडमा देख्दा ऊ छक्क परे पनि प्रसन्न भई । उसले मुस्कुराउँदै सोधी, “ओहो, नमस्ते ! कहिले आउनुभएको ? मेनका पनि आएकी हो ?”

“होइन, म मात्रै । आठ-दस दिनको काम हो, किन बेकारमा धेरै खर्च गर्नु भनेर ।”

ऊ फिस्स हाँसी मात्र।

विनोदले फेरि भन्यो, “हिजै मात्र आएको, कसैलाई केही भन्न पाइएन । फोन गरौँला भन्ने सोचिरहेको थिएँ, कस्तो अचम्मसँग भेट भयो। कतै बसेर कफीसफी खाऊँ न!”

निशाले घडी हेरी, यसै पनि अफिस त आज गयो, गयो । दुवै औपचारकिताका कुराहरू गर्दै अलि पर एउटा क्याफेमा छिरे ।

“यत्रो समयमा पनि यस एरियामा अलि गतिलो रेस्टुराँ खुल्या रहेनछ !” विनोदले कालो चस्मा खोलेर अगाडि टेबुलमा राखेपछि उसलाई राम्ररी हेर्दै मिस्रित भाषामा भन्यो, “तपाईं त अझै पनि जस्ताको तस्तै हुनुहुँदो रहेछ । कस्तो मजाले मेन्टेन गर्नुभाको । मेनकाले त सी ह्याज पुट अन लट्स अफ वेट ।”

त्यतिबेला पहिलोपटक निशा अलि असहज भएकी थिई । विनोदसँग कफी खाएर बिदावारी हुन्जेलसम्म त्यो असहजताले उसलाई छाडेन । जाने बेला विनोदले भन्यो, “अब फेरि यहाँ आइँदैन होला, मलाई एकपटक लुम्बिनी जाने रहर छ । तपाईंको समय मिल्छ भने, ह्वाई डन्ट यू ज्वाइन् मी ? अब यहाँ मेरो अरू कोही छैन, एक्लै के घुमाइ भो र ?”

औपचारकितावश केही नबोली उससँग अलग भएर आफ्नो बाटो लाग्दा निशालाई आफ्नो त्यो असहजता त्यसै भएको होइन रहेछ भन्ने लाग्यो । हुन त यस्तो खालको अनुभव पहिलो भने होइन उसका लागि ।

stry
आमाका लागि जन्मदिनको उपहार किन्न भनेर चिनेको बाँडाको पसलतिर जाँदा ऊ सोच्दै थिई, “ओहो, आमा त यसपटक ५७ वर्ष लाग्नुहुन्छ ।”

०१६ सालका वीजेन्द्र दाजु पनि त आमाभन्दा सातै वर्ष मात्र कान्छा थिए । नाताले केही नपरे पनि उनीहरूको परविारसँग वीजेन्द्र दाजुको घनिष्ट सम्बन्ध थियो । काठमाडौँ पढ्नका लागि आउने बेला उसलाई वीजेन्द्र दाजुकै साथ लगाएर पठाइएको थियो । उसलाई पनि उनी बाबुसमान लाग्थे । आमा पनि निशालाई उनको भरमा काठमाडौं पठाउँदा ढुक्क भएकी थिइन् । डेरामा बसे पनि केही पर्दाओर्दा स्थानीय अभिभावकका रूपमा वीजेन्द्र दाजुलाई नै गुहार्नु भनेर आमाले भनेकी थिइन् । त्यसै कारण सानातिना समस्या हुन् वा केही खुसीका कुराहरू, सबैभन्दा पहिले वीजेन्द्र दाजुलाई नै सुनाउनका लागि डेरादेखि उनको घरको थुप्रै फन्का मार्ने गर्थी निशा । उनी पनि बेलाबखत हालखबर बुझ्न उसको डेरामा आइरहन्थे ।

त्यस दिन डेरामा बत्ती गएको मौकामा अचानक आवश्यकताभन्दा बढी नजिक आउँदै निशाको हात समातेर एकतमासको आवाजमा भनेका थिए, ती दाजुले, “मैले मुटुभरि माया पाएको छैन निशा !”

आत्तिएर के गरुँ, कसो गरुँ भएकी थिई निशा, त्यस दिनको अनपत्यारिलो घटनाले गर्दा । आफूले पितासमान मानेर दाजु सम्बोधन गर्दै आएको वीजेन्द्र दाजुको वासनाले गन्हाएको आवाजले उसलाई जड बनाइदिएको थियो त्यस बखत । मैनबत्ती लिन भनेर उठेर जाँदा निकैबेर आफ्नो बढेको ढुकढुकी र लगलग कामेका खुट्टाको चाल अनुभूति गर्दै भान्छामा बसिरहेकी थिई ऊ । निकै बेरपछि लुसुक्क निस्केर गएका वीजेन्द्र दाजु त्यसपछि उसको डेरामा कहिल्यै पनि आएनन् र ऊ पनि वीजेन्द्र दाजुकहाँ गइन । आफूले आदर्शका रूपमा लिएको मान्छेसँगको सम्बन्धको यस प्रकारको अवसानले उसलाई निकै लामो समयसम्म दुखाइरहेको थियो । निकैपछि मात्र निको भएको थियो त्यो घाउ । आज मेनकाका पति पनि त्यही शृंखलाको एक अर्को पात्र भएर आएका थिए ।

गणेशजीको सानो चाँदीको प्रतिमा किनेर गहना पसलबाट निस्कँदा विनोदको एसएमएस आउन भ्याइसकेको थियो, “बेलुका डिनरमा भेट्न मिल्छ ? म ह्यातमा बसेको छु ।”

लौ त भन्ने हो भने एउटी स्वास्नीमान्छेले हरेक दिन भनेजस्तो यस्ता लोलुप आँखाहरूको सामना गर्नुपर्ने हुन्छ । केही समयपछि हरेक स्वास्नीमान्छेले यस्ता कुरालाई सहजताका साथ लिएर पचाउँछन् । तर, आफ्नो मिल्ने साथीको, आफूले त्यति धेरै इज्जत गरेको पतिले यस रूपमा गरेको व्यवहारले निशालाई घर पुगुन्जेल पनि बिथोलिरह्यो ।

एक कप चिया बनाएर टीभीको अगाडि बसेकी निशाको ध्यान कुनै पनि च्यानलमा अडेन । एकछिन फटाफट सबै च्यानलमा घुमेपछि उसले टीभी पनि बन्द गरिदिई । बाहिर पानी पर्न थाल्यो, झ्यालबाट बाहिर हेर्दा उसलाई नीलिमाको सम्झना आयो ।

उनीहरू त्यतिबेला सात-आठ कक्षामा पढ्थे । नीलिमाले एकदिन भनेकी थिई, “निशा, मलाई स्कुल जानै मन लाग्दैन अचेल ।”

उसलाई अचम्म लागेको थियो किनभने पढाइमा निकै अब्बल नीलिमालाई शिक्षक-शिक्षिका सबैले माया गर्थे ।

“लौ के भन्या त्यस्तो ? के भो तँलाई ?” उसले आश्चर्य मान्दै सोधेकी थिई ।

निकैबेर टालटुल गरेपछि आँखाभरि आँसु छचल्काउँदै नीलिमाले कुरा खोलेकी थिई, “हेर् न जनक सरले जहिले पनि धाप मारेजस्तो गर्दै, सिकाएजस्तै गर्दै हात कहाँकहाँ घुमाउँछ भन्या ।”

पत्याउनै नसकेर खित्का छाडेर हाँसेकी थिई निशा ।

“लौ होइन होला, के भनेकी, जनक सर त्यस्तो सबैलाई माया गर्नुहुन्छ । त्यत्रा ठूलाठूला छोराछोरी छन् । तँलाई पनि छोरी नै भन्नुहुन्छ।”

नीलिमाको आँखाबाट आँसु नै र्झन थालेपछि बोल्दाबोल्दै रोकिएकी थिई निशा । के पत्याउने, के नपत्याउने ?

केहीबेर नीलिमालाई ढाडस दिंदै निकैबेर छलफल गरे तर कुनै निष्कर्ष निस्केन । खै त्यसपछि के भो, उसलाई थाहा भएन तर त्यो विषयमा उनीहरूबीचमा फेरि कुरा भएको थिएन ।

बाहिर झरी रोकिइसकेको थियो । ढोकाको घन्टी बज्दै रहेछ । निशाले गएर ढोका खोली । छिमेककी उमा भाउजू उसका लागि खाजा लिएर आएकी रहिछन्, “भोकाएर आएकी हौली, अघि सुजीको हलुवा बनाएकी थिएँ, तिमीलाई मन पर्छ भनेर ल्याइदिएकी ।”

उमा भाउजू र रमेश दाजु उसलाई परिवारभन्दा बढी स्नेह गर्छन् । झन्डै १२ वर्ष भयो निशाले उनीहरूलाई चिनेको । उसले सुब्रतलाई पाएका बेला उमा भाउजूले रातभर अस्पतालमा बसेर कुरेकी थिइन् र बिहान पनि सबैभन्दा पहिले ज्वानोको झोल र भात लिएर आएकी थिइन् । सबैभन्दा ठूलो कुरो त के भने रमेश दाजुमा कहिल्यै पनि विनोद वा वीजेन्द्र दाजुजस्ता लोग्नेमान्छेहरूको झलक पाएकी छैन उसले ।

“भित्र आउनुस् न उमा भाउजू !” उसले आग्रह गरी तर रमेश दाजु अफिसबाट आउने बेला भो भनेर उनी फर्किहालिन् ।

सुखदुःखका कुरा उमा भाउजू र रमेश दाजुसँग गर्न थालेपछि उसलाई अलि सजिलो भएको छ । पहिले उसलाई यस्ता कुराहरू कसैसँग गर्ने हिम्मत नै हुँदैन थियो । सायद त्यसो गर्दा आफ्नै छवि पो नराम्रो हुने हो कि भन्ने डर हुन्थ्यो होला । आफू असल र भलाद्मी भए कसैले नराम्रो भन्ने वा गर्ने गर्दैन, जिस्क्याउने र नराम्रो गर्ने भनेको उत्ताउली र छँडुलीहरूलाई मात्र हो भनेर सानैदेखि घरमा सुनाइएका कुराहरूले पनि सायद उसको मानसिकतामा असर पारेको हुनुपर्छ । कतै आफ्नै बोलीचाली वा व्यवहारले नजानीनजानी त्यस्तो किसिमका मानिसहरूलाई उत्साहित गरेको त होइन भनेर उसलाई डर लाग्ने गथ्र्यो । साथीभाइ, नातागोताले कतै आफ्नो कुरा काटिरहेका पो हुन् कि भन्ने पनि लाग्न थालेको थियो उसलाई त्यतिबेला । कसैले गरेको सोझो कुरामा समेत केही अन्य अर्थ लुकेका त छैनन् भनेर केलाउने र घोत्लने बानी परेको थियो उसलाई ।

पहिलोपटक जागिर खान गएको बेला अधवैँशे हाकिमले चाहिनेभन्दा बढी व्यक्तिगत कुराहरू गरेर सताउन खोज्दा अति भएको कुरा रमेश दाजु र उमा भाउजूलाई रुँदै सुनाएकी थिए । त्यसबेला उसले सोधेकी पनि थिई, “के म उत्ताउली छु रमेश दाजु ? मैले कुरा गर्न जानेकी छैन हो ? म सबैसँग खुलेर बोल्छु तर के त्यो मेरो गल्ती हो ? वा मैले लगाउने लुगा मिलेका छैनन् हो ? भन्नूस् न दाजु ! मेरो कमजोरी के हो ?” यति भन्दासम्म ऊ डाँको छाडेर रोइसकेकी थिई ।

त्यतिबेला रमेश दाजुले यस्ता कुरामा उसको कुनै दोष हुँदैन भनेर उसलाई सम्झाएका थिए । उनको व्यवहार र बोलीले उसलाई रमेश दाजु आफूले देख्नै नभ्याएको बाबु हुन् भन्ने भान भएको थियो । एक मनको बोझ काँधबाट हटेको त्यस दिनदेखि ऊ रमेश दाजु र उमा भाउजूसँग अझ बढी नजिक भएकी थिई ।

नीरज रमेश दाजुको साथी थियो र आउँदाजाँदा कहिलेकाहीँ उनीहरूकै घरमा भेटघाट भएको थियो नीरज र निशाको । नीरजले केही समयपछि प्रेमप्रस्ताव राख्दा पनि उसको नियतमाथि शंका गर्दै सयौँ प्रश्नहरू मनमा खेलाउँदै, तिनका उत्तर खोज्न आफै भित्र अमिलिन्थी ऊ । रमेश दाजु र उमा भाउजूले नीरज असल केटा भएको कुरा निकै सम्झाएपछि उसले नीरजलाई भनेकी थिई, “ठीक छ म त्यस्तै मन परेकी भए, यसै साता बिहे गरौँ न त !”

नभन्दै नीरजले बिहेको चाँजोपाँजो मिलाएको थियो र एकै साताभित्र उनीहरूको बिहे भएको थियो । नीरज र उसको सम्बन्ध सुमधुर छ । तर, छोरा १० वर्षको भइसक्दा पनि यस्ता कुत्सित मनसाय भएका पुरुषहरूका बारेमा भने नीरजसँग खुलेर कुरा गर्न सक्दिन ऊ । उसले कुरा गर्ने प्रयास नगरेकी होइन तर कि त नीरज ती मान्छेहरूलाई ठीक पार्छु भनेर पाखुरो सुर्कन्थ्यो, कि त त्यस्ता मान्छेहरूसँग पानी नै बाराबार गर्ने आदेश दिन्थ्यो । समाजदेखि टाढा रहन पनि सकिने कुरा थिएन, न जागिर छोड्नु कुनै समाधान थियो । छिमेकी, नातेदार, सहकर्मी जो कोहीमध्येबाट पनि जुनसुकै बेला कुनै न कुनै बेला त्यस्तो पात्रसँग जम्काभेट हुनु साधारण कुरा हो । उसले नीरजलाई बुझाउन नसकेको वा एउटा लोग्नेमान्छेका रूपमा उसले बुझ्न नसक्ने कुरा के भने, त्यस्ता मान्छेहरूलाई बेवास्ता गर्नु नै यसको सबैभन्दा उचित हल हो ।

राती अबेरसम्म पनि उसलाई निन्द्रा लागेको छैन । नीरज अघि नै निदाइसकेको छ । त्यति नै बेला उसको मोबाइलमा मेसेज करायो । विनोदको मेसेज थियो । दिउँसो भेटेपछि अहिलेसम्ममा विनोदले करबि २५ वटा मेसेज पठाउन भ्याइसकेको छ र ती मेसेजहरूका बीचमा लुकेका अव्यक्त आशयहरू सङ्लो पानीमुनिका ढुङ्गाजस्तै स्पष्ट थिए ।

उसले पढ्दै नपढी त्यसलाई मेटाइदिई, मोबाइल स्वीच अफ गरी, बत्ती निभाई अनि नीरजको नजिकै घुस्रेर आँखा चिम्ली ।

नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” २०६६ कार्तिक ८ गते प्रकाशित

केही दिनअघि पसलमा छापा मारिएको कुरा समाचारहरूमा देख्न र पढ्न पाइयो । गुणस्तरहीन खाद्यपदार्थ बेचेको आरोपमा पसलका साहू समातिएका थिए । स्वाभाविक कुरा हो, ठग्न पाइँदैन । ठग्नेलाई कारबाही गर्नैपर्छ । तर, के सबै ठगहरू समातिएका छन् त ? अनेकौँ रूपमा आज आमनागरकिहरू ठगिएका छौँ । बौद्धिक ठगहरू, धार्मिक ठगहरू, शैक्षिक ठगहरू, रोजगार ठगहरू, राजनीतिक ठगहरू, आर्थिक ठगहरू र अन्य थुप्रै प्रकारका ठगहरू खुलेआम जनतालाई उल्लू बनाइरहेका छन्, तिनलाई कसले र कसरी कारबाही गर्ने हो ? सोच्दाखेरी पनि कहालीलाग्दो, अत्यासलाग्दो । ओहो ! कति धेरै ठगिएर बाँचेका रहेछौँ हामी आमनागरकि । Read the rest of this entry »

आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न

आर्द्र थियौ तिमी
आकर्षक थियौ,
भिजेकी थियौ
राति नुहाएर झरीमा
शीतल देखिन्थ्यौ

मौन भाषा बोलिरहेथे
मेरा स्वप्निल आँखाहरु
तिमीलाई बोलाइरहेका थिए
कल्पीकल्पी
मेरा स्पन्दनका गतिहरू
लुकाउँ कि अंगालोमा भनी
निभ्न खोजिरहेथे
म भित्रका मलाई पोल्ने आगो
डुब्न चाहिरहेका ती लप्काहरू
तिम्रो शीतलतामा चुर्लुम्म

तर त्यति बिघ्न मादक
मोहक, र निम्तालु तिमी
पटक्कै पनि डेग चलिनौ
बुझ्यौ कि बुझिनौ खै
तिमीले मेरो समर्पण तिमीमा
बढिनौ अलिकति पनि
आफ्नो ठाउँबाट मतिर

चीसोले जमेकी तिमी
ए माछापुच्छ्रे हिमाल

पोखरा सेप्टेम्बर २०, २००९

केही दिन अघि सुनकोशीमा एउटा यात्रुबाहक बस खस्यो। बीसौं निर्दोष यात्रुहरूले ज्यान गुमाए।

यो दुर्घटनाको पछाडि चालकहरूको खराब मानसिकता प्रमुख कारण थियो। अघिल्लो बस आफूलाई उछिन्न खोज्ने अर्को बसलाई साइड दिन नचाहने अनि पछिल्लो बस जसरी भए पनि अघिल्लो बसलाई उछिनेरै छाड्ने होडबाजीमा एउटा बस अन्तत: खोलामा खस्यो। यो एउटा सामान्य दुर्घटना मात्र हैन, अहिलेको हाम्रो सिंगो देशको यथार्थ पनि हो। यो घटनाबाट अहिलेका हाम्रा राजनैतिक दलहरूले पाठ सिक्न सक्नुपर्छ।

यी दलरूपी बसका चालकहरूमा पनि हामी जनतारूपी यात्रुहरूको जिम्मेवारी छ। हामीलाई गन्तव्यमा पुर्‍याउने कर्त्तब्य यी चालकहरूको हो। तर एकआर्कालाई उछिन्ने अन्धो होडबाजीमा लागेका यी नेताहरूलाई शायद अरू कुनै कुराको हेक्का नै छैन। सदन राम्री चल्न नसकेको कति लामो समय भैसक्यो,सानातिना कुरामा साहमति हुन सकेको छैन। सडक पनि अवरूद्ध छ,हरेक दिन नयाँनयाँ बिरोधहरू भैरहेका छन्। सामान्य जनताको त के कुरा गर्नु,राष्ट्रपति र प्रधानमन्त्रीका कार्यक्रमहरू समेत बिथोलिएका छन्। दीक्षान्त समारोहहरू भाँडिएका छन्, डक्टर र नर्सहरू समेत हडतानलमा उत्रेका छन्, बजेट पास हुने हो कि हैन थाहा छैन,संबिधान लेख्ने भन्ने कुरा पाखा लागिरहेको छ।

तर हाम्रा यी महान राजनीतिकर्मीहरू एउटा सरकार बन्न नपाउँदै त्यसलाई ढाल्ने दाउपेचमा लाग्ने गरेका छन्। नयाँ ईतिहास लेख्ने जिम्मा पाएका हाम्रा नेताहरूले यो जिम्मेवारी कति मह्त्वपूर्ण हो भन्ने पटक्कै बुझेका जस्तो लाग्दैन। उनीहरू त आआफ्नो गाडीलाई हुँइक्याउन र उछिन्नमा नै आफ्ना भएभरका ऊर्जा सकाइरहेका छन्। यही गतिमा होडबाजी चलिरहने हो भने भोलि यो सिंगो देश र जनताहरूलाई कतै कुनै सुनकोशीमा नहालुन् यिनीहरूले।

मनभित्रका भावनाहरूलाई
डढेलो लगाउँदो रहेछ गर्मीले
त्यसैले त गर्मीमा
मायाले छुँदा पनि
पोल्दोरहेछ कि क्या हो
एउटा हातले अर्को हातलाई
गर्मीले त
स्निग्धतालाई पनि कतै
सल्काइ पो दिन्छ कि क्या हो

न्यानोको खोजी
बरू चीसोमा पो होला कि
त्यतिबेला बुझ्ला शायद
तातो- स्पर्शको स्नेह
एउटा मुटुले अर्को मुटुको

म मीनपचास कुरिरहेको छु

२०६६ भदौ २१ गते नेपाल साप्ताहिकमा मेरो स्तम्भ ‘बायाँ फन्को” मा प्रकाशित

बन्द, हडताल, दबावको राजनीति आज हाम्रो मूलमन्त्र हुँदै गएको छ। साना देखि ठूलासम्म, महत्वपूर्ण देखि अर्थ न वर्थका, जायज देखि नाजायज हरेक कुराहरुमा, हरेक क्षेत्रमा आजकल दबावमूलक मानसिकता हावी भैरहेको देख्दा साह्रै नरमाइलो लाग्छ। केही दिन अघि देशको सबैभन्दा पुरानो स्वास्थ्यप्रदायक वीर अस्पतालका डाक्टरसाहबहरुले हडताल गर्नु भयो। एक दुई दिन सबै लथालिङ्ग भए पछि अन्ततः उहाँहरुका मागहरु पूरा भए। नभएर सुखै छैन भन्ने कुरा उहाँहरुलाई थाहा भएकै कुरा हो।

त्यसको लगत्तै देशभरका सरकारी, अर्ध सरकारी र नीजि स्वास्थ्य निकायका नर्सहरु सेवा वन्द गरेर आफ्ना मागहरु पूरा गराउनका लागि कटिवद्ध भए। अघिल्लो हडतालको सफताको नजीर उनीहरुको सामु ताजा नै थियो। सम्भवतः यो प्रकाशित हुनेबेलासम्म सम्बन्धित निकायलाई घुँडा टेकाएर उनीहरुले आफ्नो सेवा पुनः चालु गरिसकेका पनि हुन सक्छन् त्यो अर्कै कुरा हो। तर डाक्टर र नर्सहरुको हडतालको एक दिनको त कुरै छाडौं, एकएक घण्टा, मिनेट, सेकेण्ड, पल वा निमेष कति सम्वेदनशील हुन्छ भन्ने कुरा रोगले पीडित मान्छे र उनीहरुका आफन्तलाई मात्रै थाहा हुने कुरा हो।

देशका कुनाकुनादेखि आफ्नो रोग र व्यथाहरुका निदान हुने आशमा आएका बिरामीहरुलाई यो हडतालले कति प्रभाव पारेको होला भन्ने कुरा शायद उहाँहरुको मतलबको कुरा थिएन। डाक्टरहरुलाई भगवान वा कुनै चटकीको रुपमा श्रद्धा गर्ने, अस्पताल गएपछि ठीक हुने र नर्सहरुका रेखदेखले तङ्ग्रिने बिश्वासले आएका ती विरामीहरु अस्पतालमा समेत हडताल छ भन्दा उनीहरू कति निराश भए होलान्, त्यो अन्योलले उनीहरुको र उनीहरुका आफन्तहरुको कति सातो गयो होला भन्ने कुरा शायद हडताल गर्नेहरुले सोच्न पनि सोचेनन् होला। त्यो अवधिमा कति आमाहरु पेटको असह्य पीडाले छटपटाए होलान्, कति बाबुबाजे दमले स्याँस्याँ भए होलान्, कति पत्नीहरु पतिको छटपटीको मूक दर्शक भएर बसे होला, कति बाबुआमाको मन आफ्ना सन्तानको पीडा हेर्न नसकेर रोयो होला, त्यस्ता आलूमूले कोरा भावनाका कुराहरु शायद उनीहरुका लागि गौण भए त्यतिबेला।

हुन त एकोहोरो भएर सोह्रै आना डाक्टरसाहेब र नर्सहरुको खोइरो खन्न खोजेको होइन। उहाँहरुका पनि आफ्नै समस्याहरु होलान्, मागहरु होलान्, कति जायज नै पनि होलान्। बारम्बार तिनका समाधानका लागि सम्बन्धित ठाउँमा ताकेता गर्दा पनि केही नभएको हुनाले नै उनीहरु आफ्नो ब्रम्हास्त्र प्रयोग गर्न बाध्य भएका होलान्, त्यो आफ्नो ठाउँमा छ। तर चिकित्सा जस्तो मानवीय समवेदनाको पेशामा ब्रम्हास्त्र प्रयोग गर्नु कतिसम्म जायज हो भन्ने प्रश्न पनि आफ्नै ठाउँमा नभएको होइन।

सुविधा, सुख, पैसा जति भए पनि कसैलाई नपुग्ने कुरा हो। मान्छेले पढ्ने लेख्ने, रोजगारी खोज्ने भनेको पनि आफ्नो र आफ्नाहरुका जीवन सरल र सुविधामय बनाउनका लागि नै हो। हरेक मान्छेलाई आफू सुखी र खुसी हुने अधिकार छ तर त्यो खुसीको लागि अरुको आँशु कतिसम्म बगेको छ भन्ने कुरा मान्छेले नै नसोच्ने हो भने कसले सोच्ने त? केही पेशा यस्ता हुन्छन्, जो प्रत्यक्ष सेवामूलक हुन्छन्। तिनमा लाग्नेहरु निस्वार्थ हुनु जरुरी छ। तर सबै मान्छेमा त्यो भाव हुनुपर्छ भन्ने चाहिँ छैन। त्यो सम्भव पनि नभएको कुरा हो। त्यसो हुँदो हो त हरेक मान्छे मदर टेरेसा हुनुपर्थ्यो। तर त्यस्ता सेवामूलक पेशा अपनाउने मनिसहरु पहिले देखि नै त्यससंग आउने कठिनाइका लागि, त्यसले माग्ने समर्पणका लागि आफूलाई मानसिक रुपमा तयार गरेर मात्र त्यसमा लाग्नुपर्छ। यदि आफूमा त्यस किसिमका त्याग, सेवा र समर्पणको भाव छैन भने त्यस्तो माग गर्ने पेशामा लाग्नु नै हुँदैन।

तर हाम्रो बिडम्वना नै के भने अधिकांश अभिभावकहरुले आफ्ना सन्तानलाई हुर्काउने बेलादेखि नै, उसले बुझ्न थाले देखि नै
‘यो त डक्टर बन्छ, भोलि धेरै पैसा कमाउँछ’ भन्दै हुर्काउँछन्।
‘यो डक्टर बनेर भोलि मान्छेका पीडाहरु कम गर्छ, रोगले च्यापिएका मान्छेहरुलाई आराम दिलाउँछ’
भनेर शायदै कसैले आफ्नो सन्तानलाई चिकित्साशास्त्र पढ्न लगाउँछन्। अझ कति वर्षमा यसले लगानी उठाउँछ भनेर हिसाब किताब गर्न सम्म पछि पर्दैनन् कतिपय अभिभावकहरु। ‘मैले पैसा कमाउनुपर्छ’ भन्ने मानसिकता बोकेर बनेका डाक्टरहरुले सेवा र समर्पणको भावनालाई मनको कुनै अँध्यारो कुनामा थन्क्याएर यसलाई पनि पसल खोलेको जस्तो गरि व्यापार गर्न थाले भने त्यो दोष उनीहरुको मात्र पनि होइन। केही समय यता ह्वात्तै नर्सिंग पढ्न चाहनेहरुको लहर व्याप्त भएको थियो। तर ती मध्ये कति जनाले यो जनसेवाको काम हो भन्ने भावनाले अनि कति जनाले अष्ट्रेलिया र क्यानडा जान जान सजिलो हुन्छ भनेर नर्सिंग पढे त भन्ने कुरा महत्वपूर्ण हो।

चिकित्साशास्त्रमा मात्र होइन हरेक क्षेत्रमा यस्ता मानसिकताहरुले काम गरिरहेको हामी उदाहरणहरु देख्न सक्छौं।संचारमाध्यममा लगानी गर्ने भनेको जनतालाई सुसूचित गर्ने भन्दा राजनीतिक र सामाजिक पकड बलियो बनाउने हो भन्ने उद्देश्यले अरु ठाउँबाट कमाएको पैसा खत्याउनेहरु, राजनीति गर्ने भनेको वरत्रपरत्र सुधार्नका लागि, चलचित्र बनाउने भनेको मोजमस्ती गर्नका लागि र नाम चलाउनका लागि हो भनेर होम्मिनेहरु, स्कूल कलेज चलाउने भनेको रातारात भनी बन्नका लागि सोच्नेहरु, वैदेशिक रोजगारको काम भनेको हेर्दाहेर्दै महल ठड्याउनका लागि भनेर लागिपर्नेहरु, एनजीओ खोलेपछि डलर फल्छ भन्ने ‘विदेशी मुद्रा कृषकहरु’, सबै क्षेत्रमा जुन काम हो त्यो भन्दा अरु उद्देश्यले अभिप्रेरित भएर मान्छेहरू लागेका हुन्छन् र त्यस्ता मान्छेहरुका बाढीले आफूसंगै सही काम गर्नेहरुलाई पनि बगाएर लैजान्छ।

आफ्ना चाहनाहरु पूरा नहुँदैमा सबैले दबावको राजनीति गर्नु भनेको नैतिक अपराध होइन र? महँगी बढेको छ भने सबैलाई बढेको छ, प्रतिस्पर्धा सबैका लागि त्यत्ति नै छ, बाँच्न सबैलाई उत्ति नै गाह्रो छ। तलब सबैका लागि कमै छ। हातमुख जोर्न सबैलाई हम्मेहम्मे छ। छोराछोरीको भविष्यको चिन्ता सबैलाई बराबर नै छ। राष्ट्र परिवर्तन र संक्रमणको कालमा छ भने त्यसको असर सबैलाई बराबर छ। यो बेलामा हामी सबैको कर्तव्य सक्ने जति कममा सम्झौता गर्ने हो तर हामीहरु त ठ्याक्कै त्यसको उल्टो सकेसम्म बढीको अपेक्षा गर्न थालेका छौं, त्यसका लागि साम दाम दण्ड भेद र जानेजतिको दाउपेच खेल्न थालेका छौं। अर्कालाई परेको अप्ठ्यारो र बाध्यतामा आफ्नो दुहुनो कसरी सोझ्याउने भन्नेमा के कर्मचारी, के राजनीतिज्ञ, के व्यापारी, के उद्योगपति, के डाक्टर, के शिक्षक सबै लागिपरेका छौं।

साँच्चै नयाँ युगको निर्माण गर्ने नै हो भने त्यसका लागि सबैले आआफ्नो तर्फबाट त्याग र धैर्य गर्न सक्नुपर्छ। आकर्षक नारा र ठूला कुराले मात्र केही पनि परिवर्तन हुँदैन जबसम्म हाम्रो आफ्नो मानसिकतामा परिवर्तन हुँदैन। उपलव्धिका लागि अन्धो दौडमा सहभागी हुनुअघि हामीले मनन गर्नु पर्ने कुरा के हो भने,
प्राप्तिको सीमा हुँदैन। सन्तुष्ट मान्छे भनेको त्यो होइन, जोसंग सबैभन्दा बढी छ, सन्तुष्ट मान्छे त्यो हो, जो आफूसंग भएको जतिमा नै खुसी हुन सक्छ, रमाउन सक्छ।

२०६६ भाद्र  ७ गते नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” मा प्रकाशित

‘बाबुलाई भेट्न नदिने……….’    
कागजको एउटा टुक्रामा लेखिएको थियो, अनि त्यसैको मुनि लेखिएको थियो, कक्षा १ मा पढ्ने एउटी फुच्चीको नाम र रोल नम्बर। बाक्लो ऐनाले त्यो टेबलमा अरु पनि केही त्यस्तै कागजका टुक्राहरु थिचेर राखिएका थिए। कुनैमा आमाले भेट्न नपाउने, कुनैमा हजुरआमा वा हजुरबा प्रतिबन्धित भएका सूचनाहरु तिनमा किचिएका थिए। यस्तो लाग्थ्यो, ती कागजका टुक्राटाक्रीसंगै एकएक वटा तीता सम्बन्धका तिक्तताहरु पनि उकुसमुकुस भएर निस्सासिरहेका छन्, किच्चिरहेका छन्, छटपटाइरहेका छन्। केही दिन अघि एउटा आवासीय बिद्यालयमा काम विशेषले गएको बेला सम्बन्धित मान्छे फेला नपरुन्जेल मूलढोकाको नजीकै सुरक्षाकर्मीहरु बस्ने ठाममा कुर्दा देखिएको यो साधारण दृश्यले असाधारण रुपमा मथिंगलमा खैलाबैला मच्चायो। मगजबाट यसलाई सजिलोसंग पन्छाउन सकिएन।

हाम्रो समाज र मान्छेको सम्बन्धका अमीलो यथार्थ जस्ता लागे ती कागजका टुक्राहरु।

Read the rest of this entry »

अपहेलना र अपमान
पीडा अनि तिरस्कार
धोका, स्वार्थ, कपट,
आँशु, एक्लोपन
अनि छटपटी बाँचेर
भन्ने बेला
जिन्दगी बाँचें भन्छ मानिस

हरेक दिन आफैलाई झुक्याउँछ
आफैसंग छल गर्छ
अरू मानिसहरूसंग मिलेर
समाजमा बाँचेको भन्दै
खासमा भन्ने हो भने त
एक्लै बाँच्छ मानिस

मृत्यु नाम गरेको
एक पलको पीडालाई टार्न
जीवन नाम गरेको
हरेक पलहरूका पीडा बाँच्छ मानिस
मुक्तिको अनुहार चिन्न नसकेर
बन्धनमा रमाएको ढोंग गर्दै
कैद बाँच्छ मानिस

सुन्दर खोल ओढाइएको
कुरूप र बिभत्स वास्तविकता
मुकुण्डो लगाएर-चिटिक्क परेका
आफन्तको नाम उधारो लिएका
आफ्नै लागि मात्र बाँच्ने
आफू जस्तै अरू थुप्रैथुप्रै
समवेदनाहीन प्राणीहरूसंग
रमाएको जस्तो अभिनय बाँच्छ मानिस

संसार सुन्दर छ भनेर
आफैलाई ढाँट्छ
जीवन मोहक छ भनेर
आफैलाई छल्छ
ईश्वरको देन हो-उपहार हो भन्दै
अभिशाप बाँच्छ मानिस

वरदानको भ्रममा
सराप बाँच्छ मानिस

आगन्तुकहरूको संख्या

  • 28,269 views

Pages

 

December 2009
M T W T F S S
« Nov    
 123456
78910111213
14151617181920
21222324252627
28293031  

:प्रकार